१६ बर्षमै सबै कपाल गुमाएकी बालिका भन्छिन् : छाक टार्नै कठिन छ कसरी उपचार गर्ने ?



Download our app to get more features

मेगराज खड्का । रुकुम १४, जेठ । उमेर पुग्दै गएपछि बुढेसकाल उमेर भएकाहरुको कपाल झरेको त देख्नुभएको होला ।

त्यस्तै अधबैशे मानिसहरुको पनि तालु वा अन्य केहि ठाउँमा थोरै मात्रामा कपाल झरेको पनि देख्नुभएकै होला । तर के १६ बर्षकै उमेरमा टाउकोको सबै कपाल झरेको देख्नुभएको छ ? । तर अचम्म नमान्नुहोस रुकुम पूर्वकी एक बालिका यस्तै समस्याबाट पीडित भएकी छिन । सिस्ने गाउँपालिका ५ रुकुमकोटकी  १६ बर्षिया सुस्मा बुढाथोकी विगत ३ बर्ष देखि कपाल झर्ने समस्याले पीडित भएकी हुन् । 


शुरुको बर्षहरुमा थोरै मात्रामा कपाल झरेपनी अहिले भने पुरै कपाल झरिसकेको छ । कपाल झर्न रोक्न उनले धामीझाँक्रि देखि आयुर्वेद र अन्य अस्पतालहरुमा उपचार गराएपनि उनको समस्या कत्ति घटेन । ‘कपाल झर्ने समस्या निकै बढेपछि काठमाण्डौ स्थित टिचिङ अस्पतालमा गईयो, त्यहाँ डाक्टरले रगतको खराबीको कारण यस्तो भएको भन्दै ३ महिना औषधि खानु पर्ने बताएका थिए’ उनले भनिन, ‘नियमित औषधी खाएपछी कपाल आउने चिकित्सकहरुले बताएका थिए तर पैसाको अभावको कारण १५/२० हजारको  १ महिनाको मात्र औषधि ल्याएर खाएको जसका कारण समस्या समाधान भएन उनले भनिन् ।’ 

कपाल उमार्न सक्ने भन्दै संचारमाध्यामहरुमा आर्कषक बिज्ञापनहरु आउने गरेको भएपनि आर्थिक अभावका कारण उनले पर्याप्त उपचार गर्न सकिरहेकी छैनन । कलियो उमेरमै छोरीको पुरै कपाल झर्ने समस्या भएपछि आफुहरु चिन्तित भएको आमा पिमा बुढाथोकी बताउँछिन । ‘अहिले त कपाल मात्र झरेको छ पछि त ज्यान नै लिने खालको पो समस्या हो की, हामी त निकै दुखमा पो छौं’ उनले भनिन्, ‘राम्रो अस्पतालमा उपचार गराऊ भने पनि हामी संग पैसा छैन, यसका बुवा र दाई भारतमा मजदुरी गर्छन त्यो पैसाले साँझ बिहानको छाक टार्ने की यसको उपचार गर्ने ।’ 

शुरु शुरुमा थोरै कपाल झर्दा उपचार गरेर पनि कपाल आउँछ की भन्ने आशा गरेकी सुस्माले अहिले त कपाल आउने आश समेत मारिसकेकी छिन् । ‘अहिले त निकै चिन्ता जागेर आउँछ, न आर्थिक समस्याले उपचार गर्न सकियो, १६ बर्षको उमेरमा नै यसरी पुरै कपाल खुइलियो’ उनले भनिन्, ‘अब फेरि उपचार गर्न जानलाई पैसा छैन कसरी उपचार गर्ने ? दिनरात कपाल नहुँदाको पिरले मन पोलिरहन्छ  ।’ उनी कपाल नभएकै कारण सधै टाउकोमा कपडा बाँधेर नै बिद्यालय जाने गर्छिन । कपाल नहुँदा युवा अवस्थाको आफ्नो रंगिन सपना चकनाचुर बनेको उनको दुखेसो छ ।  
 

Last modified on 2018-05-29 09:05:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts