‘आत्महत्या’ रोग जस्तै गरी देखापर्न थालेकामा चिन्ता



Download our app to get more features

बैतडी, ९ वैशाख । चालू आर्थिक वर्ष ०७४÷०७५ को हालसम्म बैतडीमा २६ जनाले आत्महत्या गरिसकेका छन् । यसमा महिला १२ र पुरुष १४ जना छन् ।

प्रहरीका अनुसार झुण्डिएर देहत्याग गर्नेको संख्या पछिल्लो समय निकै बढेको छ । चालू आर्थिक वर्षको हालसम्ममा २० जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरेर देहत्याग गरेको प्रहरी तथ्याँकमा उल्लेख छ । आत्महत्या गर्ने १३–४५ वर्ष उमेर समूहका रहेका छन् । 
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पछिल्लो चार वर्षको तथ्याँकले आत्महत्या गर्नेको संख्या बढ्दो छ । 

यस्तो छ चार वर्षको तथ्यांक
आर्थिक वर्ष ०७१÷७२ मा बैतडीमा १६ जनाले आत्महत्या गरेका थियो । आब ०७२÷७३ मा यो संख्या बढेर २९ पुगेको थियो । यस्तै, आर्थिक वर्ष ०७३÷७४ मा आत्महत्या गर्नेको संख्या बढेर ३६ पुगेको थियो । 
आत्महत्याको गर्नेको आँकडा डरलाग्दो रहेकाले यसलाई न्यून गर्न सचेतना कार्यक्रमको सञ्चालन गर्नुपर्ने मनोचिकित्सकहरूको भनाइ छ । आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । 
आत्महत्या कुनै एक व्यक्ति वा निकाय लागेर मात्र नियन्त्रणमा आउन नसक्ने र यसका लागि सबै पक्षको सहयोग चाहिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी बताए । 
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माका अनुसार जिल्लाका विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्न प्रहरी युनिटहरु खटाएइका छन् । 

जीवनशैली परिवर्तन गर्न सुझाब
आत्महत्याका घटना बढ्दै जानुको मुख्य कारण मानिसको व्यस्त जीवनशैली र तनावलाई मानिन्छ । तनावग्रस्त मानिसमा घोरिने, चिट्चिट पसिना आउने, बेलाबेलामा झस्किने, कसैसँग कुरा गर्न नचाहने, बहकिने, एकान्तमा बस्न मन पराउने, लागुपदार्थ सेवन गर्नेलगायतका लक्षण देखा पर्छ । त्यस्ता व्यक्तिलाई समयमै सम्झाइबुझाई गर्नुपर्ने र एक्लै यताउति जान नदिने प्रहरीको सुझाव छ । 
यसका साथै प्रेममा धोका, पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादकपदार्थ सेवनको लत पनि आत्महत्याका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । 
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थी आत्महत्याको घटना कम गर्न विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्ने बताए । आत्महत्या एक रोग जस्तै गरी देखा पर्न थालेको उनको मूल्याँकन छ । रासस

Last modified on 2018-04-22 16:15:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts