विश्व मिर्गौला दिवस

मिर्गौला प्रत्यारोपण पछिको सक्रिय जीवन

What's This?


Download our app to get more features

काठमाडौं, २४ फागुन । स्वास्थ्य अवस्था मात्रै होइन मिर्गौला फेल भएका बिरामीको परिवारमा आर्थिक अभाव र मानसिक तनाव अझै भयावह हुन्छ । मिर्गौला फेल भएपछि डायलाइसिस गर्न लाग्ने महंगो शुल्क जुटाउनु उनीहरूको सबै भन्दा ठूलो टाउको दुखाइ हुन्छ । यस्तै मिर्गौला प्रत्यारोपण गर्न दाताको कमीका कारण पनि बिरामीको परिवार थप तनावमा पर्ने गर्छ । 

बिरामीको जीवन लम्ब्याउन डायलाइसिस अनिवार्य हुन्छ । आर्थिकस्तर कमजोर भएका बिरामीले आफ्नै खर्चमा डायलाइसिस गर्दा घरखेत समेत सखाप भएका थुप्रै घटना छन् । सरकारले अहिले मिर्गौला डायलाइसिस र प्रत्यारोपण दुबै निःशुल्क गरेको छ । 

मिर्गौला प्रत्यारोपण गरिसकेपछि पनि बिरामीले अनेकौं समस्याबाट गुज्रनुपर्छ । धु्रवबिक्रम मल्ल कराँते खेलका चर्चित नाम हो । उनी कराँतेको अन्तर्राष्ट्रिय प्रशिक्षक पनि हुन् । 

खेलकुदमै जीवन समर्पण गरेका मल्लको १८ बर्षअघि दुबै मिर्गौला फेल भएको थियो । त्यतिखेर मिर्गौला प्रत्यारोपणको लागि उनी दिल्ली, लखनउ हुँदै चेन्नईसम्म पुगेका थिए । उनले भारतमै १४ महिनासम्म डायलाइसिस गरेका थिए । 

डाइलाइसिसपछि मिर्गौला प्रत्यारोपणको लागि उनले बुबालाई भारतमा लिएर गएका थिए । तर, प्रत्यारोपण गर्न नपाउँदै बाबु बिरामी परेका कारण त्यतिकै फर्कनुपर्यो । पछि काकाले मल्ललाई मिर्गौला दिए । मिर्गौला प्रत्यारोपणपछि पनि उनी कराँते खेलमा सक्रिय रुपमा लागेका थिए । अहिले उनी बालाजु एकेडेमी कराँते डोजो सञ्चालन गरिरहेका छन् । डोजोमा करिब ५० जना प्रशिक्षार्थी नियमित तालिमका लागी आउने उनी बताउँछिन् । आफ्नै लगानीमा बालाजुमा कराँते प्रशिक्षण केन्द्र स्थापना गरेका उनी यसअघि ०५२ सालमा कराँतेका स्थायी प्रशिक्षकका रुपमा जागिरे थिए । ०६३ सालमा उनले जागिरे छाडेर बालाजुमा कराँते डोजो खोलेका हुन् । उनको डोजोबाट प्रशिक्षित भएका खेलाडीहरू अन्तर्राष्ट्रिय क्षेत्रमै नाम कमाएका छन् । 

उनले नै प्रशिक्षित गरेका एथलेटिक्सका खेलाडी मिरा राई र कराँतेका खेलाडी बिमला तामाङले अन्तर्राष्ट्रिय स्तरमा नाम देशको बनाउन सफल भएका छन् । उनी भन्छन् ‘म मनदेखि नै सक्षम छु, तगडा छु । मिर्गौला प्रत्यारोपण गरेको जस्तो अनुभव नै हुँदैन् । म हरेक दिन डोजोमा खेलाडीहरूसँगै नियमित व्यायाम गर्छु । उनीहरुसँगै दैनिक व्यायाम गर्छु । 

नेपाल सरकारको लगानी बिना नै आफैले स्तरीय खेलाडी उत्पादन गरिरहेको उनको दाबी छ । जीवनमा संघर्षशील बन्नुपर्ने उनको धारणा छ । ‘आत्मादेखि केही गर्छु भनेर नलागि जीवनमा केही गर्न सकिँदैन् ।’ उनले भने । 

उनले भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रको आयोजनामा अंग प्रत्यारोपण गर्ने व्यक्तिहरूबीच बिभिन्न राष्ट्रिय खेलकुद प्रतियोगिताको समेत आयोजना गर्दै आएका छन् । उनी अहिले अन्तर्राष्ट्रिय स्तरको कराँते प्रशिक्षकको जाँच दिन बिदेश लाग्दैछन् । 

सामाजिक कार्यमा पनि मल्ल उत्तिकै अगाडी
०७२ सालको भूकम्पपछि पुनर्निर्माणको लागि उनले धादिङमा ५० वटा घर निर्माणको लागि सहयोग गरेका थिए । विभिन्न सामुदायिक विद्यालयमा सल्लाहाकारको साथै उनी सामाजिक कार्यमा संलग्न छन् ।  साफ खेलमा उनले कराँतेमा गोल्ड मेडल तथा एशियन गेममा काँस्य पदक समेत जितेका छन् । 

रमेश चालिसे पेशाले पत्रकार हुन् । ०६२ सालमा उनी दुबै मिर्गौला फेल भएर थला परेका थिए । 

त्यतिखेर सरकारी सुविधा केही पनि थिएन । कमजोर आर्थिकस्तरका कारण उनले उपचारको लागि निकै सकस झेल्नुपर्यो । उनले ६ बर्षसम्म भारतमा गएर निकै महँगो रकममा डायलाइसिस गरेका थिए । ‘महिनाको ४० हजारसम्म डायलाइसिसको लागि खर्च हुन्थ्यो’ उनी भन्छन् । त्यतिखेरको जीवन निकै कहालिलाग्दो रहेको उनी बताउँछन् । 

उनले उपचार खर्चको लागि चिनेका साथीभाइसँग हारगुहार गरे । चन्दा संकलन गरेरै उनले भारतमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए । मिर्गौला उपचारकै लागि उनी रत्नपार्कमा अनशन समेत बसे । मिर्गौलाको डाइलाइसिस र प्रत्यारोपण गर्न सरकारले निःशुल्क गर्नुपर्ने मागसहित त्यतिबेला अनशन बसेको उनी सम्झन्छन् । 

उनलाई काकाको छोराले मिर्गौला दान गरेका थिए । मिर्गौला प्रत्यारोपणपछि उनी नियमित काममा रमाइरहेका छन् । मिर्गौला प्रत्यारोपणको लागि आफूले जस्तो समस्या अरुले भोग्न नपरोस् भन्ने उदेश्यले उनी मिर्गौला फेल भएका बिरामीको सहयोगको लागि अभियन्ताका रुपमा काम गर्दै आएका छन् । 

मिर्गौला प्रत्यारोपणपछि उनी नियमित जाँच गराइरहन्छन् । खानपिन र व्यायाममा ध्यान दिनसके मिर्गौला प्रत्यारोपणपछि पनि सामान्य अवस्थामै रहन सकिने उनी बताउँछन् । खानपिनमा ध्यान नदिँदा मिर्गौला प्रत्यारोपणपछि पनि इन्फेक्सन भएर मिर्गौला फेल हुने धेरैको समस्या रहेको उनले सुनाए । 

आफ्नै परिवारका सदस्य पनि मिर्गौला दान गर्न हिच्किचाउँछन् । मिर्गौला दान गर्दा जीवन नै सकिने हो कि भन्ने उनीहरूमा भ्रम रहेकोले थप पीडा भोग्नुपरेको उनी बताउँछन् । 

नेपालमा हरेक बर्ष ३० हजारको मिर्गौला फेल हुनेगरेको र त्यसमध्ये बर्षमा २ सय ५० जनाको मात्रै मिर्गौला प्रत्यारोपण हुने स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । 

 

(हाम्रो डक्टर मासिक पत्रिकाबाट)

Last modified on 2018-03-27 04:14:58

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts