के हो प्रसव फिस्टुला ?

(भिडियोसहित)



Download our app to get more features

हाम्रो समाजमा अझै पनि धेरै मानिसलाई प्रसव फिस्टुलाको बारेमा जानकारी छैन । प्रसव फिस्टुलाका कारण महिलाहरू शारीरिक मात्रै नभइ मानसिक, सामाजिक रुपमा समेत पीडित हुने गर्छन् । के हो प्रसव फिस्टुला ? यो कसरी हुन्छ ? र समधानका उपाय बारे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा कार्कीसँग गरिएको कुराकानी ः—

प्रसूतिको बेलामा अथवा शिशु जन्माउने क्रममा लामो समयसम्म ब्यथा लाग्दा आमाको गर्भबाट शिशु सहजै बाहिर निस्कन सक्दैन् । यो अवधिमा शिशुको टाउकोले योनीमार्ग, पिसाब थैली वा मलाशयलाई धेरै समय च्याप्छ । यसरी च्यापिएपछि त्यस भागमा रक्तसञ्चार बन्द भएर त्यहाँको मांसपेशी मर्छ । सो स्थानमा प्वाल पर्ने सम्भावना पनि हुन्छ । यस्तो समस्या (प्वाल) पिसाबथैली र योनीमार्गको बीचमा छ भने योनीबाट लगातार पिसाब चुहिन्छ । साथै यस्तो प्वाल योनिमार्ग र दिसाथैलीको बीचमा परेको छ भने योनीबाट दिसा निस्कन्छ वा यो दुबै ठाउँमा परेको भए योनीबाट दिसापिसाब दुबै निस्कन्छ । यसलाई नै प्रसव फिस्टुला भनिन्छ ।
 

प्रसव फिस्टुला हुने कारण

प्रसव फिस्टुला हुने मुख्य कारण भनेको प्रसूतिको समयमा लामो समय ब्याथा लाग्दा शिशुको टाउकोले योनीमार्ग, पिसाब थैली वा मलासयको भागमा प्वाल पार्नु नै हो । यसको साथै कहिलेकाही शल्यक्रिया गरि बच्चा जन्माउँदा समेत यस्तो समस्या आउँन सक्छ ।

प्रसव फिस्टुलाका समस्या

प्रसव फिस्टुला लगायतका गुप्तांगमा लाग्ने रोगको बारेमा नेपाली समाजमा खुलेर कुराकानी गर्ने अवस्था छैन् । जसको कारण स–साना समस्याले पनि ठुलो रुप लिने गरेको छ । 
प्रसव फिस्टुला भएका महिलामा लगातार पिसाब वा दिसा चुहिँदा मानिस भएको ठाउँमा जान लजाउने, फोहोर लाग्ने डरले एक्लै बस्ने गर्छन । यसको असर फिस्टुला भएका महिलालाई मानसिक रोग लाग्ने, घरपरिवारले स्वीकार नगर्ने सम्मको अबस्था आउन सक्छ । 
साथै बस्दा, सुत्दा पिसाब चुहिन्छ भनेर खुट्टाले योनी थिच्ने, पानी कम खाने गर्छन् । यसले अन्य रोग समेत निम्ताउन सक्छ ।  

उपचार 

प्रसव फिस्टुला सही समयमा, दक्ष चिकित्सकद्धारा शल्यक्रिया गर्दा पूर्ण निको हुने रोग हो । प्रसव फिस्टुलाको अवस्था कस्तो छ सो हेरी आवश्यक तरिकाबाट यसको शल्यक्रिया गरिन्छ । तर, नगन्य मात्रमा यस्तो शल्यक्रिया असफल पनि भएको पाइन्छ । 

रोकथाम 

प्रसव फिस्टुला हुनै नदिने प्रमुख उपाय भनेको प्रसूति गराउँदा दक्ष चिकित्सककोमा जानुपर्छ । शल्यक्रिया गरेर बच्चा जन्माउँदा कुनै पनि गल्ती गर्नु हँुदैन् । यस्तो भए तुरुन्त चिकित्सककोमा जानुपर्छ ।
प्रसव फिस्टुला भएका महिलाले स्वस्थ र तागतिलो खाना खानुपर्छ । ५—६ महिना यौन सम्पर्क गर्नु हुदैन । २ वर्ष अघि बच्चा जन्माउनु हँदैन् । साथै घरपरिवार र समाजले पनि यस्ता महिलालाई नराम्रो दृष्टिले हेर्न भन्दा विशेष हेरचाह गर्नुपर्छ । 

भिडियो हेर्नुहोस्: 

Last modified on 2018-11-11 07:05:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts