छैनन् दरबन्दी अनुसारका चिकित्सक



Download our app to get more features

काठमाडौं, १७ बैशाख ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत स्वीकृत दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रवाहमा गम्भीर समस्या देखिएको छ ।

स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १३ मा पद रिक्त भएको ७ दिनभित्र लोकसेवा आयोगमा स्थायी कर्मचारी माग गरी पठाउनुप र्ने व्यवस्था छ । तर, नियमावली अनुसार काम अगाडी बढ्न नसक्दा स्वीकृत दरबन्दी अनुसारका चिकित्सक अभाव भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अधिकांश सरकारी अस्पतालहरुले न्यून जनशक्तिको भरमा स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तराष्ट्रिय सहयोग महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठका अनुसार स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरण अभाव भएका कारणले पनि धेरै अस्पतालहरुमा स्वीकृत दरबन्दी अनुसार चिकित्सक नभएका हुन ।

श्रेष्ठले अत्यावश्यक उपकरण सबै अस्पतालहरुमा उपलब्ध हुनासाथ दरबन्दी अनुसारका चिकित्सक उपलब्ध हुने बताए । सरकारलाई आवश्यक परेका चिकित्सकहरु उपलब्ध गराउने विषयमा मन्त्रालय गम्भीर भएर लागेको पनि उनले स्पष्ट पारे । आवश्यक उपकरण र चिकित्सकको अभावमा जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउँन सकेका छैनन । 

अञ्चल र जिल्ला अस्पतालमा पदपूर्ति भएन
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० ले अस्पतालको  बेड संख्याको आधारमा जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ । तर, उक्त निर्देशिकाका आधारमा आधा पनि जनशक्ति छैनन यो विषयलाई महालेखापरीक्षकको कार्यालयले पनि उठाएको छ ।  

महालेखापरीक्षकको कार्यालयले प्राय अञ्चल र जिल्ला अस्पतालमा चिकित्सकको दरबन्दी अनुसार पदपूर्ति नभएको देखाएको हो ।
रिक्त पदहरु मध्ये प्रमुख मेडिकल सुपरिण्टेण्डेण्ट, बालरोग विशेषज्ञ, वरिष्ठ कन्सल्टेण्ट सर्जन, अर्थोपेडिक सर्जन, रेडियोलोजिष्ट, साइकियाट्रिसियन, एनेस्थेसियोलोजिष्ट, जनरल फिजिसियन, फिजिसियन, मेडिकल ल्याव टेक्नोलोजिष्ट जस्ता विशेषज्ञ पदहरु रहेका छन् । 

४ हजार ७ सय ६५ जनाको दरबन्दी  रिक्त 
स्वास्थ्य मन्त्रालयले बताए अनुसार प्रशासनिक र स्वास्थ्य सेवाका ३३ हजार १ सय ४०  दरबन्दी मध्ये २८ हजार ३ सय ७५ जना कर्मचारी कार्यरत रहेका छन् । बाँकी ४ हजार ७ सय ६५ दरबन्दी  रिक्त रहेको देखिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ७५ जिल्लामा स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालय अन्र्तगत ४ सय ६८ जना चिकित्सकको  दरबन्दी रहेकोमा २ सय ७९ जनाको पदपूर्ति भई १ सय ८९ जनाको पद रिक्त रहेको छ । चिकित्सक  दरबन्दी मध्ये उदयपुरमा १०, नुवाकोटमा १४, सप्तरीमा २७, सिरहामा ६, बाग्लुङमा २, नवलपरासीमा १०, म्याग्दीमा ११, जाजरकोटमा ९, कैलालीमा ५ रिक्त रहेकोमा सप्तरी, सिरहा, बाग्लुङ, नवलपरासी, कैलालीमा करारमा समेत चिकित्सक पठाएको छैन । 

७५ जिल्लामा ९ हजार ६ सय ३९ पारामेडिक्स
सरकारले बताए अनुसार ७५ जिल्लाअन्र्तगत १३ हजार ७ सय ८५ पारामेडिक्स दरबन्दी रहेको छ । जसमा ९ हजार ६ सय ३९ पूर्ति भई ताप्लेजुङमा ८०, इलाममा ४८, भोजपुरमा १००, धनुषामा ८०, महोत्तरीमा ८३ , जाजरकोटमा २२, अछाममा ९० तथा कैलालीमा ११० समेत गरी ४ हजार १ सय ४६ पद रिक्त रहेको छ ।

चिकित्सक तथा पारामेडिक्स पदहरु रिक्त रहेको अवस्थामा सेवा प्रवाहमा प्रत्यक्ष असर पर्न गएको छ । अधिकारीहरुका अनुसार रिक्त पदहरु समयमानै पूर्ति गरी स्वास्थ्य सेवा प्रवाहलाई चुस्त दुरुस्त तुल्याउन सम्बन्धित निकायको ध्यान जानु पर्छ । 

Last modified on 2018-05-01 14:37:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts