शल्यक्रिया गरेको १५ घण्टापछि सुत्केरीको मुत्यु,  कोशी अस्पतालमा तनाव 



Download our app to get more features

विराटनगर, २४ वैशाख । कोशी अञ्चल अस्पताल विराटनगरमा शल्यक्रियाबाट सुत्केरी गराएकी महिलाको मृत्यु भएको छ । अस्पतालले लापर्वाही गरेर बिरामीको मृत्यु भएको भन्दै पीडित पक्षले अस्पतालमा विरोध गरेका छन् । शनिबार बिहान शल्यक्रिया गरेर सुत्केरी गराएकी मोरङ ग्रामथान गाउँपालिका ४ मोतिपुरकी २७ वर्षीया शान्ति लिम्बूको शल्यक्रिया गरेको करिब १५ घण्टापछि मृत्यु भएको हो । 

सुत्केरी व्यथा लागेपछि शुक्रवार नै अस्पताल पुगेपनि चिकित्सकहरू गम्भीर नबन्दा आफूले श्रीमती गुमाएको मृतकका पति आइतबहादुर लिम्बूले बताए । बिरामीलाई अत्याधिक दुखाई भएपछि शुक्रबार नै पटक–पटक शल्यक्रिया गर्न आग्रह गर्दा स्वास्थ्यकर्मीले बेवास्ता गरेको र पछि बच्चा चल्न छोडेपछि शनिबार बिहान ४ बजे हतारमा शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरेको करिव ४ घण्टासम्म बच्चा र आमा सकुशल भएपनि त्यसपछि बिरामीको पुरै शरिर पोल्न थालेको थियो भने टाउको दुखाई बढेको थियो । 

चिकित्सकले केही समय थप उपचार गरेको तर पार नलागेपछि भेन्टिलेटर भएको अस्पतालमा लैजान सुझाएका थिए । चिकित्सकको सुझाव अनुसार अर्को अस्पताल लैजाँदा–लैजादै बाटैमा बिरामीको मृत्यु भएको हो । 

बिरामीको मृत्यु पछि आफन्तहरुले चिकित्सकहरुलाई जानकारी दिँदादिँदै पनि गम्भिर नभइदिँदा सुत्केरीको मृत्यु भएको भन्दै विरोध जनाएका थिए । 

बिरामीको मृत्यु पछि लामो समय डाक्टर अस्पतालमा आएका थिएनन् । डाक्टरलाई पर्खिरहेका पीडित परिवारले अस्पताल पुगेका प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा कुशल लाई चिकित्सक ठानेर हातपात गरेका थिए । पछि अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल गरी पोष्टमार्टम रिपोर्ट आएपछि दुवै पक्ष वार्तामा बसेर समाधान खोज्ने सहमति बनेको थियो । चिकित्सकहरुले व्यवस्थापकीय पाटोमा केही कमजोरी भएको स्वीकार गर्दै नवजात शिशुलाई अस्पतालको पोषण गृहमा राखेर हेरचाह गरिदिने र पछि बच्चाको अध्ययनमा सहयोग गर्ने बताएपछि पीडित परिवार बच्चा अस्पतालमै छोडेर फर्किएका छन् । 

अस्पताल प्रशासनले भने भेन्टिलेटर नभएका कारण बिरामीलाई बचाउन नसकिएको प्रतिकृया दिएको छ । बिरामीको स्वास्थ्य गम्भीर भएपछि तत्कालै भेन्टिलेटरमा राख्नुपर्ने थियो तर अस्पतालमा भेन्टिलेटर खाली थिएन बाहिर लैजान ढिला भएका कारण बिरामीको ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ । 

Last modified on 2018-05-07 16:55:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts