महिनावारी हुँदा विद्यालय जाँदैनन् किशोरी



Download our app to get more features

बाजुरा, २३ चैत । गौमुल गाउँपालिका–४ मानाकोटको कीर्तिचौर माविमा हाल २ सय ५० छात्रा अध्ययनरत छन् । तर पनि उनीहरु नियमित रुपमा पठनपाठन गर्नबाट बञ्चित हुने गरेका छन् ।

महिनावारीका बेला कहिले काही त विद्यालयमा अध्ययनरत आधा भन्दा बढी छात्रा अनुपस्थित रहन्छन् । महिनावारी भएको बेला पाँच दिनसम्म बाहिर निस्कनु हुँदैन भन्ने मानसिकताले सो विद्यालयका प्रायजसो  २०—३० जना छात्रा अनुपस्थित रहने विद्यालयले जनाएको छ । उनीहरु हिँड्ने बाटो र विद्यालयमा देवताको मन्दिर भएकाले अभिभावकले नै महिनावारी (छाउ) भएका बेला विद्यालय जान रोक लगाउने गरेको कीर्तिचौर माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत नन्दाकुमारी जोशीले बताइन ।

विद्यालय आउजाउ गर्ने बाटोमा देवताका मन्दिर भएका कारण छाउ भएको बेलामा  विद्यालयमा नआउने गरेको उनले बताइन । ‘छाउ भएको बेला देवीदेवता भएको बाटो हिँड्दा देवता रिसाउने भएको भन्दै आमाबुबाले स्कूल जान दिँदैनन्’ जोशीले भनिन् । छाउ भएको बेला विद्यालय नजाँदा पढाइमा समेत बाधा भएको उनले बताइन ।

उनीसँगै आठ कक्षामा पढ्ने मन्देवी जोशी पनि छाउको पाँच दिन विद्यालय नजाने गरेको बताउँछिन् । उनले भनिन्, ‘विद्यालयमा देवताको मन्दिर बनाएको छ । विद्यालय आउने बाटोभरि देवताका मन्दिर छन् । छाउ भएको समयमा हिँड्ने बाटो समेत छैन, अभिभावकले पनि पाँच दिनसम्म रोक लगाउँछन् ।’

छाउ भएको बेला विद्यालयमा जान छात्रामैत्री शौचालय पनि नभएको जोशीको भनाइ रहेको छ । विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा दिसापिसाब गर्नसमेत समस्या हुने जोशीको भनाइ छ । छात्रामैत्री शौचालय बनाउन विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले बेवास्ता गरेको जोशीको गुनासो छ ।

जोशीद्वय जस्तै विद्यालयमा अध्ययन गर्ने २ सय ५० जना छात्राको समस्यामा विद्यालयले ध्यान नदिएको बताउँछिन कक्षा ९ मा अध्ययनरत छात्रा सुनिताकुमारी रोकाया ।
विद्यालयमा छात्रामैत्री शौचालय नहुनु, छाउ भएको बेलामा सेनेटरी प्याडको व्यवस्था नहुनु, विद्यालय परिसरभित्र देवीदेवताका मन्दिर बनाएर राख्नुजस्ता समस्याले गर्दा हरेक महिना पाँच दिन पढाइ छुट्ने रोकायाले बताइन । उनले विद्यालयमा पढ्न आएको बेलामा छाउ भएपछि पढाइ छोडेर विद्यालय नजिकै रहेको खोलैखोला घर जानुपर्ने बाध्यता रहेको बताइन ।

कीर्तिचौर माविका प्रधानाध्यापक डबलबहादुर बोगटीले सो विद्यालयमा २ सय ५० छात्रा अध्ययन गर्दै आएको बताए । तर कहिल्यै पनि सबै २ सय ५० विद्यार्थी विद्यालयमा नआउने स्वीकार गरे । उनले महिनावारी भएको बेला छात्रा विद्यार्थी पढ्न नआउने गरेको बताए ।

विद्यालयमा छात्रामैत्री शौचालय बनाउँदा केही कमीकमजोरीका कारण छात्रा विद्यार्थीलाई समस्या हुने गरेका कारण छात्रा विद्यालयमा कम आउने गरेको प्रधानाध्यापक बोगटीले स्वीकार गरे । उनले शौचालय बनाउँने बेला नै ध्यान नदिएका कारण छात्राले समस्या भोग्नु परेको बताए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर रोकायाले छात्रामैत्री शौचालय नहुँदा केही छात्रा आउने गरेको बताए । उनले छात्रामैत्री शौचालय नहुँदा र शौचालय बनाउने जग्गाको अभावका कारण विद्यार्थीको पढाइमा बाधा हुने गरेको बताए ।

विद्यालयमा दुई वटा शौचालय भए पनि छात्रामैत्री नभएको छात्राहरुको भनाइ छ । विद्यालयमा आएको चर्पी निर्माण योजनाले चर्पी निर्माणका क्रममा झारो टारेको व्यवस्थापन समितिका अध्यक्ष रोकायले बताए । रासस

Last modified on 2018-04-06 16:11:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts