११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि स्वास्थ्यकर्मीको जागिर कायमै



Download our app to get more features

जाजरकोट, २० वैशाख । बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल, जाजरकोटमा कार्यरत एकजना स्वास्थ्यकर्मीको जागिर कायमै छ । 

अस्पतालमा कार्यरत छैटौँ तहका स्वास्थ्य सहायक धनिकलाल यादव २०६४ सालदेखि सम्पर्कविहिन छन् । उनी कहाँ छन् के गरिरहेका छन्,अस्पताललाई कुनै जानकारी छैन तर उनी कार्यरत दरबन्दी उनकै नाममा होल्ड भएर बसेको छ । 
स्वास्थ्य सेवा ऐन र नियमावलीअनुसार ९० दिनसम्म बिना सूचना कार्यालयमा अनुपस्थित भए विभागीय प्रमुखले स्वतः अवकाश गर्न सक्ने कानूनी प्रावधान छ । अस्पताल प्रशासनले उनलाई कारबाहीका लागि सम्बन्धित निकायमा पटकपटक लिखित पत्राचार गरे पनि सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ ।  

अस्पतालका प्रशासन प्रमुख दशरथ लामिछानेका अनुसार यादवले पाउने सबै बिदा सकिइसकेका छन् । यस अवधिमा उनले कार्यालयबाट तलबसमेत लिएका छैनन् । स्रोतका अनुसार मेडिकल अधिकृतको अध्ययन पूरा गरिसकेका यादवले सर्लाहीको लहानमा निजी क्लिनिक सञ्चालन गरेर बसिरहेका छन् । 


नियमित हाजिर भएर पाउने सुविधाभन्दा निजी क्लिनिकमा धेरै पैसा कमाइ हुुने त छँदैछ पहुँचको भरमा यसरी नै जागिर जोगाउन सकिए पेन्सनलगायतका सुविधा उपयोग गर्न पनि उनले जागिर होल्ड गरेर बसेका छन् । हाजिर हुन आउनेबारे उनको घर ठेगानामा पत्राचार गरिएको, सञ्चारमाध्यमबाट सार्वजनिक सूचना जारीसमेत गरिसकिएको छ तर कारबाही हुन सकेन, अस्पतालका प्रशासन प्रमुख लामिछानेले भने । रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts