एड्भान्स इन्डोस्कोपिक सर्जरी शुरु



Download our app to get more features

रत्ननगर (चितवन), १७ चैत । चितवन भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले नाक, कान र घाँटी (इएनटी)का बिरामीको शल्यक्रियामा नयाँ प्रविधि भित्र्याइएको छ । 

अस्पतालका इएनटी विभाग प्रमुख डा.जयप्रकाश मैयाँले कलेजले ‘एड्भान्स इन्डोस्कोपिक सर्जरी’ शुरु गरेको जानकारी दिए । 

नेपालमै पहिलो पटक भरतपुर मेडिकल कलेजले उक्त प्रविधि भित्र्याइएको दाबी गर्दै डा मैयाँले यो प्रविधिमार्फत ९८ प्रतिशत शल्यक्रिया सफल हुने दाबी गरे । 

मुख्यगरी इन्डोहोल्डर, स्लाइस इट प्रविधि र कुरकुरे हड्डी काटेर कानको जाली टाल्ने प्रविधि भित्रिएको हो । 

यसअघि एक हातले माइक्रोस्कोप समातेर एक हातले अपरेशन गर्ने गरिएकामा अब भने स्वचालित मेसिनबाटै इन्डोस्कोपिक सर्जरी हुने भएकाले दुई हातले नै शल्यक्रिया गर्न सकिने कलेजका डा. विकास पाण्डेको भनाइ छ । 

यस्तै कानको जाली प्वाल परेका बेला कुरकुरे हड्डी काटेर आवश्यक आकारमा ढाल्न सक्ने प्रविधिकोसमेत प्रयोग गरेर देखाइएको थियो । 

भारतका वरिष्ठ चिकित्सक डा मुबारक खानले पाँच वर्षअघि अविस्कार गरेको उक्त प्रविधि यहाँ पहिलो पटक प्रयोग गरिएको हो । पहिलो पटक नेपाल आएका डा. खान स्वयं शल्यक्रियामा सहभागी ुभएका थिए । यो प्रविधि भारत र युरोपमा भने प्रख्यात रहेको जनाइएको छ । 

बिहीबार र शुक्रबार लाइभ शल्यक्रियाअन्तर्गत पाँच वटा कानको, दुई वटा नाकको र एउटा घाँटीका बिरामीको शल्यक्रिया भएको थियो । बिहीबार चार वटा र शुक्रबार चार वटा शल्यक्रिया भएको अस्पतालका वरिष्ठ बजार तथा जनसम्पर्क प्रबन्धक दुर्गाप्रसाद न्यौपानेले जानकारी दिए । 

उक्त प्रविधिमार्फत अस्पतालले ‘लाइभ अपरेशन’ गरेको थियो । शल्यक्रिया कक्षमा चिकित्सकले गरेको शल्यक्रिया हलमा बसेर पत्रकार, चिकित्सक तथा अन्य व्यक्तिले प्रत्यक्षरुपमा अवलोकन गर्ने व्यवस्था गरिएको थियो । 

हलमा बसेका चिकित्सकलाई लागेको जिज्ञासा शल्यक्रिया गर्दागर्दै डा खानले जवाफसमेत दिएका थिए । शल्यक्रियामा डा खानाको नेतृत्वमा भरतपुर मेडिकल कलेज इएनटी विभाग प्रमुख डा.जयप्रकाश मैयाँ, डा अपार पोखरेल, डा शुप्रभात श्रेष्ठ, डा विकास पाण्डे र डा छायाँ भण्डारी सहभागी थिए ।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts