एमडी/एमएस भर्नामा अतिरिक्त रकम माग 

त्रिविबाट सम्बन्धन प्राप्त मेडिकल कलेजले नै दिन थाले दबाब 



Download our app to get more features

काठमाडौं, ४ जेठ । त्रिभुवन विश्वविद्यालयबाट  सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले नै एमडी/एमएस (स्नातकोत्तर) तहमा भर्नाका लागि सरकारले तोके भन्दा दशौं लाख बढी रकम असुल्ने प्रपन्च सुरु गरेका छन् । सरकारले निर्धारण गरेको २२ लाख भन्दा अतिरिक्त १६ लाख ५ हजारसम्म रकम लिन दबाब दिइरहेको सार्वजनिक भएको छ । 

यद्यपि, ती मेडिकल कलेजहरूले एमडी/एमएस भर्नाका बेला भने बढी रकम लिइसकेका छैनन् । त्रिभुवन विश्व विद्यालयद्वारा सम्बन्धन पाएका मेडिकल कलेजहरूले एमडी/एमएस भर्नामा सरकारले तोके बाहेक १६ लाख थप लिने मनसाय देखाएपछि विद्यार्थीहरूले खबरदारी गरेका छन् । 
गण्डकी मेडिकल कलेजमा भर्ना भएका एक विद्यार्थीले भने, ‘अहिलेसम्म कुनै पनि विद्यार्थीबाट बढी पैसा लिएका छैनन् । तर, उनीहरूले २२ लाखमा मात्रै पढाउन नसक्ने बताइरहेका छन्, हामीले भोलिका दिनमा पनि बढी पैसा नलिइयोस् भनेर सुरूवाती चरणमै खबरदारी गरेका हौं ।’ 
सरकारले पिजी तहको शुल्क २२ लाख तोके पनि त्रिवि कार्यकारी परिषद्ले अघिल्लो वर्ष ३१ लाख तोकेको थियो । यसवर्ष पनि त्रिवि मातहतका मेडिकल कलेजले विद्यार्थीसँग सोही शुल्कका आधारमा रकम माग्न थालेका हुन् । 

यी हुन् बार्गेनिङ गर्ने मेडिकल कलेज 
सरकारले क्लिनिकलतर्फ २२ लाख र बेसिकतर्फ १२ लाख ३ हजार ७ सय ७६ रूपैयाँ शुल्क निर्धारण गरेको छ । स्नातकोत्तर भर्नामा चितवन मेडिकल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, पिपुल्स डेन्टल कलेज, नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सले अतिरिक्त रकम मागिरहेको विद्यार्थीहरूले बताएका छन् । कलेजले बढी शुल्क लिन खोजेपछि अध्यनरत विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँलाई समेत भेटेका छन् । खनियाँसँगको भेटमा सहभागी विद्यार्थी गुन्जन खड्काले भने, भिसीलाई भेटेर सबै कुरा राखेका छौं । तर, उहाँले पनि खुलेर जवाफ दिनुभएन । अदालतमा मुद्दा चलिरहेले पनि निर्णय लिन समस्या भएको छ ।’
सरकारले तोकेकै शुल्कमा अध्ययन/अध्यापनको व्यवस्थापन हुनुपर्ने, अध्ययन गर्न जाने विद्यार्थीमाथि आर्थिक शोषण र मानसिक दबाब बन्द हुनुपर्ने एवं सरकारले तोकेको शुल्कमा पढाउन अटेर गर्ने र लाखांै थप शुल्क असुल्ने कलेजहरूलाई कारबाही गर्नुपर्ने माग गरेको खड्काले बताए । 

केयूले तोकेको शुल्कमै पढाउने 
काठमाडौ विश्वविद्यालयबाट मान्यता प्राप्त मेडिकल कलेजहरूले भने सरकारले तोकेको शुल्कमै विद्यार्थी पढाउने गरेका छन् । उनीहरूले सन् २०१३ देखि निरन्तर सरकारले तोकेको शुल्मा पढाइरहेको विद्यार्थीहरूले बताएका छन् । केयूले एमडी/एमएस (स्नातकोत्तर) तहमा भर्नाका लागि २२ लाख ५० हजार रूपैयाँ लिने गरेको छ ।
केयूले सरकारी रेटमा पढाउन सक्ने तर, त्रिभुवन विश्वविद्यालयले किन नसक्ने भन्दै विद्यार्थीहरूले प्रश्न उठाएका छन् । 

जर्बजस्ती गरे सम्बन्धन खारेज गर्न दबाब दिन्छौं : डा. केसी
चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका प्राडा गोविन्द केसीले सरकारले तोकेको शुल्क भन्दा बाहिर गएर कसैले विद्यार्थीसँग बढी रकम लिए परिणाम राम्रो नहुने चेतावनी दिएका छन् ।  विज्ञप्ती जारी गर्दै डा. केसीले अटेर गर्ने मेडिकल कलेजको सम्बन्धन राखेर गर्न आन्दोलनमा लाग्ने चेतावनी समेत दिए ।

उनले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा शिक्षा लिन पाउने अधिकारका लागि निरन्तर लड्दै आएको स्मरण गराएका छन् । चिकित्सा शिक्षाका नाममा हुने अवैध काममा नेपाली सेना जस्तो संस्था जोडिएको र संस्थाको छवीमा नै कालो धब्बा लगाउने दुर्भाग्यपुर्ण अवस्था आएकोप्रति उनले दुःख व्यक्त गरेका छन् । 
डा. केसीले यातायात क्षेत्रको सिन्डिकेटविरुद्ध कडा रूपमा प्रस्तुत भएको सरकार अब मेडिकल माफियाको सिन्डिकेटविरूद्ध पनि कडाइका साथ लाग्न आग्रह गरे ।
 

Last modified on 2018-05-19 09:01:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts