डेङ्गु रोगविरुद्धको अभियान शुरु



Download our app to get more features

 

रत्ननगर, चितवन, १ चैत  । पूर्वी चितवनको कालिका नगरपालिकामा आजदेखि डेङ्गु रोगविरुद्धको अभियान शुरु भएको छ । 

कालिका नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा यहाँको बजार क्षेत्रमा उक्त अभियानअन्तर्गत आजदेखि घरघरमै स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गरिएको छ । 
अभियानका क्रममा स्वयंसेविकाले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजी गरी नष्ट गर्ने तथा सचेत गराउने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए। 
यसका लागि यहाँ १५ जनाको टोली परिचालन गरिएको छ । गर्मी मौसम बढ्न थालेकाले अब डेङ्गु रोग पनि फैलन सक्ने भन्दै रोगविरुद्ध अभियान थालिएको उनकोभनाइ छ । 

यसअघि भरतपुर महानगरपालिकामा बुधबारदेखि अभियान शुरु भएको थियो भने सोमबारदेखि राप्ती नगरपालिकामा अभियान थालिएको छ । जिल्लाको सबै क्षेत्रमा गरेर उक्त अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेविका गरी करिव १०० जना परिचालन गरिएको छ । 
हरेक क्षेत्रमा तीन दिन अभियान चलाइने छ । खैरहनी र रत्ननगरमा भने अर्को चरणमा अभियान चलाइने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कालिका नगरपालिका वडा नं ६ का अध्यक्ष विनोद रेग्मीले उक्त अभियानले घरघरमा सचेतना फैलने भन्दै यस्ता कार्यक्रम जरुरी रहेको बताए । 
चितवनमा चालू आर्थिक वर्षको अहिलेसम्म ५७ जनामा डेङ्गु रोग लागेको पाइएको छ । त्यसमध्ये ३१ जना चितवनका बिरामी र बाँकी अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी हुन् । 

मुख्यगरी एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । घर वरपर फ्याँकिएका भाँडा, बट्टा, टायर टिन, ड्रमका टुक्रामा जमेको पानीमा यो लामखुट्टेले बच्चा हुर्काउने भएकाले यसरी पानी जम्न नदिई घर वरपर सरसफाइ गरे डेङ्गुबाट बच्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् । 
यसको खास उपचार नभएकाले लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ । अत्यधिक ज्वरो आउने, जिउ दुख्ने, बिबिरा देखिने भयो भने चिकित्सकलाई देखाउनसमेत जनस्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ । 
  रासस

Last modified on 2018-03-15 13:13:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts