एड्सबाट कञ्चनपुरमा १ सय ४२ जनाको मृत्यु



Download our app to get more features

भीमदत्तनगर, २३ फागुन । कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १ सय ४२ जनाको मृत्यु भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४ सय ८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २ सय ५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पतालमा नियमित औषधि सेवन गरिरहेको जानकारी दिए । 

“शुरुवातका दिनमा संक्रमितहरु खुलेर आउन अप्ठ्यारो मान्ने गरेका थिए । पछिल्लो समय उनीहरु स्वास्थ्य सेवा लिन आउने गरेका छन्,” उनले भने । जिल्लामा ५० जनाभन्दा बढी बालबालिका एचआइभीबाट संक्रमित छन् । महिलाभन्दा पुरुषमा यसको संक्रमण बढी देखिएको विष्टले बताए । 

जिल्लामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), थागिल विकास समाज, ‘ब्लु डायमण्ड’ सोसाइटीलगायत गैरसरकारी संस्था एचआइभी न्यूनीकरणका क्षेत्रमा सक्रिय छन् । संक्रमितलाई निःशुल्क रुपमा औषधी र स्वास्थ्य सेवा प्रदान गरिँदै आएको महाकाली अञ्चल अस्पताल एआरटी शाखाका प्रमुख नन्दराम भट्टले बताए । 

“संक्रमित नियमित औषधि सेवनका लागि आउने गरेका छन्,” उनले भने । औषधि सेवन गर्न आउनेमा २० जनाभन्दा बढी बालबालिका रहेका छन् । संक्रमितलाई सबैखाले स्वास्थ्य सेवासँगै यातायात सुविधासमेत दिने गरेको भट्टले बताए । संक्रमितलाई अन्य अस्पताल पठाउन समेत विभिन्न गैरसरकारी संस्थाले सहयोग गर्दै आएका छन् ।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts