विश्वले चिनेको नेपाली डाक्टर



Download our app to get more features

केही समययता उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न भइरहेका घटनाले चिकित्सकहरूलाई असुरक्षित महशुस गरेको बताइरहेका छन् । यस्ता घटनाले बिरामी र चिकित्सकबीचको विश्वासको दुरी पनि बढाइरहेको छ । तर, समाजमा केही यस्ता डाक्टर पनि छन्, जसले मुलुकको चिकित्सा सेवामा नयाँ आयाम थपेर आफ्नो नाम विश्वस्तरमा पु¥याएका छन् ।

ज्योति छर्दै रुइत 


स्वास्थ्य सेवा निकै महङ्गो बन्दै गइरहेको छ । हुनेखानेले यो सेवा सजिलै लिन पाए पनि गरिबका लागि सहज र सस्तो उपचार सेवा मुस्किल भइरहेको छ । 
स्वास्थ्य सेवामा राज्यको उपस्थिति कमजोर बनेका कारण गुणस्तरीय उपचार पाउन पैसा बाधक बनिरहेको छ । यस्तो अवस्थामा उपचार खर्च नै कम पर्ने गरि मोतीविन्दुको उपचारमा प्रयोग गरिने लेन्स नेपालमा मात्र नभएर विदेशमा समेत चर्चा कमाएको छ । र, यस्तो प्रविधि विकास गर्ने डाक्टर हुन्, ताप्लेजुङका ६२ वर्षीय डा. सन्दुक रुइत । 
सन् १९८० मा नेत्र रोग विशेषज्ञ रुइतले क्याटर्याक्ट (मोतिविन्दु) आई सर्जरी गर्दा लाग्ने खर्च ९० प्रतिशत घटाउने प्रविधि विकास गरेका थिए । उनले विकास गरेको यही कम मुल्यको कन्ट्रयाक सर्जरी लेन्स ९० भन्दा बढी मुलुकमा निर्यात भइरहेको छ । पछिल्लो ३० वर्षको अवधिमा उनले विकास गरेको यो प्रविधिका कारण एसिया र अफ्रिकाका एक लाख भन्दा बढी मानिसले आँखाको दृष्टि पाएका छन् । डा. रुइते नेपालका कुना कन्दरामा पुगेर उपचार गर्दा खर्च तिर्न नसक्नेहरूलाई निःशुल्क उपचार समेत गरिरहेका छन् । 
आँखा उपचारको क्षेत्रमा कमाएको यही प्रशिद्धिका कारण भारत सरकारले रुइतलाई ११ माघमा पद्य्मश्री अवार्ड दिने घोषणा ग¥यो । यसपछि त उनको नाम सर्वत्र चर्चाको विषय बन्यो । कम शुल्कको कन्ट्रयाक सर्जरीमार्फत एक लाख जनालाई दृष्टि दिएको भन्दै उनलाई भारत सरकारले सम्मान गरेको हो । 
एम्स अस्पताल भारतबाट एमबीबीएस गरेका रुइत अहिले तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक हुन् । रुइत एशियाकै सर्वाधिक प्रतिष्ठित पुरस्कार रोमन म्यागासेसेबाट पनि सम्मानित भइसकेका छन् ।    

मुटु प्रत्यारोपणमा अब्बल धिताल


ज्यूँदो मानिसमा मुटु प्रत्यारोपणको विषय त सुनिएकै हो । तर संसारमा नसुनिएको मृत व्यक्तिको मुटु प्रत्यारोपण गरेर बिरामी बचाउने पहिलो सर्जन हुन्, गोरखाका डा. कुमुद धिताल । अस्टे«लियामा कार्यरत धितालले चार वर्षअघि सिड्नीको सेन्ट भिसेन्ट्स अस्पतालमा तीन जना बिरामीमा मृत व्यक्तिको मुटु प्रत्यारोपण गराएपछि उनको नाम विश्वभर फैलियो । 
यसअघि मस्तिष्कको मृत्यु भइसकेका तर मुटु लगायतका अंग चलिरहेका व्यक्तिको मुटु झिकेर विशेष यन्त्रमा राखी अर्को व्यक्तिमा प्रत्यारोपण हुँदै आएको थियो । तर, धितालले यो भन्दा फकर मृत शरीरबाटै बन्द भइसकेको मुटु निकालेर विशेष यन्त्रमार्फत सक्रिय पारि अर्को व्यक्तिमा सफल प्रत्यारोपण गरेका थिए । उनको यो सफलतापछि एउटै व्यक्तिका धेरै अंगको प्रत्यारोपण गरेर अंगदान गर्ने परोपकारी चाहना पूरा गराउन थप सघाउ पुग्यो । 
यसरी विश्व हल्लाउने गरि चिकित्सा विज्ञानमा उनले हासिल गरेको प्रगतिको प्रेरणाको स्रोत को होला ? उनले यस्तो काम गर्नमा सबैभन्दा बढी पे्ररणा उनका स्व. बुबा विष्णुप्रसाद धितालबाट पाएको बताउँछन् । बाबुले सपना देख्न र त्यसलाई प्राप्त गर्न कडा मेहनत गर्नुपर्ने भनाइले उनलाई प्रेरित ग¥यो । अन्त्यमा उनले सफलता हात पारेरै छाडे । 
धितालसँग नौ वर्षसम्म डोनेसन आफ्टर सर्कुलेटरी डेथ हार्ट ट्रान्सप्लान्टमा काम गरेको अनुभव छ । भिक्टर च्याङ रिसर्च इन्ष्टिच्यूटका फ्याक्लटी मेम्बर समेत रहेका डा. धिताल सेन्ट भिसेन्ट अस्पतालमा कार्यरत छन् । 
 
न्यूरोमा एसिया चर्चित 


बाबु होमनाथ कविराजले गरेको सेवाबाट प्रभावित भएर उनलाई पनि बिरामी जाँच्ने रहर जाग्यो । त्यो रहरलाई पुरा गर्न उनले गोरखाको अमरज्योति माविबाट कठिन परिश्रमको साथ विद्यालय तहको पढाई पुरा गरे । उनी विद्यालयदेखि क्याम्पसस्तरसम्मै अब्बल रहे । यद्यपि, पाठ्यक्रमभन्दा बाहिरको विषयमा उनको बढ्ता ध्यान जान्थ्यो । 
अमृत साईन्स क्याम्पसबाट आईएस्सी पुरा गरेपछि उनलाई मेडिसिन पढ्ने बाटो खुल्यो र, अन्ततः उनी एमबीबीएस तहको पढाई सकेर डाक्टर बने । बासबारीस्थित न्यूरो अस्पतालमा न्यूरोसर्जनका रुपमा कार्यरत उनी हुन्, वरिष्ठ न्यूरोलोजिष्ट डा. उपेन्द्र देवकोटा । ३० वर्षे करियरमा उनले १८ हजार व्यक्तिको शल्यक्रिया गरिसकेका छन् । त्यसैले न्यूरोसर्जरीमा देवकोटाको नाम एसियाभर परिचित छ । चिकित्सक मात्र नभएर उनी सात महिनासम्म स्वास्थ्यमन्त्री पनि बने । 
उनको नेतृत्वमा मुलुकको पहिलो जेठो अस्पताल वीरमा सन् १९८९ मा न्यूरोसर्जरी विभाग बन्यो । यसैक्रममा उनले वीर अस्पतालमा निरन्तर २२ घण्टासम्म न्यूरो सर्जरी गरेको उदाहरणहरू छन् । वीरमा न्यूरो विभाग स्थापना गरेको १० वर्षपछि उनको सहकार्यमा नेपालमा सार्क क्षेत्रको न्यूरो सर्जिकल कन्फरेन्स आयोजना भयो । यही सम्मेलनमार्फत डा. देवकोटाले नेपालमा न्यूरोसर्जरीको क्षेत्रमा भएका काम बारे कार्यपत्र प्रस्तुत गरे । यसपछि डा. देवकोटाले न्यूरोसर्जरीमा पु¥याएको योगदान बारे विश्वले थाहा पायो । उनी स्वास्थ्यमन्त्री भएकै बेला अध्यादेशमार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ल्याए ।    

क्यान्सर उपचारमा संसारले चिन्ने ज्ञवाली


क्यान्सर रोग उपचारमा पु¥याएको योगदानका कारण विश्वभर चिनिएका पछिल्लो पुस्ताका डाक्टर हुन्, रुपन्देहीका ३० वर्षीय डा. विशाल ज्ञवाली । उनी मेडिकल अंकोलोजीमा कम उमेरमा पिचएडी गर्ने डाक्टर पनि हुन् । सोही कारण उनलाई संसारले कम उमेरमा क्यान्सर रोगको अनुसन्धान गर्ने व्यक्तिका रुपमा चिन्छ । उनले जापानको नागोया युनिभर्सिटीबाट मेडिकल अंकोलोजीमा पिचएडी गरेका हुन् । 
२०५९ सालमा बुटवलको न्यू होराईजन स्कुलबाट उनी एसएलसीमा बोर्ड फस्ट थिए । मेडिसिन विषय पढ्नु अघि उनले काठमाडौंको ह्वाईट हाउस कलेजबाट विज्ञान विषयमा प्लस् टुको अध्ययन पुरा गरे । उनले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबीबीएस अध्ययन गर्न छात्रवृत्ति पाएका थिए । 
सन् २०१२ मा ज्ञवालीले जापानमा अंकोलोजी विषय अध्ययन गर्न छात्रवृत्ति पाएका थिए । सन् २०१७ मा नायोगा युनिभर्सिटीबाट पिएचडी तह पुरा गरे । त्यसो त उनले नायोगामा अध्ययनका क्रममा ५० भन्दा बढी विभिन्न अनुसन्धानमुलक रिपोर्ट प्रकाशित गरिसकेका छन् । यसपछि उनी सबैतिर चिनिए । उनी हाल बेलायतबाट प्रकाशित हुने ब्रिटिस मेडिकल जर्नलका सल्लाहकार सम्पादक छन् ।    

(हाम्रो डक्टर म्यागेजिनबाट)

Last modified on 2018-07-13 13:34:22

2 Comments

  1. पर्शुराम भत्तराइon Sat, May 05 2018 08:33 AM

    चिकित्सक भगवान कोइराला को पनि नाम आयेको भये हुन्थ्योकि

  2. It's a shame that the last doctor has been mentioned. There are many doctors in Nepal who have higher degrees and qualifications than him. There is no significant contribution of his. Many doctors from and in Nepal have contributed much more. Looks paid/personally motivated.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts