स्वास्थ्यमा अर्को विवादास्पद रकमान्तरः काम गर्न सक्दिन भन्नेलाई ५ करोड



Download our app to get more features

काठमाडौं, ९ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुनः अर्को विवादास्पद निर्णय भएको पाइएको छ । काम गर्ने स्वास्थ्य संस्थाको विनियोजित रकम खोसेर काम गर्न सक्दिन भन्ने स्वास्थ्य सस्थालाई रकमान्तर गर्न लागेको फेला परेको हो । आर्थिक वर्ष सकिन केही महिना मात्रै बाँकी रहेका बेला काम गरिरहेका स्वास्थ्य संस्थालाई सहयोग गर्नुपर्नेमा मन्त्रालयका जिम्मेवार पदाधिकारीले आफु अनुकुल स्वास्थ्य संस्थामा रकमान्तर गर्न लागेको देखिएको छ । 

सेती अञ्चल अस्पताललाई जवरजस्ती ५ करोड दिने तयारी
मन्त्रालयले मेशिनरी औजार खरिदका विषयमा पक्षपात गरेको उपल्लो अधिकारीहरु नै बताउँछन् । कोशी अञ्चल अस्पतालका मेसु डा.रोशन पोखरेलले दुई महिना भित्र किन्न सकिने उपकरणहरुका लागि स्वास्थ्य मन्त्रालयमा बजेट मागेका थिए । तर, अहिले बजेट नभएको र रकमान्तर गर्न पनि नमिल्ने प्रतिकृया मन्त्रालयका अधिकारीले दिएका थिए । उनले आफुलाई तत्काल १ करोड भएपनि अत्यावश्यक रहेको बताए ।  उनले भने ‘मैले पटक पटक मन्त्रालयमा रकमको कुरा गरे तर, सुनुवाई भएन ।’ कोशी अञ्चल अस्पताललाई यसवर्ष १ करोड ५० लाख रुपैया विनियोजन भएको थियो । 

भक्तपुर जिल्ला अस्पताललाई मानव अंग प्रत्यारोपण केन्द्रमा गाभ्ने सरकारको निर्णय अनुसार छुट्याएको पाँच करोड रुपैया फिर्ता गराई मन्त्रालयले उक्त रकम सेती अञ्चल अस्पतालमा रकमान्तर गरेको हो । सिटिस्क्यान खरिदका लागि भनेर गरीएको उक्त रकमले मेसिन नआउने मन्त्रालयकै अधिकारीहरु बताउँछन् । सेती अञ्चल अस्पतालका मेसु डा. साजन केसी स्वयंले हाल अस्पतालमा रकमान्तर गरेर पनि केही काम गर्न सक्ने अवस्था रहेको बताए ।  पाँच करोडले सिटिस्क्यान आउँदैन र अहिले हामीलाई रकम आवश्यक पनि छैन । अन्तिममा आएर गरिएको रकमान्तरले केही काम गर्न नसक्ने उनको जवाफ छ । 

स्वास्थ्य मन्त्रालयका सीमित पदाधिकारीले कमिसन पाउने नाममा असन्तुलित किसिमबाट बजेट रकमान्तर गरेको र चालु आवमा सुदूरपश्चिममा मात्र अरु १० करोड उपकरण किन्न भनेर बिनियोजन गरिएको उनीहरुको आरोप छ । सुदुरपश्चिम बाहेकका अञ्चल अस्पतालमा १५ लाख देखि ६५ लाखसम्म विनियोजन गरिएको छ भने, सुदुरपश्चिमका अन्चल अस्पतालमा एक करोड माथि साढे दुई करोड सम्म बिनियोजन गरेको पाइएको छ ।

पुनश्चः समाचारमा यसअघि समावेश गरिएको तस्विर असम्बन्धित रहेको पाइएकाले हटाइएको छ । -सं

 

Last modified on 2018-04-22 18:40:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts