एक महिने शिशुसहित सिंगो परिवार एचआइभी एड्स संक्रमित



Download our app to get more features

रोल्पा, २२ फागुन । रोल्पाको माडी गाउँपालिकामा बस्दै आएको एउटा परिवारका सबै सदस्य एचआइभी एड्सबाट संक्रमित रहेको पुष्टि भएको छ । एक महिना अघि जन्मेको शिशुमा पनि एचआइभी संक्रमण देखिएपछि सो परिवारमा निराशा छाएको छ ।
१ माघमा जन्मिएको नवजात शिशुमा पनि एचआइभी एड्स संक्रमण भएको प्रतिवेदन सोमबार सार्वजनिक भएको हो । यस अघि परिवारका अन्य सबै सदस्यमा एड्स भएको पुष्टि भइसकेको थियो ।

सुत्केरी हुन गत माघ महिना जिल्ला अस्पताल प्यूठान पुगेकी ३८ वर्षीया महिलालाई रगत जाँचका क्रममा एचआइभी एड्स भएको पत्ता लागेको थियो । श्रीमती एचआइभी एड्स संक्रमित भएको पाइएपछि डाक्टरको सल्लाह बमोजिम श्रीमानको पनि रगत जाँच गरियो र श्रीमान् पनि एचआइभी एड्सबाट संक्रमित भएको पुष्टि भयो ।

जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका डा. सुशील आचार्यका अनुसार श्रीमान्श्रीमती दुबैमा एचआइभी एड्सको संक्रमण देखिएका कारण नवजात शिशु पनि संक्रमित हुन सक्ने भन्दै पीसीआर गर्न नमूना लिइएको थियो । बच्चाको पीसीआर रिपोर्ट नआउँदासम्मका लागि बच्चालाई एचआइभी एड्सको संक्रमणबाट जोगाउन जन्मेकै दिनदेखि औषधि प्रयोग गरिएको थियो । सोमबार शिशु पनि एचआइभी एड्स संक्रमित भएको प्रतिवेदन आएपछि बुढामगर दम्पती छाँगाबाट खसे जस्तै भएको छ ।

धामीझाँक्रीको भर पर्दा सिंगो परिवार एड्स संक्रमित
विवाह लगत्तै गर्भवती भएकी नवजात शिशुकी आमाले आफू एचआइभी एड्सबाट संक्रमित भएको बारे केही थाहा नपाएको बताइन । उनले भनिन् ‘गर्भ रहेपछि असह्य पीडा हुने गरी गुप्तांग चिलाउँथ्यो । घाउ खटिरा पनि देखिन थालेको थियो । त्यसबेला उपचार नगरेर धामीझाँक्रीमा विश्वास गरेँ । धामीझाँक्रीले खानेपानीको मूलमा देउराली लागेर यस्तो बनाएको भनेपछि त्यसमै विश्वास गरेर धेरै पैसा खर्च गरें जसका कारण आज यति ठूलो धोका खानुप¥यो ।

श्रीमानले सारे श्रीमती र सन्तानलाई एड्स
१८ वर्षदेखि भारतको गडवालतिर श्रम गरेर नेपाल फर्किएका ३५ वर्षीय एड्स संक्रमित युवाले एक वर्षअघि गाउँकै ३८ वर्षीया युवतीसँग मागी विवाह गरेका थिए । उनले विवाह पूर्व बैदेशिक रोजगारीका क्रममा ४ जनासँग असुरक्षित यौन सम्पर्क भएको बताएका छन् । श्रीमानले असुरक्षित यौन सम्पर्क राखेका कारण आफू र छोरीमा पनि एचआइभी एड्स संक्रमण भएको हुनसक्ने महिलाको अनुमान छ ।

श्रीमानले गरेको गल्तीको शिकार आफू र सन्तानले समेत भोग्नु पर्दा शिशुकी आमा निकै चिन्तित भएकी छन् । उनले भनिन् ‘एचआइभी एड्स भनेको सुनेकै थिइनँ तर, आज आफैले भोग्नु प¥यो । यस्तो जानेको भए विवाह नै गर्ने थिइनँ । बेलामा बुद्धि नपु¥याउँदा जिन्दगी बरबाद भयो । गाउँलेले पनि हेलाँको दृष्टिले हेर्न थालेका छन् । समाजमा मुख देखाएर बाँच्न गाह्रो हुने भयो । अब विवाह गर्ने जोडीलाई पहिले रगत जाँच गरेर मात्र विवाह गर्न सल्लाह दिन्छु ।!
 

सन्तानको भविष्यको चिन्ता
निम्न आर्थिक अवस्था रहेको सो परिवारको आम्दानीको स्रोत ज्याला मजदुरी नै हो । परिवारको संकट सुल्झाउन भन्दै महिलाका श्रीमान श्रीमान् काठमाडौँ गएका छन् । बिरामी छोरीसहित आफूलाई छोडेर हिडेपछि उनमा आशंका तथा निराशा थपिएको छ । छोरीको भविष्यको चिन्ताले पिरोल्न थालेको उनले बताएकी छिन् । अभाव र गरिबीमा पिल्सिँदै आएको यो परिवारको भविष्य अन्यौलमा रहेको आफन्तजनले बताएका छन् ।

एचाआइभी एड्स संक्रमितको संख्या ६५ पुग्यो
रोल्पामा एचआइभी एड्स संक्रमितको संख्या ६५ पुगेको छ । यस बाहेक अन्य केही परिवार पनि श्रीमानका कारण संक्रमित भएको स्वास्थ्य कार्यकर्ताहरूले आसंका गरेका छन् ।
जिल्लामा २६ महिला र २६ पुरुष संक्रमित छन् र १४ जनाको यसअघि मृत्यु भइसकेको छ । रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार संक्रमितहरु ९ देखि ६० वर्ष उमेरभित्रका छन् । अधिकाँश महिला श्रीमानकै कारण संक्रमित बनेका हुन् ।
रासस
 

Last modified on 2018-03-07 07:43:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts