प्रथम यूरोसर्जन डा.दली

मुटुमा स्टेन्ट हालेको छ तैपनी बिरामी हेर्दै '८० बर्षीय युवा' डाक्टर

What's This?


Download our app to get more features

काठमाडौं, २ चैत ।  डा. विश्वराज दली नेपालका पहिलो युरो सर्जन हुन् । उनी ८० बर्षका भइसके तर पनि नियमित अस्पताल जान्छन र बिरामीको पीडामा मलम लगाउँछन । 

पाँचबर्ष अघि उनको मुटुमा समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना भएका थिए । नर्भिकका मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टले डा. दलीको मुटुको नली सानो भएको भन्दै सानो स्टेन्ट हाल्न सुझाएका थिए । 
ठुलो समस्या नभए पनि स्टेन्ट हाल्दा प्रिभेन्सन हुने भन्दै उनले मुटुको सर्जरी गराए । त्यसयता उनी दैनिक औषधि सेवन पनि गर्छन । 

फुलेको सेतो कपाल देखाउँदै भन्छन्, ‘बुढ्यौली लागिसक्यो, औषधि पनि टन्नै खान्छु तैपनी हिँडेकै छु ।’ उनी हरेक दिन पत्नी डा. सानुमैया दलीसँगै कुपण्डोलको सर्वाङ्ग अस्पतालमा बिरामीको सेवा गर्न पुग्छन् । 
उनी भन्छन् ‘घर बसेर के गर्नु त्यसले झन् रोग र चिन्ता बढाउँछ । अस्पतालमा गएर बिरामीसँग कुरा गर्दा आनन्द महशुस गर्छु ।’ 

पहिले डाक्टर हुने चाहनै थिएन, अहिले छोड्नै सक्दिन 
उनको इच्छा इन्जिनियर बन्ने थियो । स्कूलसकेदेखि नै उनको चाहना इन्जिनियरतर्फ जाने थियो । पहिलाको कुरा सम्झिँदै डा. दली भन्छन्, ‘म आफंै डाक्टर हुने चाहेको मान्छे होइन्, इन्जिनियर बन्ने मेरो इच्छा थियो ।’ 

खासमा उनका बुबा शेषराज दलीलाई डाक्टर बन्ने चाहना रहेछ । तर विभिन्न कारणले उनले आफ्नो चाहना पूरा गर्न सकेनन् । आफूले पूरा गर्न नसकेको सपना पूरा गर्न जेठो छोरा विश्वराजलाई मेडिकल पढ्न जोड गरेछन । 
पढाइमा अब्बल शेषराजलाई कलकत्तामा एमबीबीएस पढ्नको लागि सिफारिश गर्ने पक्का भइसकेको तर विभिन्न कारणले गर्दा उनलाई त्यहाँ पठाइएन । त्यसको सट्टामा उनलाई भारतमा इन्डस्ट्रियल केमेस्ट्री पढ्न पठाए ।
आफूले डाक्टर पढ्न नपाएपछि शेषराजले छोराछोरीलाई जसरी भएपनि डाक्टरी पढाउने अठोट लिएका रहेछन । त्यही कारण बने डा. विश्वराज दली नेपालको प्रथम युरोसर्जन । 

बुबाको छत्रछायाँमा हुर्केका डा. विश्वराजले सन् १९६० मा भारतको एसएन मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेका थिए । दिल्लीमा सन् १९६३ मा मास्टर्स इन सर्जरी गरे । 
बिरामीको सेवामार्फत समाज सेवा गर्ने बुबा शेषराजको चाहना जेठा छोरा डा. विश्वराजले पूरा गरे । उनी बुबाले लगाएको यो पेशामा इमान्दार भएर लागे । उनी यो पेशामा लागेकोप्रति कुनै पछुतो लाग्दैन । ‘अहिले निकै खुशी लाग्छ ।’ डा. विश्वराजले भने । उनको उमेर ८० पुगिसक्यो तैपनी दैनिक बिरामी जाँच्छन् । 

सन् १९६४ मा उनले कान्ति अस्पतालमा सर्जनका रूपमा काम थालनी गरे । डा.दली ३० बर्षको सेवाबाट अनिवार्य अवकाशपछि भक्तपुर क्यान्सर अस्पतालमा विशिष्ट सर्जनका रुपमा करिब १२ बर्ष सेवा गरेका थिए । त्यहाँ उनले शल्य चिकित्सालाई सुचारु गरेका थिए । शेषहीरा प्रतिष्ठानको संस्थापक रहेका डा.दलीले यस संस्था मार्फत सामाजिक कार्यमा समेत सक्रिय छन् ।

लालटिन बालेरै अपरेशन 
सन् १९६७ मा उनको सरूवा लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा भयो । अस्पताल ५० बेडको थियो । तर बिजुली बत्ती थिएन । त्यतिबेला बुटवल अहिले जस्तो शहरका रूपमा विकास भएको थिएन । बत्ती नभएपछि उनलाई उपचारमा निकै अप्ठ्यारो भयो । तैपनी दिउँसोको समय मिलाएर उनी बिरामीको सर्जरी गर्थे । 

त्यतिबेलाको पेट्रो म्याक्स नामक लालटिन बालेरै कतिपटक उनले उपचार गरेको बताउँछन । त्यतिखेर अस्पतालको छेउमा सुनौली–पोखरा राजमार्ग निर्माणको लागि सडक डिभिजन कार्यालय स्थापना भएको थियो । त्यहाँ जेनेरेटरबाट बत्ती बालिएको थियो । अस्पतालमा बत्ती नभएको कारण अपरेशन गर्न नसकेको त्यहाँका अफिसरहरूलाई जानकारी गराएपछि उनीहरूले जेनेरेटरको बत्ती उपलब्ध गराइदिएको पूरानो स्मरण उनले सुनाए । 

त्यहाँ उनले एकबर्ष काम गरेर वीर अस्पतालमा काम गर्न थाले । डा. अञ्जनी शर्मा र डा. दिनेशनाथ ग्वंगोलपछि तेस्रो सर्जनका रूपमा डा. विश्वराज दलीले वीर अस्पतालमा काम शुरू गरे ।
त्यसबेला एउटा सर्जनले प्रायः सबै सर्जरी गर्नुपथ्र्यो । त्यतिबेला पित्तथैलीको अपरेशन बढी हुन्थ्यो । हड्डीको सर्जरी पनि उनले भ्याए ।  

केही बर्ष वीर अस्पतालमा काम गरेपछि उनी युरोलोजीमा विशेषज्ञ हासिल गर्न सन् १९८३ मा युरोलोजी पढ्न बेलायत गए । 

वीर अस्पतालमा पहिलो युरोलोजी युनिटको स्थापना
बेलायत जानु अघि उनले वीर अस्पतालका मेडिकल सुपरिटेन्डेट (निर्देशक) रहेका द्धारिकाप्रसाद मानन्धरलाई पढाइ सकेर फर्किदासम्म युरोलोजी युनिटको लागि चाहिने सबै सामानहरू संकलन गरिराख्न आग्रह गरेरका थिए । 
निर्देशकले तिमी आएपछि सबै भइहाल्छ नि भन्ने जवाफ दिएका थिए । प्रशासनको काम ढिला हुने थाहा पाएका उनले निर्देशकलाई बेलायतबाट फर्किदा सर्जरीको लागि चाहिने आधारभूत सामानहरू आफ्नै खर्चले किनेर ल्याउने र त्यसको शोधभर्ना फर्केर आएपछि दिने शर्त राखे । 

उनले बेलायतमा युरो सर्जनका रूपमा एकबर्ष अध्ययनपछि सर्जरीको लागि चाहिने सामानहरू एक बाकस बोकेर स्वदेश फर्केका थिए । त्यतिबेला सर्जरीका सामान किन्दा त्यतिबेलाको करिब पाँच हजार पाउन्ड खर्च लागेको उनले सुनाए । 

नभन्दै उनले फर्केर आउने बितिक्कै वीर अस्पतालमा पहिलो युरोलोजी युनिटको शुरूवात गरे । आफूले ल्याएको सर्जरीको सामानका कारण उनलाई त्यहाँ काम शुरू गर्न सजिलो भयो । 
सर्जरीको सामान किनेर ल्याउँदा खर्च भएको रकम भुक्तानी गर्न प्रशासनले चार बर्ष लगायो । 

न्याम्सको भीसी हुँदा राजनैतिक दलको चर्को दबाव
उनी रिटायर्ड भएर बसिरहेका बेला तत्कालीन स्वास्थ्यमन्त्री अमिक शेरचनले सन् २००६ मा उनलाई चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति गरे ।
राजनीतिबाट टाढा रहेका उनलाई आफू माओवादीको भागबन्डाका कारण न्याम्सको भिसी नियुक्त बनाइएको थाहा पाएनछन् । 

उनी त बिशुद्ध मेडिकल शिक्षाको लागि केही गर्न सकिन्छ कि भनेर त्यहाँ पुगेका थिए । तर भइदियो उल्टो । वीर अस्पतालमा रहेका आधा दर्जन भन्दा बढी कर्मचारी युनिएन हरेकको माग फरक फरक । एउटाको प्रस्ताव अर्कोले नमान्ने । कार्यकर्तालाई सुविधा दिनुपर्यो भन्दै आउने दैनिक गुनासो र धम्की । त्यो सम्झेर उनी अहिले पनि दिक्क हुन्छन् ।यी सबै कुराबाट उनी निकै आजित भए । 

विभिन्न राजनैतिक दलका कार्यकर्ताले अनावश्यक दबाब दिन थाले । एक ताका माओवादीका समर्थित कर्मचारीलाई नहेरेको भन्दै वाइसियल आएर कालोमोसो दल्ने सम्मको धम्की आयो । 
त्यतिबेला भीसी हुँदाको अनुभव सुनाउँदै उनी भन्छन् ‘कस्तो भूतले खाजा खाने बेलामा म न्याम्समा पुगेछु । आफूलाई कहिले बानी नपरेको त्यस्तो प्रशासनिक झन्झट र अनावश्यक दबाब ।’ जेनतेन उनले न्याम्समा तीन बर्ष बिताए । त्यसपछि उनले राजीनामा दिनु नै बुद्धिमानी ठाने ।  

‘डा.दलीले अपरेशन चाँडो गर्नुपर्छ भन्दैनन्’ भन्दै बिरामी आउने
अरु डाक्टरले चाँडै अपरेशन गर्नुपर्छ भन्छन् तर त्यो बुढो डाक्टर (डा दली) ले चाँडो अपरेशन गर्नुपर्छ भन्दैन् भन्दै बिरामीहरू आफूलाई चिन्ने उनी सुनाउँछन् । उनी भन्छन् ‘म बिरामीलाई पूर्णरूपमा जाँच गरिसकेपछि अपरेशन नगरी नहुने स्थितिमा मात्रै अपरेशनको लागि सुझाव दिन्छु । अनावश्यक रूपमा बिरामीलाई चिन्ता बढाउने गरी अपरेशन नै गर्नुपर्छ भन्ने कुरामा जोड दिन्न ।’ 

यदि म बिरामीको ठाउँमा भए के गर्थे होला भनेर डाक्टरले जहिले पनि सोच्नुपर्ने सुझाब दिन्छन । बिरामीको सेवा गर्दा आफु पनि स्वस्थ भइने उनी बताउँछन् । घरमा बस्दा एकछिन किताब पढौंला, निदाउँला त्यतिमै दिन बित्छ । ‘पब्लिकसँग सम्पर्क कम हुन्छ । बिरामी जाँच्दा आफूलाई हेल्थी फिल हुन्छ ।’ उनले भने ।

Last modified on 2018-03-27 04:09:48

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts