करोडौंको डायलाइसिस र एक्स–रे मेशिन प्रयोगविहीन



Download our app to get more features

दाङ, २५ चैत । जिल्लाको एक मात्रै सरकारी अस्पताल राप्ती अञ्चल अस्पतालले एक वर्षअघि करोडौं खर्चेर ल्याएको डायलाइसिस र एक्स–रे मेशिन प्रयोगमा ल्याउन सकेको छैन । डायलाइसिस र एक्स–रे सिआर्म मेशिन प्रयोगमा नआउँदा दाङबासी उपचारका लागि जिल्लाबाहिर जान बाध्य छन् । 

जिल्लाबासीले प्रभावकारी स्वास्थ्य सेवा पाउने आसमा ०६५ सालमा महापुराण लगाएर दुई करोड र करीब पाँच बिघा जग्गा सो अस्पताललाई जुटाइदिएका थिए । तत्कालीन सरकारले तुलसीपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरी अञ्चल अस्पताल बनाउने निर्णय गरेको थियो । तर सरकारको निर्णय अनुसार अस्पतालको स्तरवृद्धि नहुँदा निराश बन्नुपरेको तुलसीपुरवासीको गुनासो छ । 

राप्ती अस्पतालमा १७ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि पाँच जना मात्रै कार्यरत छन् । एक वर्ष अगाडि ठूलो करोड भन्दा बढी खर्चेर ल्याएको डायलाइसिस र एक्स–रे सिआर्म यन्त्र पनि प्रयोगमा ल्याउन नसकेको तुलसीपुरमा मीनराज भण्डारीले बताए । 

यसैगरी अस्पतालको सघन उपचार कक्ष÷ एनआइसीयुका सामग्री पनि प्रयोगविहीन अवस्थामा पुगेको अस्पताल निकट स्रोतले जनाएको छ । अस्पतालले सञ्चालन गरेको औषधालयबाट पनि बिरामीले नियमित रुपमा सेवा पाउन सकेका छैन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विनोद सिंहले अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक र यन्त्र सञ्चालनका लागि दक्ष जनशक्ति र बिजुलीको भरपर्दो व्यवस्था नहुँदा समस्या भएको बताए । उनले भने, ‘सरकारले उपयुक्त दरबन्दी नपठाउँदासम्म सहज रुपमा सबै सेवा प्रवाह गर्न सकिँदैन ।’ रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts