१० प्रतिशत निःशुल्क सेवाः स्वास्थ्य संस्थाले भेटेनन् बिरामी



Download our app to get more features

काठमाडौं, १४ चैत्र । सरकारले निकै तामझामका साथ सुरु गरेको १० प्रतिशत निःशुल्क स्वास्थ्य उपचार सेवा प्रभावकारी रुपमा अगाडी बढ्न सकेको छैन । सरकारबाट उल्लेख्य मात्रामा सेवा लिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुलाई १० प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध गराउन दिएको निर्देशन अपेक्षा अनुसार पुरा हुन सकेन । 

गत वर्ष १ पुष देखि लागु हुनेगरी गरिव, असहाय, ज्येष्ठ नागरिक, विपन्न र अपाङ्गगता भएकालाई १० प्रतिशत निःशुल्क उपचार सेवा दिने अनिवार्य प्रावधान गरिए पनि निजी स्वास्थ्य संस्थाले त्यस्ता बिरामी फेला पार्न नसक्दा १० प्रतिशत निःशुल्क उपचार सेवा प्रभावहिन बन्न पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले सेवा प्रभावकारी नभएको बताए । ‘मन्त्रालयले प्रभावकारी रुपमा सेवा संचालन होस भनेर, १० प्रतिशत सेवा नदिएकालाई उपकरण आयातमा रोक लगाउन थाल्यो श्रेष्ठले भने, ‘तर, त्यति गर्दा पनि कुनै निजी अस्पतालबाट सोचेजस्तो रिपोर्ट आउन सकेन ।’

गत वर्ष पुस १ गते ललितपुर गोदाबारी निवासी ४५ वर्षीय कृष्ण विसुंखेले पहिलो पटक सेवा लिएका थिए । तर, पछिल्ला दिनमा अस्पतालले बिरामी नआएको भन्दै मन्त्रालयमा रिपोर्ट बुझाउने गरेका छन् । मन्त्रालयले निजी स्वास्थ्य सस्थाले गरिव, असहाय, ज्येष्ठ नागरिक, विपन्न, र अपाङ्गगता भएका बिरामी नपाउनु आश्चर्य मानेको छ । 

शुशासन ऐन २०६४ को दफा ४५ अनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० बमोजिम सबै स्वास्थ्य संस्थाहरुले कुल शैयाको १० प्रतिशत शैयामा विपन्न, बेवारिसे, असहाय बिरामीलाई निःशुल्क उपचार प्रदान गर्नुपर्ने व्यवस्था रहेको छ । 

दश प्रतिशत निःशुल्क सेवा कसले पाउने ?
स्वास्थ्य मन्त्रालयले दश प्रतिशत निःशुल्क सेवाका बारेमा तयार पारेको नीतिगत व्यवस्था अनुसार विपन्न, वेवारिसे, असाहाय, ज्येष्ठ नागरिक, एकल महिला, र अपाङ्गता भएका व्यक्तिहरुले सेवा पाउने छन् । 

कसले सिफारिस गर्छ
निःशुल्क सेवा पाउनका लागी सेवा पाउने व्यक्ति उपयुक्त हो भनेर सम्बन्धित गाउँपालिका, नगरपालिका, जिल्ला प्रशासन कार्यलय, जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य मन्त्रालय र काठमाडौंको हकमा वीर अस्पतालले सिफारिस गर्छ  । 

के–के पर्छन् निःशुल्क सेवामा ?
स्वास्थ्य मन्त्रालयले विपन्न वर्गले तिर्न नसक्ने सेवामा भने निःशुल्कको व्यवस्था गरेको छैन् । मन्त्रालयले सस्तो र सामान्य सेवामा मात्रै निःशुल्कको व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालयले चिकित्सक परामर्श शुल्क, प्रयोगशाला शुल्क, वेड शुल्क, नर्सिङ्ग शुल्क, परिक्षण शुल्क र अक्सिजन मात्रै निःशुल्क गरेको छ । 

कहाँ पाईन्छ सेवा 
दश प्रतिशत निःशुल्क सेवा शिक्षण अस्पताल, नर्सिङ होम, सहकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी अस्पताल, सामूदायिक अस्पतालबाट लिन सकिने छ । 

Last modified on 2018-03-29 16:19:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts