ईन्फ्लुएन्जा विरुद्धको खोप ल्याउने तयारीमा सरकार

एक करोड जनता जोखिममा, १५ अर्व बजेट आवश्यक



Download our app to get more features

काठमाडौं, २५ चैत्र । मौसमी रुघा खोकी (ईन्फ्लुएन्जा) ले कडा रुप लिन थालेपछि त्यसलाई कसरी न्यूनिकरण गर्न तर्फ सरकार लागि परेको छ । यसबाट नेपालका एक करोड जनता प्रभावित भएको भन्दै सरकारले यसलाई कम गराउन ईन्फ्लुएन्जा विरुद्धको खोप ल्याउने तयारी थालेको हो । 

विश्वका धनि देशहरुमा मौसमी रुघा खोकी विरुद्धको खोप संचालन रहेपनि नेपालमा आर्थिक अभावका कारण उपयोगमा ल्याउन सकिएको छैन । पछिल्लो समय मौसमी रुघा खोकीले आफ्नो रुप परिवर्तन गरी कडा हुदै गएपछि यसलाई रोक्न खोप मात्रै बिकल्प भएको निष्कर्षमा ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा पुगेको छ । 

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डाक्टर विवेक कुमार लालले मौसमी रुघा खोकीले रुप परिवर्तन गरी कडा हुदै गएपछि यसलाई कम गराउन खोपको आवश्यक परेको बताए । 
खर्च धेरै लाग्ने भएपछि अर्थ मन्त्रालयले स्वीकृत दिने अवस्था छैन उनले भने, दातृ निकायहरुले पनि यस विषयमा गंभिर चासो देखाएका छन् । हामी छलफलको चरणमा छौं ।’ डा. लालले मौसमी रुघा खोकी बिरुद्धको खोप नेपालमा अति आवश्यक भएको स्पष्ट पारे । 

एक करोड जनता प्रभावित 
विश्वव्यापी रुपमा बढ्दै गएको जलवायु परिवर्तनका कारण नेपालमा पनि मौसमी रुघा खोकीले रुप परिवर्तन गरेको हो । महाशाखाका अनुसार मौसमी रुघा खोकीका कारण नेपालका एक करोड जनता प्रभावित छन् । यो क्रम बढ्दो भएकाले सामान्य औषधिले यसलाई रोक्न सक्ने अवस्था छैन । खोप सम्बन्धी तत्काल रणनीति तयार गरेर खोप सेवा सुरु गर्नु पर्छ लालले भने । चिकित्सकका अनुसार ईन्फ्लुएन्जा विरुद्धको खोप एक पटक लगाएर पुग्दैन हरेक वर्ष लगाउनु पर्छ । 

एक डोजको १५ सयः एक करोडलाई लगाउन १५ अर्व आवश्यक  
महाशाखाले मौसमी रुघाखोकीको जोखिममा एक करोड नेपाली रहेको बताएको छ । दातृ निकायहरुको सहयोगमा ल्याउन लागको उक्त भ्याक्सिनको मुल्य विकसित देशमा एक डोजको १५ सय रुपैयाँ पर्छ । डा. विवेकका अनुसार नेपालले खरिद गरेपनि सोही मुल्यमा लगाउन सकिन्छ । तर, ठुलो रकम आवश्यक पर्ने हुदा तत्काल निर्णयमा पुग्न भने सकिएको छैन । 
नेपालमा बढ्दो मौसमी रुघाखोकी न्युनिकरणका लागि खोप भन्दा अर्को विकल्प नभएको देखेपछि दातृ निकायले आवश्यक सहयोग गर्ने बचन दिएका छन् । ‘दातृ निकायहरुले मात्रै रकम दिएर पुग्दैन उनले भने, यसका लागि नेपाल सरकारले पनि आवश्यक रकम दिनु पर्छ ।’ उनले एक करोड नेपालीका लागि प्रति वर्ष १५ अर्व रुपैयाँ खोपका लागि आवश्यक पर्ने बताए । 

मौसमी रुघा खोकीको जोखिममा को ?
मौसमी रुघाखोकीका कारण बालबालिका, गर्भवती महिला, जेष्ठ नागरिक, दिर्घरोगीहरु बढि जोखिममा रहेका छन् । विश्वव्यापी रुपमा बढ्दै गएको यो समस्याले नेपालमा थप बिकराल रुप लिने अनुमान अधिकारीहरुको छ । मौसमी रुघाखोकी कै कारण ठुलो संख्यामा मानिसको मृत्यु नभए पनि विश्वका ४ अर्व जनता यसबाट प्रत्यक्ष रुपमा प्रभावित भएको विश्व स्वास्थ्य संगठनको भनाई छ । स्वास्थ्य मन्त्रालय नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले मौसमी रुघाखोकीले आफ्नो रुप समय समयमा परिवर्तन गर्ने भएकाले महामारिको समयमा खोप आवश्यक पर्ने बताए । उनले खोप कुन आधारमा ल्याउने भन्नेमा निर्णय भैनसकेको स्पष्ट पारे । 
 

Last modified on 2018-04-11 14:20:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts