एक सय चौध जना आँखाका बिरामीको जटिल शल्यक्रिया



Download our app to get more features

खोटाङ, ११ फागुन । लामो समयसम्म आँखाका जटिल समस्या खेपिरहेका जिल्लाका १ सय १४ जना बिरामीको जटिल शल्यक्रिया गरिएको छ । 

पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ खोटाङको संयोजनमा जिल्ला अस्पताल दिक्तेल र प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा आयोजना गरिएको निःशुल्क आँखा शल्यचिकित्सा शिविरका क्रममा १ सय १४ जनाको सफल शल्यक्रिया गरिएको हो । 

बिहीबारदेखि दिक्तेलमा शुरु गरिएको तीनदिने निःशुल्क आँखा उपचार शिविरमा आँखामा जालो पर्ने, मोतिया बिन्दु लगायतका समस्या भएका ७६ जनाको तथा चैत ४, ५ र ६ गते ऐँसेलुखर्कमा गरिएको निःशुल्क आँखा उपचार शिविरमा ३८ को शल्यक्रिया गरिएको संघका सचिव इन्द्र कसजूले बताए । जिल्ला अस्पतालमा ७ सय ५१ र ऐँसेलुखर्कमा ४ सय ८१ को आँखाको जाँच गरिएको नेपाल संघले जनाएको छ । 

आँखा उपचार शिविरमा डा. टी छिरिङवाङ्चुङ भुटिया लगायतका १० स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा प्रदान गरेका सचिव कसजूले बताए । आँखाका बिरामीका लागि जिल्लाको तीन ठाउँमा प्राथमिक उपचार भए पनि शल्यक्रिया भने हुन सकेको थिएन ।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts