नर्स नियुक्तिमा ठेकेदारी प्रथा

What's This?


Download our app to get more features

काठमाडौं, १२ चैत । सरकारले अस्पतालहरूलाई भोलेन्टियर नर्स नराख्न निर्देशन दिए पनि राजधानीसहित देशका केही प्रमुख शहरका अस्पतालले नर्सहरूको नियुक्ति समेत ठेकेदारी प्रथाबाट गर्दै आएका छन् । यसरी नियुक्त गरिएका नर्सहरू अस्पतालका कर्मचारी नभइ कुनै अमुक कम्पनीको कर्मचारीका रुपमा रहन्छन् । 

नर्सिङ क्षेत्र एक मर्यादित र पूर्ण जिम्मेवार पेशा हो । यसलाई प्राविधिक ज्ञानका साथै संवेदनशील पेशाका रुपमा पनि लिइन्छ । तर यसरी ठेकेदारी प्रथामा नर्स नियुक्त गर्दा नर्सिङ पेशाको मर्यादा समेत गुम्ने खतरा छ । 
पछिल्लो समय नर्सलाई कुनै कम्पनीले ठेक्कादारी प्रथा जस्तै हायरमा लिएर काममा लगाउने चलन बढेको छ । 

राजधानीका केही मेडिकल कलेज लगायत चितवनको कलेज अफ मेडिकल साइन्समा नर्सलाई कम्पनीले ‘हायर’मा लिएर अस्पतालमा काम लगाएको पाइएको छ । प्रथम पक्षका रुपमा कम्पनी र द्धितीय पक्षका रुपमा नर्सबीच सम्झौता पत्रमा हस्ताक्षर गरेर अस्पतालमा नर्सलाई खटाइदै आएको पाइएको छ । 

यसरी नियुक्ति गरिन्छ नर्स
नेपाल हेल्थ प्रोफेशनल रिक्रुटमेन्ट कम्पनी प्रालीले केही महिना अघि चितवन मेडिकल साइन्सेस शिक्षण अस्पतालमा नर्सहरूको आवश्यकता रहेको भन्दै विज्ञापन गरेको थियो । 
कम्पनीले अस्पताल प्रशासनसँग सम्झौता गरेर नर्स हायर गर्ने गरिन्छ र नर्सलाई कम्पनीकै नियमअनुसार अस्पतालमा काममा लगाइएको छ । 

कुनै कम्पनीमा ‘सेक्युरिटी गार्ड’ नियुक्त गरेझै ती नर्सलाई सो कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाइन्छ र कम्पनीकै नियमअनुसार एक बर्षका लागि करार नियुक्त गरिन्छ ।  नर्सले काम गर्ने अवधि भने कम्पनी र अस्पतालसँग भएको सम्झौता अवधिसम्म मात्रै हुने व्यवस्था छ । शर्तमा कम्पनीले तोके अनुरुप मात्रै नर्सले काम गर्नुपर्ने प्रावधान राखिएको छ । 

सम्झौता अनुसार नर्स अस्पतालको कर्मचारी हुने छैनन् भने नर्समाथि अस्पताल प्रशासनको कर्मचारी विनियमावली समेत लागू हुने छैन् ।

सम्झौता अनुसार नियुक्त भएको पहिलो तीन महिना परीक्षणकालमा रहने छ । परीक्षणकालमा ५ हजार खाजा खर्च मात्रै उपलब्ध गराउने व्यवस्था छ । सुरुको तीनमहिना नर्सको तलब पाँच हजार मात्रै हुने सम्झौतामा उल्लेख छ । 

परीक्षण काल सम्पन्न भइ स्टाफ नर्सका रुपमा नियुक्त हुनेलाई बेसिक तलब ६ हजार २ सय, महंगी भत्ता ३ हजार पाँच सय, संचयकोष ६ सय २०, उपदान थप ५ सय १६, प्राविधिक भत्ता १ हजार, खाजा भत्ता ६ सय, पोशाक भत्ता ७ सय गरी कूल १३ हजार १ सय ३६ रुपैयाँ उपलब्ध गराइएको छ । 

एक बर्ष भन्दा बढी काम गर्ने नर्सलाई १ महिनाको बेसिक तलब बराबर अर्थात ६ हजार २ सय बराबर दशैं खर्च उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । साथै बार्षिक सार्वजनिक बिदा तथा साप्ताहिक बिदामा कार्य गरेको पारिश्रमिक पोशाक भत्ता सम्बन्धमा अन्य भत्तामा समावेश भइ सकेकोले थप माग गर्ने छैन् भनि सम्झौतामा हस्ताक्षर गराइएको छ । कुल रकममा नेपाल सरकारको नियमअनुसार कर काटिने उल्लेख छ । 

श्रम ऐन अनुसार भन्दै बेसिक तलबको १० प्रतिशत र ८.३३ प्रतिशत उपदान पाउने नियम छ । नेपाल सरकारले श्रमिकको बेसिक तलब बृद्धि गरेमा मात्रै कार्यरत नर्सको तलबभत्ता बढ्ने उल्लेख छ ।  २० दिन घर बिदा र १२ दिन भइपरी आउने बिदाका साथै अन्य बिदा कम्पनीको नियमअनुसार हुने उल्लेख छ । बिदा नर्सको अधिकार नभइ सुविधाको रुपमा रहने उल्लेख छ ।

शर्तमा उल्लेख छ, ‘नर्सले कम्पनीको नीतिनियम बमोजिम अनुशासनको परिधिभित्र रही ड्युटी गर्नुपर्ने छ । करार अवधिभर कानुन विपरित बन्द हड्ताल जस्ता कार्य गर्न पाउने छैन् र कोही कसैलाई उक्साहट गरी संस्थामा अशान्ति फैलाएमा त्यस्तो व्यक्तिलाई निस्काशन गर्न सकिनेछ । 

 

अस्पतालमा क्षति पु¥याए नर्सबाटै क्षतिपुर्ति
नर्सले लापर्वाही र हेलचक्राइबाट नर्सिङ सेवा लिने संस्था कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा चोरी तथा कुनै दुर्घटना भएको अनुसन्धानबाट प्रमाणित भएका द्धितीय पक्ष अर्थात नर्सले क्षतिको जिम्मेवारी बहन गर्नुपर्नेछ । 

नर्सले आफू कार्यरत स्थान, संस्था र यस कम्पनीमा आँच पुर्याउने गरि कुनै किसिमको कार्य भएमा त्यस्तो कार्यलाई तुरुन्त रोक्न चेतावनी दिइनेछ । चेतावनी पश्चात पनि उक्त कार्य पटक पटक दोहोरिएमा कम्पनी त्यस्तो व्यक्तीलाई निष्काशन गर्न बाध्य हुनेछ । 

कम्पनीको स्वीकृति बेगर ३ पटकसम्म अनुपस्थित भएमा र प्रथम पक्षको विनियममा उल्लेख भए विपरीत कार्य भएमा तलब कट्टा गरि सेवाबाट निष्काशन गर्ने सम्झौतामा लेखिएको छ । कुनै कारणबश नर्सले कम्पनी छोड्न चाहेमा एक महिना अगावै लिखितरुपमा पूर्व जानकारी गराएको हुनुपर्नेछ । यसरी पूर्व जानकारी नगराई छाडेको अवस्थामा सो महिनाको पारिश्रमिक उपलब्ध गराउन बाध्य हुनेछैन् । 

नियुक्ती पत्रमा प्रथम पक्षका तर्फबाट कम्पनीको निर्देशक रहेका हिमनाथ घिमिरेको हस्ताक्षर र द्धितीय पक्षका तर्फबाट नर्सको औठा छाप गराइन्छ । नाम उल्लेख नगर्ने शर्तमा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालकाकी एक नर्सले अस्पताल प्रशासनले कम्पनीलाई नर्स नियुक्ती गर्न लगाएर नर्सिङ पेशालाई ठेक्केदारी प्रथा अपनाएर बदनाम गर्न खोजेको आरोप लगाइन् । 

अस्पतालमा नर्सको रेसियो समेत नमिलेको भन्दै धेरै बिरामीलाई एक जना नर्सले हेर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । नयाँ नर्सलाई न्यून तलबमा काम लगाउन कम्पनीलाई अस्पतालले ठेक्का दिने गरेको उनले बताइन् । करारमा नियुक्त हुँदै आएका नर्सलाई समेत कम्पनीको सम्झौता अनुुसार नियुक्त गराउने बाध्यकारी नीति ल्याएको उनले बताइन् । उनले भनिन् ‘पाँच सात बर्ष काम गरेको स्टाफ पनि नयाँको जस्तै प्रक्रियामा जानुपर्छ

। नर्सिड भनेको त ‘प्रोफेसशनल जब’ हो । लेम्यान जस्तै काम लगाउने प्रयास भइरहेको छ । घरमा राखेको कामदारलाई पनि न्यूनतम पन्ध्र हजार दिनुपर्छ । नर्सिङ पेशा सेक्युरिटी गार्ड, झाडु लगाउने जस्तो त होइन् नि ।’ 
यसरी नियुक्त भएका नर्सलाई अस्पतालले पनि विभेद गर्ने गरेको छ । ‘तिमीहरु एनएचसीआरसीको स्टाफ हौं । तिमीहरूको विषयमा हामीले केही पनि गर्न मिल्दैन भनेर अस्पताल मेट्रोनले भन्ने गरेको ।’ उनले भनिन् ।

 

नर्सिङ प्रमुख सीता पराजुली पनि कम्पनीकै पक्षमा !
अस्पतालमा नर्सिङ प्रमुखको रुपमा कार्यरत सीता पराजुली भने अस्पतातले नर्स व्यवस्थापनको लागि कम्पनीलाई जिम्मा दिएको बताउँछिन् । कम्पनीलाई जिम्मा दिएपछि सोर्सफोर्सबाट नर्स नियुक्त हुने प्रथा रोकिएको उनको भनाइ छ । 

स्टाफ नर्सको कार्यअवधि छोटो समय हुने र केही समयपछि नै स्नातक पढ्न जाने भएका कारण नर्स नियुक्तीमा समस्या रहेको पराजुलीले जानकारी दिइन् । केही बर्ष काम गरेपछि नर्सहरू बिएन र बिएस्सी पढ्न लाग्छन् । र कोही त अध्ययनका लागि विदेश जाने कारण अस्पतालमा स्थायी रुपमा काम गर्ने नर्स नभएको मेट्रोन पराजुलीले बताइन् । 

अस्पतालले कम्पनीसँग सम्झौता हुनुअघि आठ, दश हजारमा नर्सलाई काममा लगाउने गरेको तर अहिले कम्पनीले जिम्मा लिएपछि नर्सको तलब न्यूनतम १३ हजार भएको मेट्रोन पराजुलीको दाबी छ ।  

कम्पनीका निर्देशक हेम घिमिरे के भन्छन् ? 
कम्पनीका निर्देशक हेम घिमिरेले नर्सलाई श्रम ऐन अनुसार नै नियुक्ती दिएको दाबी गरे । उनले भने ‘नर्सको पढाई अनुसार हामीले दिन सक्ने तलब, भत्ता सञ्चयकोष, उपदान सबै दिएका छौं । हामीले कसैलाई करकाप गरेका छैनौं । विज्ञापन आव्हान गर्छौं र नियुक्तीपत्रमा राजी भएपछि मात्रै रोजगार दिन्छौं ।’

करिब ६० जना नर्सलाई कम्पनीको नियमअनुसार अस्पतालमा नियुक्त गरेका छौं । ‘त्यसमा उनीहरु समेत खुशी छन् ।’ उनले भने । अस्पतालसँग पहिलोपटक सम्झौता गरेर काम सुरु गरेको चार महिना भइसकेको उनले जानकारी दिए । नर्सलाई दिने तलब हामीले बैंक खातामा राखिदिने गरेका उनको भनाइ छ । 

ठेक्केदारी प्रथा बन्द गराउँछौं : नर्सिङ संघ
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवनमा नर्सको श्रमशोषण भइरहेको भन्दै नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले त्यसको विरोध गर्ने जनाइन् । केही महिनाअघि नेपाल सरकार र नर्सिङ संघबीच भएको ११ बुँदे सहमति अनुसार निजी अस्पतालमा काम गर्ने नर्सलाई पनि सरकारी अस्पतालमा काम गर्ने नर्स सरह तलब स्केल हुने सम्झौता भएको संघकी अध्यक्ष पोखरेलले बताइन् । 

उनले भनिन् कहिँ नभएको नियम कलेज अफ साइन्सेजमा लागू गरिएको छ । संसारमै नभएको ठेक्केदारी प्रथा अनुरुप नर्सलाई नियुक्त गर्ने गलत अभ्यास चितवनमा भएको भन्दै त्यसप्रति उनले विरोध जनाइन् । 
उनले भनिन् ‘१३ हजारमा नर्सलाई काममा लगाउन पाइँदैन ।’ अस्पतालले ठेकेदारी प्रथा बन्द नगरे आन्दोलनमा जाने संघकी अध्यक्ष पोखरेलले चेतावनी दिइन् ।
 

Last modified on 2018-03-27 07:05:21

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

5 Comments

  1. cms le volenter garauda pani 3000/ leko thiyo re . 8000/- staff nurse ko pay scale. thekka ma 13000/- paye ko vayera scale cms le diye ko vanda ramro chha , Nurse proffession lai thekka marfat chhalaye ko ma vane dhukkha lage ko chha. yo ramro kadapi hoina.

  2. Seven eight years job garekai ho salary vane jastako testai

  3. किशोर गुरुङ on Tue, Mar 27 2018 08:19 PM

    थुक्क लाज पचेकाहरु, मान्छेको श्रमको दलाली गरेर अरुको आत्मासम्म्मान र श्रम माथि गिद्द्ले सिनु लुछे झै लुछेर खान लाज लागेन?? यस्तो ब्यावहार गर्नेले भोलि आफ्नै बाउआमालाइ पनि पैसाको लागि बेच्न बेरछैन... दलाल नीचहरु।

  4. Yo ta ati bhayo hepneko pani sima hunchha. Yasma NAN le paila chalnu parchha

  5. शारदा घिमिरेon Tue, Mar 27 2018 11:35 AM

    Nurse लाई सोसण गर्नेमा नर्सनै प्रमुख छन अरुको के कुरा गर्नु संकीर्ण प्रवृत्तिबाट बाट महिलानै माथी उठ्न जरुरी छ


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts