स्वास्थ्यकर्मीले एप्रोनको सम्मान गर्नु पर्दैन ?



Download our app to get more features

जीवन र मृत्युको बीचधारमा बसेर काम गर्ने व्यक्ति हुन स्वास्थ्यकर्मी । स्वास्थ्यकर्मीले जिम्मेवारीबाट अलिकति मात्रै तलमाथी गर्दा एउटा व्यक्तिले जीवन नै गुमाउने वा पाउने हुन्छ । यसकारण स्वास्थ्यकर्मीका हरेक क्रियाकलाप मर्यादित, अनुशासित हुन जरुरी छ ।   

नेपाल जस्तो विकासोन्मुख देशमा स्वास्थ्यकर्मी अझै बढी जिम्मेवारी हुनुपर्ने अवस्था छ । यस्ता देशमा एउटै चिकित्सकले हजारौं बिरामीलाई सेवा दिनुपर्ने हुँदा उनीहरूप्रति जिम्मेवारी बढ्नु स्वभाविक पनि हो । जसले स्वास्थ्यकर्मीलाई अस्पताल, क्लिनक वा अन्य स्वास्थ्य संस्थामा दिनरात नखटिनुपर्ने बाध्यता छ । तर पनि बाध्यता छ भन्दैमा आफ्ना जिम्मेवारी र दायित्वबाट उनीहरू पन्छिन मिल्दैन ।

बिरामी सेवा वा ल्याबमा काम गर्दा सम्पूर्ण स्वास्थ्यकर्मीले सेतो कोट (एप्रोन)  लगाउने प्रचलन छ । यो कोटले स्वास्थ्यकर्मीका लािग यूनिफर्मकै काम गरेको हुन्छ । साथै उनीहरूले घरबाट लगाएर आएको लुगालाई अस्पतालको संक्रमणबाट पनि बचाउँछ । यो पोशाक विशेषगरी अस्पताल परिसरभित्रका लागि मात्रै हो ।

तर, धेरैजसो स्वास्थ्यकर्मीले यसको प्रयोग खाना खाने ठाउँ, अस्पतालबाहिरका रेष्टुरेन्टमा समेत गरिरहेका हुन्छन् । यसो गर्दा एक त अस्पतालमा भएका बिरामीको संक्रमण समेत बाहिर सर्ने हुनसक्छ । किनकी उपचारका क्रममा बिरामीमा भएका किटाणु कोट आएको हुनसक्छ । व्यस्तताका कारण स्वाथ्यकर्मीले कोट फुकाल्ने र अर्को लुगा लगाउन समय नपाएको हुनसक्छ । तर समय अभाव र झन्झट हुन्छन भन्दैमा रोग फैलाउन मिल्दैन । 

कतिपय ठाउँमा त अस्पतालको एप्रोन लगाएर तरकारी किनरहेका दृश्य समेत देख्न सकिन्छ । यसले पेशाप्रतिको जिम्मेवारीलाई नै गिज्जाइरहेको अनुभूति हुन्छ । एप्रोन लगाएर बाहिर हिडिरहेका मेडिकल तथा नर्सिङका विद्यार्थीलाई समेत यो विषयमा ज्ञान हुनु आवश्यक छ । उनीहरू पनि एप्रोन लगाएरै शहरबजारमा निर्धक्क घुमिरहेका हुन्छन् । एप्रोन लगाएर हिड्ने भनेको अस्पताल हाताभित्र त्यो पनि बिरामीको उपचारका क्रममा मात्रै हो । 

हामीले आफ्नो पेशागत मर्यादाको ख्याल गर्दै उचित अवस्थामा मात्र सेतो कोट तथा एप्रोनको प्रयोग गर्न सकेमा यसको सकारात्मक सन्देश जानुको साथै रोग संक्रमणबाट पनि जोगाउँछ । 

अस्पताल तथा क्याम्पसले विद्यार्थी, कर्मचारीलाई एप्रोन लगाएर अस्पताल बाहिर खाना, खाजा खान तथा किनमेल गर्न रोक लगाए सबैमा सकारात्मक सन्देश प्रवाह हुने थियो । हामी जे छौं अस्पतालभित्र छौं । आफ्नो पेशा व्यवसाय देखाइरहनु जरुरी हुन्छ जस्तो मलाई लाग्दैन् । एक त हामी एप्रोनसँगै संक्रमण पनि बोकेर हिडिरहेका हुन्छौं अर्को यसले पेशागत असल चरित्र पनि देखाउँदैन् । 

यसर्थ, हामी स्वास्थ्यकर्मीले हाम्रो पोशाकको मान राखौं । पोशाक लगाएर बजार डुल्ने तथा खाजा खान अस्पताल बाहिर रेष्टुरेन्टमा जाँदा जति नै व्यस्त भए पनि पोशाक फुकालेर जाने गरौं ।  सभ्यताको परिचय दिउँ, रोग संक्रमणको जोखिम पनि घटाउँ । 
 

Last modified on 2018-04-05 19:47:04

1 Comments

  1. सान्दर्भिक विषय विशेषगरी नर्सिङ विद्यार्थी तथा अन्य मेडिकल विषयका विद्यार्थीले पालना गर्नु पर्यो✌✌


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts