विराटनगरका क्लिनिकमा कमिसन लिँदै बिरामी बटुल्ने दलाल सक्रिय
पक्राउ परेका २ जनामाथि मुद्दा चलाउँदै प्रहरी
विराटनगर,२५ फागुन । प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा च्याउ सरी खुलेका निजी क्लिनिकले बिरामी ल्याएवापत दलाललाई कमिसन दिने गरेको खेलेको छ । यो घटना बाहिर आएसँगै ठगि गर्ने दलालको सक्रियता पर्दाफास भएको हो ।
सरकारी र निजी अस्पतालमा भन्दा क्लिनिकले राम्रो उपचार दिने भन्दै बिरामीलाई ठगि गरी क्लिनिकमा पुर्याउने दुई जना दलाललाई विराटनगरबाट प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।
बिरामीलाई झुक्याएर निजी क्लिनिकमा पु¥याएवापत निश्चित रकम कमिसन लिने दलाललाई मोरङ प्रहरीले विराटनगरको हस्पिटलचौकबाट पक्राउ गरेको छ । मोरङ प्रहरीले सादा पोशकमा प्रहरी टोली परिचालन गरी सप्तरी राजबिरज घर भइ विराटनगर डेरामा बस्ने ३२ वर्षिय सिताराम सरदार र जनकपुर घर भइ विराटनगर बस्ने उमेश महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका दलालले उपचारको लागि विराटनगर आएका बिरामीलाई हस्पिटल चौकमा राजु साहले सञ्चालन गरेको नेशनल क्लिनिकमा जबरजस्ती र झुक्याएर लैजाने गरेका थिए ।
बिरामीलाई लगेवापत क्लिनिकले दलाललाई एक पटकमा ५ सय रुपैयाँ दिने गरेको पाइएको प्रहरीले जनाएको छ । विराटनगरको हस्पिटल चौकमा रहेका अधिकांश क्लिनिक र कतिपय निजी अस्पतालहरुले पनि बिरामी ल्याउन कमिसन दिएर दलालहरु परिचालन गर्ने गरेका छन् । क्लिनिकहरुले परिचालन गरेको दलालले सिटी रिक्सामा विराटनगरको शनिमन्दिर, मुनालपथ, बरगाछी र बसपार्कबाट लिएर जाने गरेको स्रोतले बताएको छ ।
ती दलालले उपचार गर्न विराटनगर आएका बिरामीहरुलाई गुणस्तरीय, सस्तो र राम्रो उपचार पनि हुने छिटो पनि हुने भन्दै क्लिनीकमा पु¥याउने गरेको पाइएको छ । बुधबार पक्राउ परेका दलालले शनिमन्दिर चोकमा बसबाट उत्रिएका बिरामीहरुलाई झुक्याएर आफ्नो कमिसन आउने क्लिनिकमा पु¥याउँदै गर्दा प्रहरीले पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।
‘विराटनगर क्षेत्रमा विरामी ठगि गरेको गुनासोहरु थुप्रै आएका छन्,’ मोरङ प्रहरी प्रमुख बिसीले भने, ‘क्लिनिकबाट कमिसन पाउने लोभमा बिरामी ठगी गरेको पाए प्रहरीले पक्राउ गर्दछ ।’ यसरी दलालबाट विरामाीहरु ठगि हुने गरेको पाइएपछि दलाललाई पक्राउ गर्न सादा पोशकमा प्रहरी परिचालन गरेको उनले जानकारी दिए ।
पक्राउ परेका दलाललाई प्रहरीले सार्वजानिक मुद्दा चलाउने तयारी गरेको छ । हिजो सार्वजानिक विदा भएकोले आज म्याथ थप गरी सार्वजानिक मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङबाट स्वीकृति लिएर विराटनगरमा सञ्चालनमा आएको १ सय ११ वटा निजी क्लिनिकहरु दर्ता भएको जनस्वास्थ्यको अभिलेखमा देखिन्छ । यी क्लिनिक मध्धे विराटनगर जलजला मोडदेखि पूर्व रङ्गेली रोड, हस्पिटल चौकमा अधिकाशं क्लिनिक सञ्चालन छन् । यी मध्ये हस्पिटल चौकमा रहेका अधिकाशं क्लिनिकले बिरामी ल्याउन दलाल प्रयोग गर्ने गरेको स्रोतको दाबी छ ।