अप्रिल महिनाभर अटिजम सचेतना कार्यक्रम सञ्चालन हुने

६८ जना शिशुमध्ये एकजनालाई अटिजम



Download our app to get more features

काठमाण्डौ । ११ औं विश्व अटिजम जनचेतना दिवस नेपालमा महिनाव्यापी कार्यक्रमहरु गरेर मनाउन लागिएको छ । 

सन् २००८ यता हरेक अप्रिल २ तारिखका दिनमा विश्वभर अटिजम दिवस मनाइन्छ । अटिजम केयर नेपाल सोसाइटीले शनिबार पत्रकार सम्मेलन गर्दै अटिजम दिवसमा आयोजना गरिने कार्यक्रमहरुको बारेमा जानकारी दिएको छ । संस्थाले १० वर्षदेखि अटिजम भएकाहरुको पहिचान र शशक्तिकरणमा काम गरिरहेको छ । पत्रकार सम्मेलनमा बोल्दै संस्थाकी अध्यक्ष डा. सुनिता मलेकुले अटिजमको पहिचान र सचेतना विस्तारका लागि महिनाव्यापी कार्यक्रम गर्ने बताइन् ।

अटिजम एउटा मस्तिश्कको विशेष अवस्था हो जसले व्यक्तिको संचार गर्न सक्ने क्षमता र सामाजिक सम्बन्धहरु स्थापित गर्न बाधा पुर्याउँदछ । अटिजम हरेक ६८ जना जन्मेका शिशुहरुमध्ये १ जना शिशुमा हुने विश्वव्यापी तथ्यांक रहेको छ । अटिजम केटीमा भन्दा केटामा हुने दर पाँच गुणाले बढि रहेको छ । अटिजमलाई संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन लगायतले ग्लोबल पब्लिक हेल्थ क्राइसिस भनेको छ । अटिजम रोग लाग्नुको कारण र कुनै ठोस उपचार नहुनेभएकाले यसलाई संकटजनक अवस्था भनिएको छ । 

नेपालको अवस्था 
अटिजमलाई लिएर नेपालमा हालसम्म कुनै पनि आधिकारिक अध्ययन भएको छैन । तर, डब्लुएचओको आंकडालाई आधार मान्ने हो भने नेपालमा झण्डै तीनलाख व्यक्तिमा अटिजम भएको अनुमान गरिएको छ । नेपालमा अटिजम केयर सोसाइटी भन्ने गैरसरकारी संस्थाले मात्र अटिजम भएकाहरुको पहिचान तथा पनुस्थापनामा काम गरिरहेको छ । जसले गर्दा अझै लाखौं बालबच्चा र वयस्कमा भएको अटिजम पहिचान हुन सकेको छैन । 
अटिजमलाई नेपालमा राज्यले भर्खरैमात्र पहिचना गरेको छ । पछिल्लो अपांग ऐन र निर्माणाधिन अपांगता सम्बन्धी ऐनमा अटिजमलाई विकासात्मक अपांगता भनेर उल्लेख गरिएको छ । 

के हो अटिजम ? 
अटिजम बच्चाले जन्मजात लिएर आउने एकप्रकारको अपांगता हो । यसलाई मश्तिष्क विकासको विकार (न्यूरो डेभलेपमेन्ट डिसअडर( भनिन्छ । यसले मश्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्दछ । अटिजम प्राय जसो जन्मेको ३ वर्षभित्र प्रष्ट रुपमा देखिन्छ र यो जीवनभर रहिरहन्छ । अटिजमका लक्षणहरु व्यापक रुपमा फरकफरक किसिमका हुन्छन् । तर मुल समस्याको रुपमा ३ वटा पक्षमा जटिल समस्याहरु देखिन्छन् । 
१. सञ्चारलाई बुझ्न र प्रयोग गर्न कठिनाई
२. समाजिक सिप बुझ्न र प्रयोग गर्न कठिनाई 
३. दोहोर्याएर गर्ने व्यवहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नहुनु । 
यी समस्याहरु अरु अपांगतामा भने नपाइने हुन्छ र यो अटिजमको विशेष प्रकार हो । अटिजमका लक्षणहरु व्यक्तिव्यक्ति व्यापक रुपमा भिन्ने भएको कारणले यसलाई स्पेक्ट्रम विकारको रुपमा पनि लिइन्छ । अटिजम भएका व्यक्तिहरुलाई साधारण सञ्चार र सामाजिक कठिनाई देखि लिएर जीवनयापन सदा अरुको सहायतामा जीउनुपर्ने अवस्था हुन्छ । 

अटिजमको साधारण लक्षण
आँखामा आँखा नजुधाउने, एक्लै बस्न रुचाउने, बोलेर आफुलाई चाहिने कुराहरु व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहोर्याउने र फरक ढंगबाट स्नायुजन्य प्रतिक्रियाहरु देखाउने । 
 

कारण
धेरैजसोले अटिजम हुनुको कारण वंशाणुगतलाई नै आधार मानेपनि अझसम्म अटिजम हुनुको मुख्य कारण पत्ता लाग्न सकेको छैन । 

उपचारविधि 
अटिजम भएको व्यक्तिको लागि सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरुमा रहेको कमजोर पक्षलाई अर्थात सञ्चार र समाजिक बुझाईलाई ध्यानमा राखि व्यवहारिक सिद्धान्तको आधारमा शिक्षा प्रदान गर्ने हो । उनीहरुलाई व्यवहार, सञ्चारसम्बन्धी थेरापीहरु दिएर उपचार गरिन्छ । त्यसले उनीहरुमा केही परिवर्तन ल्याउन सकिने अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकूले बताइन् । उनले अटिजमसम्बन्धी सचेतना अभिवृद्धि गर्दै सबैलाई उपचारको पहुँचमा ल्याउन संस्था क्रियाशिल भएको बताइन् ।   
 

Last modified on 2018-04-01 07:52:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts