ओएसिस मेडिकल कलेज, नर्सिङ काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालयबीच असमझदारी

त्रिपक्षीय झगडाको मारमा नर्सिङका विद्यार्थी 

What's This?


Download our app to get more features

काठमाडौं, १३ चैत । ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर, नेपाल नर्सिङ काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालयबीचको असमझदारीको चेपुवामा ओसिस कलेजबाट नर्सिङ पूरा गरेका विद्यार्थी परेका छन् । सो कलजेबाट चार बर्षे बिएस्सी अध्ययनपश्चात पनि लाइसेन्स परीक्षा दिन नपाएपछि नर्सिङका विद्यार्थीहरू निराश र अन्योलमा परेका हुन् । 

ओएसिस कलेजबाट शोभा अर्याल र तनुजा श्रेष्ठले यसै बर्ष नर्सिङ अध्ययन पुरा गरेका हुन् । अध्ययन सके पनि उनीहरूलाई नर्सिङ काउन्सिलले नर्सिङ लाइसेन्स परीक्षामा भने सहभागी गराएन । ओएसिस कलेज काउन्सिलको परामर्शबिनै सञ्चालन भएको भन्दै अर्याल र तनुजालाई परीक्षाबाट बञ्चित गरेको हो । अर्याल र श्रेष्ठले परीक्षा दिन नपाएपछि हाल सो कलेजमा अध्ययनरत करिब एक सय नर्सिङका विद्यार्थी समेत चिन्तित बनेका छन् । 

शोभा र तनुजा लाइसेन्स परीक्षामा सहभागी हुने आशामा कहिले पूर्वाञ्चल विश्वविद्यालय त कहिले नर्सिङ काउन्सिल धाइरहेका छन् । तर, उनीहरूको सुनुवाइ कतै भएको छैन् । कलेज प्रशासन समेत सम्पर्कमा आउन नचाहेको उनीहरूको दुखोसो छ । करिब एक महिनादेखि न्याय पाउने आसमा उनीहरू काठमाडौंमा भौतारिरहेका छन् । 

विद्यार्थीलाई गुमराहमा राखेर नर्सिङ अध्यापन
कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट स्वीकृति लिएर बिएस्सी र बिएन नर्सिङ कार्यक्रम शुरू गरेको थियो । काउन्सिलको परामर्श पछि लिनेगरी विश्वविद्यालयले अस्थायी स्वीकृति प्रदान गरेको थियो । 
अस्थायी स्वीकृतिकै भरमा कलेजले बिद्यार्थीलाई गुमराहमा राखेर बिएस्सी र बिएन नर्स कार्यक्रम सञ्चालन गर्दै आएको थियो । 

कलेजले आवश्यक मापदण्ड समेत पूरा नगरी नर्सिङ कार्यक्रम सञ्चालन गरेको देखिन्छ । कलेजले न्यूनतम विद्यार्थी संख्या समेत नराखेर केबल दुई जनालाई मात्र राखेर ०७० सालदेखि पढाई सुचारु गदै आइरहेको थियो । 
काउन्सिलको परामर्श बिना नै कलेजले पूर्वाञ्चल विश्वविद्यालयको स्वीकृति लिएर पढाई र परीक्षा दिलाउदै आएको थियो । २ भदौ ०७१ म काउन्सिलको टोलीले कलेजको अनुगमन गर्दा कलेजले मापदण्ड पूरा नपुगेको भन्दै परामर्श रोकेको थियो । कोर्ष सुरु भएको एक बर्षपछि मात्रै काउन्सिलले अनुगमन गर्दा बिएस्सी पढिरहेका विद्यार्थी अन्योलमा परेका हुन् । 

काउन्सिलले ७ असोज ०७३ मा गोरखापत्रमा सूचना जारी गरेर ओएसिस कलेजलाई भर्ना रोक्न चेतावनी दिएको थियो । 
काउन्सिलको परामर्श नलिएको थाहा पाउदा पाउदै पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थी भर्नाको सूचना निकालेर काउन्सिललाई अटेर गरेको देखिन्छ । काउन्सिलको पटकपटकको सूचनालाई बेवास्ता गरेर पूर्वाञ्चल विश्वविद्यालयले सो कलेजमा विद्यार्थी भर्ना लिनुले पूर्वाञ्चल विश्वविद्यालय र कलेज सञ्चालकको नियतमाथि नै शंका उब्जेको छ । 


अटेरी नर्सिङ काउन्सिल
नर्सिङ काउन्सिलले लाइसेन्स परीक्षामा संलग्न नगराउने देखिएपछि विद्यार्थी शोभा अर्यालले पाटन उच्च अदालतमा लाइसेन्स परीक्षा दिन पाउँ भन्दै मुद्दा दर्ता गरेकी थिइन् । 

२३ फागुनमा ०७४ उच्च अदालत पाटनका न्यायाधीश रमेशकुमार पोखरेलको एकल इजलासले काउन्सिललाई विद्यार्थीहरूको लाइसेन्स परीक्षाको प्रवेश पत्र दिन उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो ।
अदालतको आदेश पाएपछि लाइसेन्स परीक्षा दिन पाउनुपर्ने भन्दै काउन्सिल पुगेका विद्यार्थीलाई काउन्सिलले लाइसेन्स परीक्षामा सहभागी गराउन नसक्ने निर्णय सुनाएको थियो । 
काउन्सिलको यो निर्णयले कानुनी राज्यलाई समेत अवहेलना गरेको र अदालतको आदेशलाई अटेर गरेको प्रष्ट छ ।  

काउन्सिलको यस किसिमको बोल्ड निर्णयले सो कलेजका नर्सिङ विद्यार्थी अलपत्र परेका हुन् । काउन्सिलले अदालतको आदेश समेत नमान्दा विद्यार्थीको आशाभरोशा टुटेको छ ।

कसले लिन्छ नर्सिङ विद्यार्थीको जिम्मा ?
काउन्सिलको लाइसेन्स परीक्षामा सहभागी हुन नपाएपछि छात्राद्वय शोभा र तनुजाको चार बर्षको मेहनतमा बालुवामा पानी भएको छ ।

बिना लाइसेन्स उनीहरू नर्सका रूपमा काम गर्न पाउँदैनन् । पुनः कोर्ष दोहोर्याएर पढ्न सम्भव छैन । विद्यार्थीले लाइसेन्स परीक्षा दिन नपाएपछि कलेज सञ्चालकहरू सम्पर्कविहिन बनेका छन् । 
काउन्सिल भन्छ ओएसिस कलेज काउन्सिलको सूचीमै छैन् । परामर्शबिना  सञ्चालन भएकाले कलेजको सम्पूर्ण जिम्मा पूर्वाञ्चल विश्वविद्यालयले लिनुपर्ने काउन्सिलको भनाइ छ । 
परीक्षा दिन नपाएर कलेजका विद्यार्थीले आवाज उठाएपछि विश्वविद्यालयले उपकुलपति दिप्ती सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय छानबीन टोली गठन गरेको छ ।  
विद्यार्थीलाई गुमराहमा राखेर कलेज सञ्चालन गरेको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनले कलेजमा तालाबन्दी गरेको छ । 

 

Last modified on 2018-03-28 08:49:51

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts