जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण मात्रै, औषधि छैन 



Download our app to get more features

रुकुम, २७ चैत । जिल्लाका स्वास्थ्य संस्था रुकुममा निःशुल्क रुपमा पाइने औषधि अभाव भएको छ । 

क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा यहाँका स्वास्थ्य संस्थामा औषधि अभाव हुन थालेको हो । जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल कुनै प्रकारका औषधि नपाइने बिरामीहरुको गुनासो छ । 

निजीमा जान बाध्य
अस्पतालमा औषधि सकिएपछि बिरामी निजी स्वास्थ्य संस्थाबाट चर्काे मूल्यमा औषधि किन्न बाध्य छन् । उपचारका लागि गाउँबाट जिल्ला अस्पताल आए पनि नपाएपछि रु दुई हजारभन्दा बढी हालेर निजी मेडिकल सपबाट औषधि किन्न बाध्य भएको त्रिवेणी गाउँपालिका– ७ का थलवीर खड्काले बताए । ‘मैले बिरामीलाई चाहिने सबै औषधि मेडिकलबाट किनेँ’, उनले भने, ‘अस्पतालमा जाँच मात्र भयो, औषधि बाहिरबाट ल्याएँ ।’ स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि विपन्न समुदायलाई उपचार लिन समस्या भएको उनले बताए । 

‘अस्पतालमा औषधि छैन’, बाफिकोट गाउँपालिका– ३ की गीता पुरीले भनिन्, ‘निजी स्वास्थ्य संस्थाबाट औषधि किन्न पैसा छैन ।’ जिल्लामा रहेका बाँकी औषधि पनि एक सातासम्मका लागि मात्र भएको डा. सुशील पोखरेलले जानकारी दिए । ‘अहिले कसले औषधि खरिद गर्ने भन्ने अन्योल भएको छ’ उनले भने, ‘यसले गर्दा बिरामी समस्यामा परेका छन् ।’ 

जिल्ला अस्पतालमै औषधि अभाव हुँदा यहाँका गाउँगाउँमा रहेका स्वास्थ्यचौकीमा पनि औषधि अभाव भएको छ । मौजदा औषधि करीब एक महिना दिअघि नै सकिए पनि स्वास्थ्य संस्थामा औषधि पुग्न नसकेको स्वास्थ्यचौकीको भनाइ छ । यहाँ एक जिल्ला अस्पताल, ४१ स्वास्थ्यचौकी र दुई प्राथमिक उपचार केन्द्र छन् । उनीहरुले सामान्य परामर्श र जाँच गरेर निजी स्वास्थ्य संस्थामा पठाउने गरेका छन् । बेला बेला क्षेत्र र केन्द्रमा जानकारी गराइए पनि औषधिको पूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

‘स्वास्थ्य सेवा सबैलाई, जहिले पनि, जहाँ पनि’ : नारामै सीमित

‘स्वास्थ्य सेवा सबैलाई, जहिले पनि, जहाँ पनि’ भन्ने नारा भए पनि नारामै सीमित भएको मुसिकोट–२ का हरिबहादुर खड्काले बताए । बिरामीले जहिले र जहाँमा उपचार नपाएको उनको गुनासो छ । हाल जिल्ला अस्पताल सल्लेमा दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेको बताइएको छ । 
‘अब बिरामी आउने समय हो’, डा. पोखरेलले भने, ‘औषधि चैत महिनासम्म पनि मुश्किल छ ।’ यस्तो अवस्थामा औषधि पु¥याउन निकै समस्या भएको उनले बताए ।  रासस 

Last modified on 2018-04-11 14:17:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts