नुनसरीका छात्रा विद्यालयमै बनाउँछन् प्याड



Download our app to get more features

मोरङ, ७ चैत । उर्लाबारी नगरपालिका–१ स्थित नुनसरी आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा नुमा लिम्बूले नौ महिनायता विद्यालयमा आफँैले बनाएको सेनेटरी प्याड प्रयोग गर्दै आएकी छिन् । 
लिम्बू मात्र होइन विद्यालयमा अध्ययरनत अधिकांश छात्रा महिनावारीका बेलो आफैले बनाइएको सेनेटरी प्याड प्रयोग गर्दै आएका छन् । 

कक्षा ७ मा अध्ययनरत अञ्जली निरौला भन्छिन, ‘फलाटिनको कपडा प्रयोग गरेर बनाएको सेनेटरी प्याड पुनः प्रयोग गर्न मिल्ने र नरमसमेत हुने भएकाले धेरै राहत मिलेको छ ।’ एक मिटर कपडाबाट चार वटा सेनेटरी प्याड बनाउन सकिने र तत्काल आवश्यक पर्दा विद्यालयमा २५ तिरेर छात्रालाई प्रयोग गर्न दिइन्छ । 

सो रकमबाट छात्राले प्याड बनाउन आवश्यक पर्ने सामग्री किन्ने गरेका छन् । कपडालाई साइजअनुसार काटेर सियो–धागोले सिलाएर खिपसमेत प्रयोग गरिन्छ । फलाटिनको कपडाभित्र एउटा नरम कपडा पनि प्रयोग गरिन्छ । प्याड २१ इन्च लम्बाइ र १४ इन्च चौडा हुन्छ । छात्राले आफैँ बनाएको सेनेटरी प्याड विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षिकाले समेत प्रयोग गर्दै आएका छन् । विद्यालयमै महिला स्वास्थ्य र प्याड निर्माण गर्न लगाउँदा छात्राहरु महिनावारीको विषयमा खुलेर छलफल गर्न थालेको शिक्षिकाहरू बताउँछन् । 

महिला स्वास्थ्यमा खुल्दै छात्रा
प्लान नेपाल र सामुदायिक समाज उत्थान केन्द्र (सिएसडिसी) ले विद्यालयमा संयुक्त रुपमा महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम सञ्चालन गरेपछि छात्राहरु सेनेटरी प्याड बनाउन र महिनावारीका विषयमा खुल्न थालेका हुन् । विद्यालयमा १४ छात्राको महिनावारी स्वच्छता तथा व्यवस्थापन किशोरी समूह पनि बनाइएको छ । सोही समूहमा छात्रा भेला भएर सेनेटरी प्याड बनाउनाका साथै महिनावारीका विषयमा छलफल गर्दै आएका छन् । समूहले महिनावारीका विषयमा सचेतनामूलक सडक नाटकसमेत छिमेकका चार वटा विद्यालयमा देखाइसकेका छन् । 

प्लान नेपाल र सिएसडिसीले शुरुमा केही छात्रालाई सेनेटरी प्याड बनाउन सिकायो । त्यसपछि सिकेका छात्राले एकदिने तालीम सञ्चालन गरेपछि सबै छात्रा सजिलै सिनेटरी प्याड बनाउने भएका हुन् । उनीहरुले पुन ः प्रयोग गर्न सकिने प्याड बनाउन अभिभावकलाई समेत सिकाएको छात्रा सभ्या लिम्बूले बताइन । 

‘महिनावारी भएको बेला विद्यालय आउन मनै लाग्दैन थियो, साथीहरूले जिस्काउँछन् कि भन्ने डर लाग्दथ्यो,’ कक्षा ८ मा अध्ययनरत अमिशा लिम्बूले भनिन्, ‘तर, यसबारे तालीम पाएपछि कुनै डर लाग्दैन । पढ्दापढ्दै महिनावारी भयो अथवा कुनै अप्ठ्यारो भयो भने स्कूलमै छुटृै कोठा भएकाले सबै छात्रालाई सहज भएको छ ।’ 

विद्यालयमा छात्रा आफँैले सेनेटरी प्याड बनाउन थालेपछि महिनावारी भएको बेला विद्यालय नआउने छात्राको संख्या शतप्रतिशत घटेको प्रधानाध्यापक ठमेश मोक्तानले बताए । यसअघि महिनावारीको बहानमा धेरै छात्रा विद्यालय नआउने गरेकामा अहिले त्यस्तो अवस्था नरहेको प्रअ मोक्तानको भनाइ छ । उनले भने, ‘विद्यालयमै आराम कक्ष र सेनेटरी प्याडको व्यवस्था हुँदा उनीहरु सहज रुपमा विद्यालय आउन थालेका छन् ।’ यस विद्यालयमा कूल दुई सय विद्यार्थी अध्ययनरत छन् । रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts