खानेपानी मन्त्री मगरको पहलमा महिलाको पाठेघर तथा स्तन क्यान्सरको निशुल्क जाँच



Download our app to get more features

कञ्चनपुर, २० चैत । कञ्चनपुरको बेलौरीमा सोमबार महिलाको पाठेघर तथा स्तन क्यान्सरको निशुल्क चेकजाँच गरिएको छ । क्यान्सरकै कारणबाट निधन भएकी प्रचण्ड पुत्री ज्ञानु दाहाल र आफ्ना दिवंगत पति एवं प्रचण्ड पुत्र प्रकाश दाहालको सम्झनामा कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले भरतपुर क्यान्सर अस्पतालको सहयोगमा क्यान्सर रोगको निःशुल्क चेकजाँच शिबिर संचालन गरेकी हुन्  ।

क्रान्तिकारी महिला सञ्जाल बेलौरीको आयोजनामा सोमबार बेलौरीको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ५२ महिलाको चेकजाँच गरिएको छ । जस अन्तर्गत १ सय २ जनामा पाठेघरमा संक्रमण भएको, १२ जनामा पाठेघरको मुखमा मासु पलाएको, १७ जनामा आङ खस्ने समस्या देखिएको र ३ जनामा क्यान्सरको आशंका गरिएको छ भने १० जनामा क्यान्सर पूर्वको अवस्था देखिएको बताइएको छ । त्यस्तै, १२ जना महिलाहरुको स्तनमा क्यान्सर भएको आशंका गरिएको क्यान्सर रोकथाम विभागका प्रमुख किशोर प्रधानाङ्गले बताए । विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका क्यान्सर रोकथाम विभागका प्रमुख किशोर प्रधानाङ्गको नेतृत्वमा ७ सदस्यीय टोली शिविरमा खटिएको छ । 

अभियान अन्तरगत महिलाहरुको पाठेघर र स्तनको क्यान्सरको विशेष जाँच संगै उपचारको प्रबन्ध गरिने जनाइएको छ । गाउँमै पहिलो पटक भएको स्वास्थ्य शिविरमा निशुल्क क्यान्सर जाँच गराउन पाउँदा स्थानीय महिलाहरु हर्षित भएका छन् । आइतबार पुनर्वास नगरपालिकामा सञ्चालित शिविरमा ७ सय भन्दा बढी महिलाहरुको चेकजाँच गरिएको थियो । मंगलबार बेल्डाँडीमा उक्त शिविर सञ्चालन गरिने छ ।
 

Last modified on 2018-04-03 14:45:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts