गर्भपतन गराउनेमा २० वर्षमुनीका किशोरी बढि



Download our app to get more features

काठमाडौं,४ जेठ । काठमाडौं जिल्लामा सम्रगमा विशेषगरी २० वर्षभन्दा कम उमेरका किशोरीले बढि मात्रामा गर्भपतन गराउने गरेको जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकले देखाउँछ ।  

जनस्वास्थ्य कार्यालय काठमाडौंको विगत ३ वर्षको तथ्यांकलाई हेर्दा २० वर्ष मुनिका किशोरीको गर्भपतन गराउने दर बढ्दो छ । आर्थिक वर्ष २०७१/७२ देखि २०७३/०७४ सम्म ३ वर्षको तथ्याँक हेर्दा बीचको एक वर्षमा ५ प्रतिशतले ह्वात्तै बढेको गर्भपतनको दर चालु आर्थिक वर्षमा भने ६ प्रतिशतले घटेको तथ्याँक छ । जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्याँक अधिकृत पुष्कर विजुक्छेका अनुसार आर्थिक वर्ष २०७१/७२मा १५ हजार ४ सय ६ जनाले सुरक्षित गर्भपतन गराएकोमा २० वर्ष मुनिका २५ प्रतिशत रहेका थिए ।

यस्तै आर्थिक वर्ष २०७२/७३मा जम्मा १५ हजार ३ सय ९९ ले गर्भपतन गराएकोमा ३० प्रतिशत २० वर्ष मुनिका रहेका छन् ।  आर्थिक वर्ष २०७३/०७४ को पछिल्लो तथ्याँक अनुसार १३ हजार ५७ जनाले गर्भपतन गराएकोमा २४ प्रतिशत २० वर्षमुनीका किशोरी रहेका छन् । गर्भपतन गराउन आउनेहरु विवाहित वा अविवाहित यस विषयमा सोध्न नमिल्ने भएकाले गर्भपतन गराउन आउनेहरुको कारण भने पत्ता नलाग्ने अधिकृत विजुक्छेको भनाई छ । उनका अनुसार जनस्वास्थ्य कार्यालय काठमाडौंमा करिब १ हजार निजी स्वास्थ्य संस्था दर्ता भएपनि  जम्मा १४,१५ वटा संस्थाले मात्र सुरक्षित गर्भपतन गराउने अनुमति प्राप्त गरेका छन् । 

गर्भपतन गराउन पाउने मापदण्ड
कुनै पनि स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन गराउनका लागि तोकिएका मापदण्ड पूरा गर्नुपदर्छ । जिल्ला जनस्वास्थय कार्यालयको सिफारिसमा परिवार स्वास्थ्य महाशाखाले यसका लागि अनुमति प्रदान गर्ने गर्दछ । यसका लागि तालिम प्राप्त डाक्टर, उचित जनशक्ति लगायतलाई आधार मानिन्छ ।

यसको अनुगमन तथा तथ्याँक राख्ने, रिर्पोटिङ गर्ने कार्य भने जिल्ला जनस्वास्थ्य कार्यालयले नै गर्ने गर्दछ । अधिकृत विजुक्छेका अनुसार स्वास्थ्य संस्था नविकरणका लागि पनि जनस्वास्थ्य कार्यालयको सिफारिश अनिवार्य रुपमा नै चाहिने गर्दछ । 
पछिल्लो वर्ष अनुसार काठमाडौं जिल्लामामात्र गत आर्थिक वर्ष २०७३र७४ मा १४ हजारको हाराहारीले गर्भपतन गराएका छन् । त्यसमा २० वर्षमुनिका ३ हजार ११३ जना किशोरीले गर्भपतन गराएका छन् ।
चालू आर्थिक वर्ष २०७४ र ७५ को माघसम्म मेडिकल र सर्जिकलबाट १ हजार ६८२ जना २० वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराएका छन् ।
गर्भपतनलाई कानुनले नै वैधानिकता दिएपछि पछिल्लो समय गर्भपतन गराउनेको संख्या पनि निकै बढेको हो ।

नेपालको कानुनले १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन पाउने स्वीकृत दिएको छ भने जबर्जस्ती करणी, हाडनाता करणी भइ गर्भ बसेकालाई १८ हप्तासम्म गर्भपतन गराउन पाउने व्यवस्था छ ।
जनस्वास्थ्य कार्यालय काठमाडौंको पछिल्ला वर्षहरुको तथ्यांक हेर्ने हो भने पनि २० वर्षभन्दा कम उमेरमा गर्भपतन गराउनेको संख्या वर्षे्नि बढ्दै गएको छ । जसमा औषधिको सेवनबाट गर्भपतन गराउनेको संख्या बढी देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृति लिएको संस्था वा अस्पताललेमात्र गर्भपतन गराउन पाउँछन् । तर, हालसम्म काठमाडौंमा १५ ओटा संस्थालेमात्र गर्भपतन गराउन पाउने स्वीकृति लिएका छन् ।

स्वीकृति नलिएका संस्थाले पनि अवैधानिक तवरले गर्भपतन गराउने गरेका छन् । यसबारे जनस्वास्थ्य कार्यालयले नियमन त परै जाओस्, नियन्त्रणसमेत गरेको छैन ।
सामान्यताः ४ देखि ६ हप्तासम्मको गर्भपतन गर्न औषधिको सेवन गरिन्छ । गर्भपतन गराउने औषधि बेचविखन गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिनुपर्छ । तर, बजारमा जथाभावीरुपमा गर्भपतन गराउने औषधि बिक्री–वितरण हुने गरेको छ ।

चिकित्सकको परामर्श्बिना औषधि सेवनबाट गर्भपतन गराउँदा स्वास्थ्यमा जटिल समस्या पर्ने चिकित्सकहरु बताउँछन् ।सानै उमेरमा गर्भपतन गराउँदा पाठेघरमा समस्या देखिने, पाठेघरको नली नै बन्द हुने र पछि बाँझोपनको समस्या देखिनसक्ने चिकित्सकहरु बताउँछन् ।

कानुनले दिएको सुविधाको दुरुपयोग गरेर गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । गर्भपतन गराउनेहरुमा किशोरीको संख्या उल्लेख्य देखिएकाले यसले सामाजिक विकृतिसमेत निम्त्याउने देखिएको छ ।
(हाम्रो डक्टर मासिकबाट)
 

Last modified on 2018-07-13 13:34:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts