सन् २०२५ सम्ममा नेपाल औंलोमुक्त राष्ट्र हुने



Download our app to get more features

काठमाडौं, १२ वैशाख । सरकारले सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्याउने लक्ष्य राखेको छ । 

निर्धारित समयमै नेपाललाई औंलोमुक्त अवस्थामा पुर्याउन सरकारले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गर्दै आएको छ । 

हाम्रो सक्रियता औंलो निवारणमा सफलता भन्ने नाराका साथ यस बर्ष विश्व औंलो दिवस मनाइदै छ । 

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा सन् २००८ देखि औंलो दिवस मनाउदै आएको छ । 

नेपालमा औंलो नियन्त्रण कार्यक्रम युएसआइडीको सहयोगमा सन् १९५४ मा कीटजन्य रोग नियन्त्रण कार्यक्रम मार्फत शुरु भएको हो । सरकारले सन् १९५८ देखि औंलो उन्मुलन कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

सन् १९७८ मा औंलो उन्मूलन कार्यक्रमलाई एकीकृत स्वास्थ्य प्रणालीमा औंलो नियन्त्रण कार्यक्रमको रुपमा राखिएको थियो । जसमा १२ जिल्लाबाट यो कार्यक्रम शुरु गरी हाल मुलुकभरी औंलो नियन्त्रण कार्यक्रम सञ्चालनमा रहेको छ । हाल नेपालमा बर्षेनी करिब एक हजार औंलोका विरामी रहेको प्रयोगशालाले जनाएको छ । औंलो रोग संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै औंलो रोकथामको सर्वोत्तम  उपाय मानिन्छ । 

यस रोगबाट विशेषगरी गर्भवती महिला तथा पाँच बर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् । राष्ट्रिय औंलो नियन्त्रण कार्यक्रमले सन् २००७ मा पहिलोपटक पञ्चबर्षिय राष्ट्रिय औंलो नियन्त्रण रणनीति तयार गरी सोही अनुरुप कार्यक्रम लागू गरेको थियो । नेपाल सरकारले औंलो रणनीतिक योजना २०१४–२०२५ तयार गरी कार्यावन्यन शुरु गरिसकेको छ ।

योजना अनुसार औंलो प्रभावित क्षेत्रहरुको हरेक २–३ बर्षको अन्तरालमा शुक्ष्मस्तरीकरण वर्गीकरण गर्दै आइरहेको छ । हाल नेपाल सरकार मातहतमा रहेका स्वास्थ्य संस्थाहरु मार्फत औंलोको निःशुल्क परीक्षण तथा उपचार भइरहेको छ । 

Last modified on 2018-04-30 15:40:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts