नर्सिङ अध्ययनरत ७० विद्यार्थीको भविष्य अन्यौलमा 

लाइसेन्स परीक्षाबाटै बञ्चित

What's This?


Download our app to get more features

काठमाडौं, ७ चैत । ओसिस मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर, भरतपुरबाट बिएस्सी नर्सिङ अध्ययन पूरा गरेका दुई विद्यार्थी नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षाबाट बञ्चित भएका छन् ।

चार बर्षे बिएस्सी नर्सिङ पूरा गरे पनि सो कलेज नर्सिङ काउन्सिलसँग परामर्श नगरी सञ्चालन भएको भन्दै शोभा अर्याल र तनुजा श्रेष्ठलाई काउन्सिलले लाइसेन्स परीक्षामा सहभागि हुन नदिएको हो ।

काउन्सिलको यो निर्णयले सो कलेजमा अध्ययनरत ६८ जना नर्सिङका विद्यार्थीको भविष्य पनि अन्यौल बनेको छ । उनीहरू पनि काउन्सिलले लिने लाइसेन्स परीक्षामा सहभागी हुन नपाउने हो कि भनेर चिन्तित बनेका छन् । 
पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति लिएर कलेजले बिएस्सी र बिएन कार्यक्रम सञ्चालन गरेको थियो । पूर्वाञ्चल विश्वविद्यालयले काउन्सिलमा परामर्श लिनेगरी अस्थायी रुपमा बिएस्सी र बिएन कार्यक्रम सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको थियो । कलेजले यसअघि सीटिइभिटीबाट मान्यता प्राप्त गरी पिसिएल नर्सिङ कार्यक्रम पनि सञ्चालन गर्दै आएको थियो ।  

०७० सालमा बिएस्सी नर्सिङ कार्यक्रम सुरु गरेको कलेजमा पाँच जना विद्यार्थी मात्रै भर्ना भएका थिए । सो कलेजमा पढेका पाँच विद्यार्थी मध्ये ३ विद्यार्थीले बीचमै कलेज स्थानान्तरण गरेका थिए भने शोभा र तनुजाले सोही कलेजमा पढेका थिए । काउन्सिलले सूचना जारी गरेर उक्त कलेजमा भर्ना नहुन र भर्ना भएमा लाइसेन्सको परीक्षामा सहभागी नगराउने चेतावनीपछि तीन जना विद्यार्थीले कलेज स्थानान्तरण गरेका थिए । 

शोभा र तनुजालाई भने कलेजले अन्तिम बर्षमा जसरी पनि लाइसेन्स परीक्षामा सहभागी गराउछौं भन्ने आश्वासन दिएको थियो । उनीहरू यसै बर्ष पूर्वाञ्चल विश्वविद्यालयबाट बिएस्सी नर्सिङ परीक्षामा उत्तीर्ण भएका हुन् । 
परीक्षा उत्तीर्ण भए लगत्तै उनीहरूले काउन्सिलले २६ फागुनमा लिने लाइसेन्स परीक्षामा सहभागी हुन १३ फागुनमा अनलाइनमार्र्फत फाराम भरेका थिए । 

लाइसेन्स परीक्षामा सहभागी नगराउने काउन्सिलले पहिला नै सूचना प्रकाशित गरेका कारण उनीहरू परीक्षामा सहभागी गराइदिन आग्रह गर्दै दैनिकजसो काउन्सिलमा धाउने गर्थे । तर, काउन्सिलले उनीहरूलाई परीक्षाको एडमिट कार्ड दिन अस्वीकार गर्यो । 

नर्सिङ काउन्सिलले टेरेन अदालतको आदेश
परीक्षा दिन नपाउने भएपछि विद्यार्थी शोभा अर्यालले नेपाल नर्सिङ काउन्सिललाई विपक्षी बनाई उच्च अदालत पाटनमा लाइसेन्स परीक्षामा सहभागी भइपाउँ भन्दै मुद्दा हालेकी थिइन् । २३ फागुनमा ०७४ उच्च अदालत पाटनका न्यायाधीश रमेशकुमार पोखरेलको एकल इजलासले काउन्सिलको लाइसेन्स परीक्षाको प्रवेश पत्र दिन उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो ।

२३ फागुन ४ बजे सो परमादेश जारी भएको थियो भने भोलिपल्ट २४ फागुन बिहीवार नारी दिवसको सार्वजनिक बिदा थियो । त्यसैले शोभा र तनुजा २५ फागुन अर्थात लाइसेन्स परीक्षाको अघिल्लो दिन अदालतको परमादेशको कपी बोकेर एडमिट कार्ड लिन काउन्सिल गएका थिए । 

काउन्सिल पुगेका उनीहरुलाई बोर्डको बैठकपछि निर्णय गर्ने भन्दै साँझ ४ बजेसम्म कुराएका थिए । काउन्सिलले उनीहरूले अध्ययन पूरा गरेको शैक्षिक प्रमाणपत्र ल्याउन आग्रह गरेको थियो । तर, अन्तिममा बोर्डको निर्णय भन्दै काउन्सिलले शोभा अर्याल र तनुजा श्रेष्ठलाई लाइसेन्स परीक्षामा सहभागी नगराउने निर्णय गरेको थियो । 

शोभाले भनिन् ‘साढे चार बजे हामीलाई काउन्सिलमा बोलाएर लाइसेन्स परीक्षा दिन नपाउने जानकारी गराए । तपाईहरूको कलेजले काउन्सिलबाट परामर्श नलिएको र तपाईंहरूलाई पनि लाइसेन्स परीक्षामा सहभागी गराउन नसक्ने जवाफ दिए ।’

परीक्षा दिलाइदिने आशामा उनीहरू पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा पनि नगएका होइनन् तर त्यहाँबाट पनि केही सीप लागेन् । काउन्सिलले लाइसेन्स परीक्षाको एडमिट कार्ड नै नदिएपछि उनीहरू परीक्षाबाट बञ्चित भए । परीक्षा दिन नपाएपछि अहिले उनीहरू हरेक दिनजसो काउन्सिल धाइरहेका छन् । आगामी असारमा हुने लाइसेन्स परीक्षामा भएपनि सहभागी गराइदिन ती विद्यार्थीले काउन्सिलाई आग्रह गर्दै आएका छन् । 
पहिलो ब्याजका शोभा र तनुजाले लाइसेन्स परीक्षामा सहभागी हुन नपाएपछि सो कलेजमा अध्ययनरत बिएस्सी नर्सिङका ६८ विद्यार्थी समेत चिन्तित बनेका छन् । 

हाल सो कलेजमा बिएस्सी नर्सिङ पढिरहेका ४० विद्यार्थी काठमाडौं आइपुगेका छन् । काउन्सिलले लिने लाइसेन्स परीक्षामा सहभागी गराउन दबाबका लागि उनीहरु चितवनबाट काठमाडौं आइपुगेका हुन् । 

कलेजमा विद्यार्थी संगठनको तालाबन्दी
विद्यार्थीले लाइसेन्स परीक्षामा सहभागी हुन नपाएपछि कलेज सञ्चालन गर्न नदिने भन्दै क्रान्तिकारी विद्यार्थी संगठनले कलेजमा तालाबन्दी गरेको शोभाले जानकारी दिइन् ।  चारबर्ष अध्ययन गर्दा करिब १५ लाख सकेको र अन्तिममा लाइसेन्स परीक्षामा समेत सहभागी हुन नपाउँदा निराश बनेको शोभा बताउँछिन् । 

उनी भन्छिन् ‘चार बर्षसम्म पढेर पास गरियो तर, लाइसेन्स परीक्षा दिन नपाउँदा पढाई के काम लाग्यो, फेरि दोहोर्याएर अर्को कलेजमा पढ्ने अवस्था पनि छैन् ? 

सम्बन्धन खारेजपछि अदालतको स्टे अर्डर लिएर कलेज सञ्चालन  
नर्सिङ शिक्षाको लागि ओसिस कलेजले ०५९ मा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो  । कलेजले नेपाल नर्सिङ काउन्सिलबाट १२ मंसिर ०६६ मा आवश्यक पूर्वाधार तथा मापदण्ड पूरा गरी सञ्चालन गर्दै आएको थियो । 

काउन्सिलले कलेजको अनुगमन गर्दा मापदण्ड पूरा नगरेको भन्दै ११ भदौ ०७४ मा कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो । काउन्सिलको सो निर्णयविरुद्ध कलेज सञ्चालक मनोजकुमार चौधरीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए ।

२४ कार्तिक ०७४ मा उच्च अदालत पाटनका का.मु. मुख्य न्यायाधीश दुर्गादत्त भट्टको एकल इजलासले काउन्सिलको उक्त निर्णय खारेज गर्दै उत्प्रषेणयुक्त परमादेश जारी गरेको थियो । अदालतको यस आदेशले कलेज सञ्चालनको बाटो खोलेको थियो । 

यस्तो छ कलेज सञ्चालिकाको भनाइ
कलेज सञ्चालिका हेमकुमारी चौधरीले पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता लिएर ओसिस कलेजले बिएस्सी कोर्ष सुरु गरेको दावी गर्छिन् । 

काउन्सिलले अनुगमनका क्रममा कलेजमा सबै ठीक छ भने पनि काउन्सिल पुगेपछि कलेजबारे अनावश्यक टिकाटिप्पणी गरेको सञ्चालिका हेमकुमारीले आरोप छ । अनुगमनका गरेर कलेजमा केही कमी कमजोरी भए पत्रमार्फत जानकारी गराएर सुधार्न सकिने तर काउन्सिलले एक्कासी सम्बन्धन नै खारेज गर्ने निर्णय गर्न नमिल्ने उनको भनाइ छ । 

काउन्सिलले कलेज सुधारको बारेमा कुनै आधिकारिक जानकारी नगराउँदा काउन्सिलको परामर्श लिन नसकेको उनले स्वीकारिन् । पहिलो ब्याचमा दुई विद्यार्थीलाई घाटा सहेर भएपनि कलेजले पढाई सुरु गरेको उनको भनाइ छ । अन्तिम अवस्थामा कलेजका विद्यार्थीलाई लाइसेन्स परीक्षाबाट बञ्चित गराएर काउन्सिलले अन्यायले गरेको उनले भनाइ छ ।

उनले भनिन् ‘काउन्सिल हुँदैमा कानून नमान्ने भन्ने हुन्छ र ? अदालतले परमादेश दिइसकेपछि पनि हाम्रा विद्यार्थीलाई लाइसेन्स परीक्षा दिनबाट किन बञ्चित गराइयो ?’  विद्यार्थी भर्ना लिने नलिने बिषय काउन्सिलले निर्णय गर्न नमिल्ने उनको भनाइ छ । उनले भनिन् ‘हो हामीले काउन्सिलको परामर्श लिन सकेनौं तर पढिरहेका विद्यार्थीको भविष्य त अन्यौलमा पार्न भएन नि ?’

ओसिस कलेज हाम्रो सुची मै छैन : नर्सिङ काउन्सिल
नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष गोमा निरौलाले ओसिस मेडिकल कलेज काउन्सिलको सुचीमै नभएको बताएकी छिन् । 

सो कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट अस्थायी स्वीकृति लिएर बिएस्सी कोर्ष सुरु गरेको काउन्सिल अध्यक्ष निरौलाको भनाइ छ ।  काउन्सिलमा पछि परामर्श लिने गरी पूर्वाञ्चल विश्वविद्यालयले ओसिस मेडिकल कलेजलाई बिएस्सी सञ्चालन गर्न अस्थायी स्वीकृति दिएको उनले बताइन् । 

नेपाल नर्सिङ परिषद् ऐन ०५२ को दफा ९ को कानुनी व्यवस्था बमोजिम कुनै पनि नर्सिङ शिक्षण संस्था स्थापना र सञ्चालनको स्वीकृति दिनुपूर्व सम्बिन्धित निकायले काउन्सिलसँग परामर्श लिनुपर्छ । काउन्सिलको परामर्श बिना नर्सिङ कलेजले अध्यापन गराउन नपाउने व्यवस्था छ । 

काउन्सिलको टोलीले २ भदौ ०७१ र २३ मंसिर ०७२ मा कलेजको निरीक्षण गरेको थियो । तर दुबै पटक कलेजले न्यूनतम मापदण्ड पनि पूरा नगरेकाले परामर्श दिएको थिएन । काउन्सिलको मापदण्ड अनुरुप नभएको र नर्सिङ शिक्षाको गुणस्तरमा समेत आँच आउने भन्दै काउन्सिलले ७ असोज ०७३ मा राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी ओसिस मेडिकल कलेजले बिएस्सी र बिएन कार्यक्रम सञ्चालन गर्न नमिल्ने चेतावनी दिएको थियो । 
तर पूर्वाञ्चल विश्वविद्यालयले ३ असार ०७४ मा राष्ट्रिय दैनिकमा विद्यार्थी भर्नाको सूचना प्रकाशित गरी भर्ना लिएको थियो । 

काउन्सिलको निर्णयलाई बेवास्ता गर्दै कलेजले विद्यार्थी भर्ना प्रक्रिया थालेको भन्दै सो कलेजमा भर्ना भएका नर्सिङ विद्यार्थीको नाम काउन्सिलमा दर्ता नगर्ने चेतावनी दिएको थियो ।  

काउन्सिलले अनुगमन गर्दा कलेजले मापदण्ड विपरीत कलेज सञ्चालन गरेको पाइएको अध्यक्ष निरौलाको भनाइ छ । ‘बिएस्सी सुरु गर्दा न्युनतम ८ जना विद्यार्थी हुनुपर्छ । तर कलेजमा न्युनतम विद्यार्थीसमेत रहेको पाइएन,’ उनले भनिन् ।  काउन्सिलले परामर्श बिना बिएस्सीमा विद्यार्थी भर्ना नगर्न पटकपटक चेतावनी दिँदासमेत कलेज प्रशासनले अटेर गरेको कारण अहिले यो समस्या आएको उनको भनाइ छ ।  

काउन्सिलको चेतावनीलाई बेवास्ता गर्दै कलेजले राष्ट्रिय दैनिकमा सूचना समेत प्रकाशित गरेर बिएस्सी र बिएनमा विद्यार्थी भर्ना प्रक्रिया शुरु गरेको अध्यक्ष निरौलाले बताइन् ।

काउन्सिलको परामर्शबिना सञ्चालित कलेजमा अध्ययन गरेका विद्यार्थीलाई लाइसेन्स परीक्षामा सहभागी गराए भविष्यमा गलत नजिर बस्ने उनको भनाइ छ । 

‘भोलि काउन्सिलको परामर्श बिना नै नर्सिङ कार्यक्रम सञ्चालन गर्ने गलत प्रवृत्ति बस्छ त्यसैले हामीले ती विद्यार्थीलाई लाइसेन्स परीक्षामा सहभागी नगराउने निर्णय गरेका हौं ।’ काउन्सिल अध्यक्ष निरौलाले भनिन् । 

कलेज स्थानान्तरण गरे परीक्षामा सहभागी हुन पाउँछन् : काउन्सिल
लाइसेन्स परीक्षाबाट बञ्चित भएका शोभा र तनुजा बाहेक त्यस कलेजमा अध्ययनरत अन्य ६८ विद्यार्थीले अन्य कलेजमा स्थानान्तरण गरे लाइसेन्स परीक्षामा सहभागी गराउन सकिने उनको भनाइ छ ।  अन्तिम अवस्थामा आएको अदालतको फैसला एकतर्फी भएको काउन्सिल अध्यक्ष निरौलाको आरोप छ । 

परीक्षाको लागि विद्यार्थीले अनलाइन फाराम भर्नुपर्ने र सो मार्फत मात्रै एडमिट कार्ड दिने प्रक्रिया छ । त्यसकारण अन्तिम अवस्थामा एडमिट कार्ड दिन नसकेको भन्दै उनले काउन्सिलको बचाउ गरिन् । 
 

Last modified on 2018-03-26 17:24:29

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts