क्यान्सर अस्पतालका कर्मचारी प्रहरी नियन्त्रणमा 

बिरामी किनबेच प्रकरण



Download our app to get more features

चितवन, ७ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका पाँच जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले अस्पतालमा आएका बिरामीलाई पक्राउ परेका व्यक्तिहरुले बाहिरको निजी ल्याबहरुमा विभिन्न परीक्षण गर्न लैजाने गरेको आरोप लगाएको छ । सरकारी अस्पतालका स्थायी कर्मचारी भएपनि प्रलोभनमा परेर ती व्यक्तिहरुले निजी अस्पताल तथा अन्य ठाउँमा बिरामी पठाएको सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त बहादुर कँवरले बताए । 

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थायी जागिर खाएर पनि पैसाको प्रलोभनमा परेर बिरामीलाई निजी स्वास्थ्य संस्थामा लैजाने गरेको आरोपमा प्रहरीले शुक्रबार रेडियो थेरापीमा काम गर्दै आएका भरतपुर १० का सोवित बस्नेत, भरतपुर १० घर भएका बहिरंग विभागका कर्मचारी दीपक सापकोटा, भरतपुर २४ घर भएका सर्जरी विभागमा कार्यरत कर्मचारी बद्रि भनिने सोमराज नागिला, सिराहा नगरपालिका ९ घर भएका अस्पतालको साइटो प्याथोलोजीका ल्याब टेक्निसियन दानी कुमार यादव र बहिरंग विभागमा कार्यरत भरतपुर ७ की प्रमिला घिमिरेलाई पक्राउ गरेको हो । 

पक्राउ परेका पाँचै जना अस्पतालका स्थायी कर्मचारी हुन् । उनीहरुले बिरामीलाई चाँडो उपचार हुने भन्दै अस्पताल भन्दा बाहिर भएको निजी स्वास्थ्य संस्थामा परीक्षणको लागि लैजाने गरेको बताइएको छ । 

प्रहरीको अभियोग स्वीकार्दै आफूहरुले अपराध नगरेको आरोपितहरु बताउँछन् । बहिरंग विभागमा कार्यरत कर्मचारी प्रमिला घिमिरेले आफूहरुले बिरामीलाई चाँडै उपचार गराउनका लागि बाहिरको स्वास्थ्य संस्थामा पठाउने गरेको तर कुनै अपराध नगरेको बताइन् । 

भरतपुरमा रहेको दक्षीण एसियाकै नमुनाको रुपमा सञ्चालनमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आन्तरिक कलहका कारण आफैमा क्यान्सर लागेको बिरामी जस्तै हुँदै आएको छ । 

अस्पतालका अधिकांश डाक्टरहरु सरकारी सुविधा लिएर कार्यालय समयमा निजी अस्पताल धाउँदै आएका छन् भने त्यहाँ आएका बिरामीलाई पनि विभिन्न माध्यमबाट निजी अस्पतालमा चर्को शुल्कमा उपचार गर्न बाध्य बनाइने गरेको छ । 

प्रहरीले केही दिन अगाडि अस्पताल समयमा निजी अस्पतालमा काम गर्दै आएर क्यान्सर अस्पतालका दुई जना डाक्टरलाई समेत पक्राउ गरी मुद्दा चलाएको थियो । यसैबीच, अस्पतालमा ‘ददाली’ गरको भन्दै प्रहरीले बिहीबार पक्राउ गरेको १५ जनालाई सार्वजनिक मुद्दा दायर गरेको छ । उनीहरुलाई अदालतबाट सात दिनको म्याद थप आदेश सहित थप अनुसन्धान जारी राखिएको प्रहरी उपरीक्षक कुँवरले बताए । 
 

Last modified on 2016-05-20 16:30:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts