स्वास्थ्य संस्थामाथि हुने आक्रमण स्वीकार्न सकिँदैन: पूर्व स्वास्थ्यमन्त्री थापा



Download our app to get more features

पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले विभिन्न वहानामा स्वास्थ्य संस्थामाथि भइरहेका तोडफोड गलत भएको बताएका छन् । उनले यस्ता घटनालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । 

१२९औं श्रमीक दिवसको अवसरमा ओम हस्पिटल कर्मचारी यूनियनले आयोजना गरेको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै यस्ता आक्रमणका घटनालाई साम्य पार्ने अस्पताल प्रशासन पनि अवान्छित सम्झौता गर्नु नहुने टिप्पणी गरे । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले स्वास्थ्य क्षेत्रका धेरै विकृति हटाउनु पर्ने बताए । उनले यस्ता विकृति हटाउन स्वास्थ्य ऐनको  प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
सार्वजनिक शिक्षा र स्वास्थ्य बलियो नभएसम्म मुलुक समृद्ध हुन नसक्ने थापाको भनाइ छ । ‘समृद्धि व्यक्ति विशेषका लागि भन्दा पनि आमनागरिक केन्द्रित हुनुपर्छ ।’ थापाले भने । 

थापाले प्रजातान्त्रिक हक अधिकार सुनिश्चित भएसँगै  ट्रेड यूनियनको दायरा फराकिलो भएको तर्क गरे । ओम हस्पिटल कर्मचारी यूनियनका अध्यक्ष केशवप्रसाद चौलागाईले संस्थाको समग्र हितसँगै कर्मचारीकोे वृद्धि विकासलाई यूनियनले विशेष प्राथमिकता दिएको बताए । 

यूनियनका जायज मागलाई बेवास्ता गर्दै प्रशासन अघि बढेमा त्यसपछि उत्पन्न हुने परिणामको जिम्मेवार प्रशासन नै हुने चौलागाईले बताए । यूनियनका उपाध्यक्ष विक्रम मुडभरीले कर्मचारी दास हुन् भन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरे । 

अग्रज मजदूर नेता तथा यूएनआई एशिया प्यासिफिक डाइरेक्टर राजेन्द्र आचार्यले  ट्रेड डयूनियनलाई समस्याको रुपमा लिने सोच नै गलत भएको बताए ।  ट्रेड यूनियनले समस्या समाधान गर्न सधै प्रभावकारी भूमिका खेल्ने गरेको आचार्यको भनाई छ । 

कार्यक्रममा वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीसँगै हस्पिटल संचालकहरू विजय मल्ल, चण्डिराज ढकाल, डा. आनन्द श्रेष्ठ लगायतले कर्मचारी र व्यवस्थापन मिल्नुको विकल्प नरहेको बताए । कार्यक्रममा २० वर्ष सेवा पूरा गरेका कर्मचारीको सम्मानसहित बिदाई गरिएको थियो ।

Last modified on 2018-05-01 16:58:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts