रसायन युक्त कस्मेटिक मल्हमको प्रयोगले छाला सम्बन्धि बिरामीको संख्यामा वृद्धि



Download our app to get more features

कञ्चनपुर, ३० वैशाख । ग्रामीण क्षेत्रका किशोर किशोरीहरुमा छाला सम्बन्धी बिभिन्न समस्याहरु देखिन थालेका छन् । 

परिवर्तित समयमा, गोरो हुने, सुन्दर बन्ने, चाउरीपन हटाउने, छाला राम्रो बनाउने नाममा बढेको विभिन्न रसायन युक्त कस्मेटिक मल्हमहरुको प्रयोगले छाला सम्बन्धी बिरामीको संख्यामा बृद्धि भइरहेको विशेषज्ञ डाक्टरहरुले बताएका छन् ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा भएको छाला रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउन आउने मध्ये अधिकांश किशोरी र युवतीहरुमा छाला सम्बन्धी रोगहरु देखापरेको उपचारमा संलग्न वरिष्ठ छाला रोग विशेषज्ञ डा. दिनेश सिवाकोटीले बताए । “बजारमा थुप्रै केमिकल प्रयोग गरिएका फेशन क्रिमहरु पाइन्छन्, जुन क्रिमहरुको प्रयोगले छाला सम्बन्धी विभिन्न रोग लाग्ने गर्दछ, डा. सिवाकोटीले भने, सुन्दर बन्ने रहरले बजारमा आएका यस्ता केमिकल युक्त सामग्रीको प्रयोग नगर्न आग्रह गर्दछु ।”

छाला रोग बिशेषज्ञहरुद्वारा बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा १ दिने छाला रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । 

सुदुरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय राजपुर डोटी र जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना तथा बेल्डाँडी गाउँपालिका र बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविरमा छाला सम्बन्धी समस्या भएका १ सय ८२ जनाको स्वास्थ्य जाँच गरिएको बेल्डाँडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक डम्बर सिंह खत्रीले बताए । स्वास्थ्य परीक्षण गरिएकामध्ये १ जनामा कुष्ठरोग समेत देखापरेको बताइएको छ । 

चर्को गर्मी, हावापानी र  प्रदूषण लगायतको प्रभावले पनि छालामा घाउखटिरा आउने, छाला सुक्खा हुने, मुसा पलाउने, ठेउला आउने, छाला चिलाउने, काँछ लाग्ने र किशोरावस्थामा डण्डीफोर, चाँया, पोतो आउने र छाला फुट्ने लगायतका समस्या देखिने गरेको सुदुरपश्चिमान्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय राजपुर डोटीका क्षय– कुष्ठरोग फोकल पर्सन मनोज ओझाले बताए ।

“केही जन्मजात प्रकृतिका वंशाणुगत रोगहरु हुन्छन् भने केही असावधानीले लाग्ने रोगहरु हुन्छन् जसमध्ये कतिपय वंशाणुगत रोगहरु उपचार पछि ठीक हुन्छ भने कतिपय निको नहुने प्रकृतिका पनि हुन्छन्, उनले भने, छालामा बढी हेरचाह गर्नु जरुरी हुन्छ, छालामा रोग देखिएपछि विशेषज्ञहरुसँग परामर्श लिने र औषधी उपचार गर्ने गर्नुपर्छ ।” 

लामो समयसम्म छालामा समस्या देखिइरह्यो भने क्यान्सरको समेत जोखीम बढ्ने गरेको डाक्टरहरुको भनाइ छ । खास गरी गर्मीको समयमा यात्रा गर्दा, लुगाकपडा एकापसमा साटेर प्रयोग गर्दा सरुवा प्रकृतिका छालाका रोग एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने भएकोले यस्ता गतिविधिमा पनि सचेत रहनु पर्ने डाक्टरहरुको सुझाव छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts