दोलखाको स्यामा र गोरखाको मान्वुमा स्वास्थ्य शिविर

What's This?


Download our app to get more features

काठमाण्डौं, ६ जेठ । जनतालाई घर आँगनमै स्वास्थ्य सेवा दिने क्रममा दोलखाको स्यामा र गोरखाको मान्वु गाविसमा स्वास्थ्य शिविर हालै सम्पन्न भएका छन् । 

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका अति दुर्गम क्षेत्रमा निरन्तर स्वास्थ्य शिविर सञ्चालन गरी सेवामा तल्लिन भइराखेको बिपी चिन्तन प्रतिष्ठान, डाउन अर्थ एडभेन्जरले स्पेनको मल्टि अप्टिकाज फाउन्डेसनको आर्थिक एवम् प्राविधिक सहयोगमा शिविर सञ्चालन भएका हुन् । 

ती दुई गाविसका करिब एक हजार सात सय स्थानीय बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको शिविर संयोजक ध्रुवबहादुर पाण्डेले जानकारी दिए । 

शिविरमा प्राध्यापक डा. चोपलाल भुसाल, डा. केदार नरसिंह केसी, डा. अञ्जनीकुमार झा, डा. अमितसिंह कार्की, डा. कपिल पौडेल, डा. अर्पण पोखरेललगायतले सेवा दिएका थिए । यसैगरी स्पेनी नागरिक माग्राति, जोसे मारिया, इग्नासियो, मार्ता र लुइस कारलोस सहभागी भएका थिए ।  

पर्वतीय पर्यटनमा शौखिन लुइस कारलोसले अन्नपूर्ण (आठ हजार ९१ मिटर) सफल ओरोहण पछि ती शिविरमा आँखा सेवा प्रदान गरेको संयोजक पाण्डेले बताए । ती दुई स्थानका शिविरमा ती स्पेनिस टोलीले करिब आठ लाख बराबरको औषधि समेत प्रदान गरेका थिए । 

भूकम्पले बास गुमाइ टहरामुनि दैनिक गुजारा गरिराखेका स्थानीय जनतामा बढी मात्रामा चिसोका कारण छाती, पेट र नसाका समस्या देखिएको डा. कार्कीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि स्वास्थ्य सेवा प्रदान गर्न ती स्थानमा कोही पनि पुगेका छैनन् । 

रगत, दिसा, पिसाब र खकारको प्रयोगशालाका सेवा र एक्सरे पनि गरिएको थियो । ती दुवै शिविरमा ती परीक्षण गर्दा क्षयरोगीसमेत देखिएको संयोजक पाण्डेले बताए । 

दोलखाको स्यामा गाविसमा गत वैशाख २५ गतेदेखि २८ गतेसम्म र गोरखाको मान्वुमा वैशाख ३०, ३१ तथा जेठ १ देखि ४ गतेसम्म शिविर सञ्चालन भएका थिए । 
 

रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts