स्वास्थ्य चौकीको भवन निर्माण



Download our app to get more features

बाबियाचौर (म्याग्दी), २९ फागुन । रघुगंगा गाउँपालिका–२ भगवतीस्थित स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । 

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको रु एक करोड ३८ लाख २० हजार लगानीमा दुईतले १० कोठे भवन निर्माण गरेको हो । भवनको भुइँतलामा बिरामीको स्वास्थ्य परीक्षण, औषधि भण्डारण, प्रसूति, बिरामी उपचारस्थल, प्रशासनिकलगायत कक्ष रहेका छन् । 

पहिलो तलामा आवास सुविधाको लागि कोठा बनाइएको छ । ठेक्कामार्फत निर्माण सम्पन्न भएको सो भवन सोमबार एक समारोहका बीच स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । नाना÷हरि जेभीले ठेक्का पाएको भवन लक्ष्यभन्दा दुई महिनाअघि निर्माण भएको हो । 

निर्माण व्यवसायी कृष्णकुमार शेरचनले डिभिजन प्रमुख प्रकाश अर्यालमार्फत जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका भवन निर्माण समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीलाई भवन हस्तान्तरण गरेका छन् । 

जिसस प्रमुख केसीले विकास निर्माणमा ढिलासुस्ती भइरहेको अवस्थामा भगवती स्वास्थ्य चौकी निर्धा्रित मितिभन्दा अघि नै सम्पन्न भएर सकारात्मक सन्देश दिन सफल भएको बताए । गाउँपालिका अध्यक्ष भण्डारीले भवनमा फर्निचर र उपकरणको व्यवस्था गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । 

भवन निर्माणका लागि रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र लोकबहादुर भण्डारीले सात वर्षअघि चार रोपनीभन्दा बढी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराएका थिए । भवबहादुरले रु छ लाख ५० हजारमा तीन रोपनी, लोकबहादुरले रु एक लाख ३० हजारमा एक रोपनी र स्वास्थ्य चौकीको रु एक लाख लगानीमा जग्गा खरिद गरेको थियो । 

जीर्ण अवस्थामा रहेको वडा कार्यालयको भवनको दुईवटा कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीलाई नयाँ भवन स्थानान्तरण गरिने वडाध्यक्ष रिम कटुवालले बताए । सो स्वास्थ्य चौकीबाट भगवतीका साथै पिप्ले र बेगका बासिन्दाले सेवा लिँदै आएका छन् ।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts