शल्यक्रियाका क्रममा दुर्घटनावश घटना भयो: कान्ति अस्पताल

What's This?


Download our app to get more features

फाल्गुण १९, काठमाडौं-कान्ति बाल अस्पतालले तीनमहिने बालकको उपचार क्रममा भएको गल्तीलाई स्वीकार गरेको छ। अस्पतालले उपचार क्रममा 'दुर्घटनावश' बच्चाको हात पोलिन गएको भन्दै गल्ती स्वीकार गरेको हो।

आन्द्रा बटारिएर उपचारका लागि राजधानीकै ठूलो बाल अस्पताल कान्ति ल्याइएका कास्की, पोखरे–३ का संयोग अधिकारीको उपचार क्रममा भएको हेलचक्राइँका कारण दाहिने हातका पाँचवटै औंला काट्नुपरेको थियो ।

आन्द्रा बेरिएको अवस्थामा पुस १३ गते कान्तिमा भर्ना गरिएका बालकको तीन दिनपछि आन्द्राको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया क्रममा शल्यकक्षमा रहेका चिकित्सकसहितको टोलीले लापरबाही गर्दा बालकको हात हिटरले पोलेको थियो । हिटरले पोलिएको उक्त हातका सबै औंला पछि शल्यक्रिया गरेर काट्नुपरेको थियो ।

उक्त विषयमा छानबिन गर्न गठित समितिले शल्यक्रिया क्रममा सामान्य ध्यान नदिँदा दुर्घटना हुन गएको निस्कर्ष निकालेको थियो । समितिले गरेको छानबिनकै आधारमा अस्पतालले दुर्घटनावश हुन पुगेको घटनामा संलग्न रहेका चिकित्सकसहितको टोलीलाई आगामी दिनमा सजगता अपनाउन निर्देशन दिएको छ । बच्चाको शल्यक्रिया डा. पुष्कर पोखरेलको टिमले गरेको थियो ।

घटना विषयमा डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले छानविन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनमा अस्पताललाई तीनवटा सुझाव दिइएको छ । समितिले उपचारमा संलग्न टोलीलाई सजगता अपनाउन, बच्चाको उपचार खर्च बेहोर्न र अस्पतालका सबै डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवहार रुखो र दुखद पाइएकाले शिष्ट हुनुपर्ने सुझाव दिएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार अस्पतालले समितिको सुझावकै आधारमा बच्चाको उपचार क्रममा भएको उपचार खर्च, बाहिरबाट किनिएको औषधिको रकम, एक छाक खानाको पैसा निःशुल्क गरेको छ । 'बच्चाको अभिभावकको सहमतिअनुसार नै उपचार क्रममा भएको ५३ हजार रुपैयाँ नगद फिर्ता गर्नुका साथै अन्य औषधिको र खाना निःशुल्क गरेका हौं,' उनले भने, 'यसका साथै समितिको सुझावका आधारमा सर्जरी विभागका सबैलाई सचेत रहन र अस्पतालका सबै विभागका कर्मचारीलाई बिरामी र आफन्तसँग शिष्ट व्यवहार गर्न निर्देशन दिइएको छ ।'

उपचारमा गल्ती भएपछि आफन्तले उपचार खर्च सबै व्यहोर्नुपर्ने, बच्चाको शिक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने र यसका लागि २० लाख रुपैयाँको कोष बनाउनुपर्ने माग गरेका थिए । तर, अस्पतालले उपचारका क्रममा भएको खर्चबाहेक अन्य रकम दिन नसक्ने बताएपछि डेढ महिनादेखि कान्तिमा नै उपचाररत बालक अहिले डिस्चार्ज भएका छन् ।

कउनलाई आन्द्रा बेरिएको अवस्थामा पुस १३ गते कान्तिमा भर्ना गरिएको थियो । आन्द्राको शल्यक्रिया गर्ने क्रममा कोठामा बालिएको हिटरले बच्चाको हातमा पोल्दा फोका उठ्न पुगेको थियो । हिटरले पोलेको विषयमा अस्पतालले बालकका आफन्तलाई तत्कालै स्पष्ट जानकारी दिएन । पछि त्यसको उपचारमा समेत ध्यान नदिएको छानबिनमा संलग्न एक सदस्यले नागरिकलाई बताए ।

आन्द्राको शल्यक्रिया गरेर अप्रेसन थियटरबाट निकालिएको बच्चाको हातमा पट्टी बाँधेको देखेपछि आफन्तले त्यसबारे तत्कालै जानकारी मागेका थिए । बालकका हजुरबुबा बुद्धिसागर अधिकारीका अनुसार त्यतिबेला अस्पतालले कोठा तताउन बालिएको हिटरको रापले बच्चाको हातमा सानो फोका उठेकाले पट्टी बाँधिएको जवाफ दिइएको थियो । उनका अनुसार हातमा बाँधिएको पट्टीलाई पोखराको स्वास्थ्य संस्थामा ड्रेसिङ गर्नू भन्दै कान्तिले पुस २२ गते बालकलाई डिस्चार्ज गरेको थियो ।

पोखरास्थित गण्डकी अस्पतालका चिकित्सकले डे«सिङ गर्ने क्रममा हात कालै हुने गरी जलेको देखेपछि बालकका आफन्तलाई औंलाको घाउ शल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यसपछि उनीहरु बालकलाई लिएर माघ १ गते कान्तिमै आएका थिए । आन्द्राको शल्यक्रियामा संलग्न चिकित्सक डा. पोखरेललाई भेटेर उनीहरुले बालकको हातबारे जानकारी गराए । बुद्धिसागरका अनुसार शल्यक्रिया गर्ने डाक्टरले कान्तिमा पोलिएको उपचार गर्ने युनिट छैन भन्दै त्रिवि शिक्षण अस्पताल रेफर गरिदिए ।

'हामीले नमानेपछि कान्तिमै डाक्टर बोलाएर बच्चाको शल्यक्रिया गरिएको हो,' उनले भने, 'जलेको हातका औंलाको समयमै उचित उपचार नहुँदा सबै औंला काट्नुपर्ने अवस्था भइसकेछ ।' अस्पतालले माघ ४ गते हातको निःशुल्क शल्यक्रिया गरिदिएको थियो।

नागरिक दैनिकमा प्रवीण ढकालले लेखेको समाचार छ । 

 

Last modified on 2016-03-02 15:58:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts