निपाहबाट जोगिन सतर्कता अपनाउन आग्रह



Download our app to get more features

काठमाडौं, ९ जेठ । भारतमा देखिएको निपाह भाइरसको जोखिम नेपालमा पनि रहेको भन्दै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सतर्क रहन आग्रह गरेको छ । 

महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले नेपाल–भारतबीच खुला सिमानाका कारण निपाह भाइरस नेपालमा देखिन सम्भावना उच्च रहेको बताए । यसकारण सतर्क रहन सबैलाई आग्रह गरेको उनको भनाइ छ । 

उनले श्वासप्रश्वासको माध्यमले यो रोगको भाइरस एक व्यक्तिबाट अर्कोमा सहजै सर्ने बताए । खुला सिमानाका कारण दिनहुँ सयौं मानिस नेपाल–भारत आवत जावत गर्ने र सकेसम्म संक्रमण फैलिएको भारतका ति स्थानमा नजान सुझाव दिएको उनले बताए । 

इबोला, स्वाइन फ्लु भन्दा पनि खतरनाक मानिएको यस रोगको भाइरस नेपालमा कुनै पनि बेला देखिनसक्छ । तर, यसबाट जोगिन भने सरकारले कुनै पनि तयारी गरेको छैन ।
केही दिनअघि मात्रै भारतको केरलामा देखिएको निपाह नामक भाइरसका कारण १३ जनाको ज्यान गइसकेको छ । 

के हो निपाह भाइरस ? 
निपाह भाइरस चमेरोबाट सर्छ । यसका संक्रमितमा श्वासप्रश्वासमा कठिनाई, मष्तिस्क सुन्निने, उच्चज्वरो, टाउको दुख्ने, रिङ्गटा लाग्नेजस्ता लक्षण देखिन्छन् । संक्रमित भएको ४८ घण्टामै बिरामी कोमामा जान सक्छ । बिरामीसँग प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरसको भ्याक्सिन अहिलेसम्म बनिसकेको छैन । यसको मुख्य उपचार भनेकै ‘इन्टेन्सिभ सर्पोटिभ केयर’ मा राख्नु हो । 
 

Last modified on 2018-05-23 20:19:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts