स्वास्थ्यमा सबै नागरिकले समान रुपमा अधिकार पाउनुपर्छ: अध्यक्ष दाहाल



Download our app to get more features

चितवन, २५ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढंगबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताएका छन् । 

भरतपुर अस्पतालको ५५ औँ वार्षिकोत्सवलाई आज चितवनमा सम्बोधन गर्दै उनले संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकार भनेर उल्लेख गरिएकाले अबको समृद्ध नेपाल हुँदै गर्दा स्वास्थ्य आम जनताको पहुँचमा हुनुपर्ने बताए । 

स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक र कर्मचारीको जीविकोपार्जन हुन सक्ने सुविधा राज्यले दिनुपर्ने भन्दै उनले त्यसो भएमा मात्रै उनीहरुको दिमाग र ध्यान संस्थाप्रति समर्पित बनाउन सकिने बताए । 

चितवन ‘मेडिकल सिटी’का रुपमा विकास हुँदै गएको भन्दै उहाँले रोगहरु पनि यही बढ्दै गएकाले रोगको अनुसन्धान केन्द्र विकास गर्नुपर्ने र त्यस केन्द्रको नेतृत्व भरतपुर अस्पतालले लिनुपर्ने बताए । यसअघि आफू प्रधानमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा नीतिगत रुपमा नै महत्वपूर्ण काम भएको उनको भनाइ थियो । 

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले पाँच वर्षभित्र समृद्धि नेपाल हुँदै गर्दा आम नेपालीले शिक्षा र स्वास्थ्यमा समान सुविधा पाउनुपर्ने बताए । उनले भने, “कुन परिवार र वर्गमा जन्मियो त्यही आधारमा शिक्षा र स्वास्थ्य हुनु हुँदैन । सबैले समान रुपमा उपभोग गर्न पाउनु पर्छ ।” 

उनले सुखी र समृद्ध नेपाल बनाउने सरकारको परिकल्पना पूरा हुँदै गर्दा आम नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताए । पूर्वाधार विकासको लक्ष्य नभएर माध्यम भएको बताउँदै नेपाली काँग्रेसका नेता थापाले आम नेपालीले सुखी र समान अवसर पाएका बेला मात्रै देश समृद्ध हुने बताए । 

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, नेकपा (एमाले) चितवनका उपाध्यक्ष तेजेन्द्र खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराई, भरतपुर अस्पतालका पूर्वअध्यक्ष बद्री तिमिल्सिनालगायतले अस्पतालले पछिल्लो समय गरेका कामको प्रशंसा गरेका थिए । 

सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीले अस्पतालले गरेका कामको बारेमा जानकारी गराउँदै देखिएका चुनौती समाधान गर्न सबैले सहयोग गर्नुपर्ने बताए । 

सो अवसरमा अध्यक्ष दाहालले सिटी स्क्यान, हेमोडाइलासिस सेन्टर, अक्सिन उत्पादन गृह र बहिरंग सेवा भवनको उद्घाटन गरेका थिए । 

विसं २०१३ सालमा १५ शय्याबाट शुरु गरिएको अस्पतालमा हाल ६ सय शय्या रहेका छन् । दैनिक एक हजार ५ सय हाराहारी बिरामीले अस्पतालबाट बहिरंग सेवा लिँदै आएका छन् । अस्पतालमा चितवनसहित छिमेकी २२ जिल्लाबाट उपचारका लागि बिरामी आउने गर्दछन् ।

रासस

Last modified on 2018-04-08 18:49:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts