मर्चवारको रायपुरमा एम्बुलेन्स नहुँदा सुत्केरी बोक्न समस्या



Download our app to get more features

रुपन्देही, १५ जेठ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले रुपन्देहीको मर्चवारमा पहिलो पटक भएको स्वास्थ्य शिविरमा एक हजारभन्दा बढिले स्वास्थ्य जाँच गराएका छन् ।

गणतन्त्र दिवसको अवसर पारेर मर्चवारी गाउँपालिकाको रायपुरमा विशेषज्ञ र उपकरण सहित आयोजना गरिएको स्वास्थ्य शिविरमा करिव एक हजारले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरको उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले समृद्ध प्रदेश र सुखी जनता अभियानलाई सार्थक बनाउन सरकारले पिछडिएको क्षेत्रमा कार्यक्रम लिएर आएको बताए । मर्चवार नेपालको स्वाभिमानसंग जोडिएको भुगोल भएको भन्दै उनले त्यसको उचित विकासमा प्रदेश सरकारले महत्वपूर्ण काम गर्ने बताए ।

गणतन्त्रको प्रत्याभुती दिलाउनका लागि सरकारले जनस्तरमा कार्यक्रम गर्ने उनले बताए । मर्चवारको  स्वास्थ्य विकासका लागि काम हुने उनले बताए । गाउपालिका स्तरमा भएका समस्यालाई प्रदेश सरकार समक्ष ल्याउन उनले आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा, स्वास्थ्यबाट पछि परेको सबै प्रदेशको भुगोलको विकासमा प्रदेश सरकारको पहिलो प्राथमिकता रहने बताए । उनले स्वास्थ्य जस्तो विषयमा लार्पबाही नगरी कार्यसम्पादन गर्न समेत कर्मचारीहरुलाई आग्रह गरे ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाले स्वास्थ्यका क्षेत्रमा योजना ल्याइदिन प्रदेश सरकारलाई आग्रह गरे । यस्तै वडा नम्बर २ का वडाध्यक्ष सुरेन्द्र मिश्राले स्वास्थ्य चौकीका लागि एम्बुलेन्स उपलब्ध गराउन माग गरे । सुत्केरी महिलालाई मोटरसाइकलमा बोकेर लानु परेको भन्दै उनले जनताको स्वास्थ्यमा ख्याल गरिदिन अनुरोध गरे ।

स्वास्थ्य शिविरमा लुम्बिनी अञ्चल अस्पतालका चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका थिए । सबै विभागका विशेषज्ञले स्थानीयको परीक्षण गर्दै निःशुल्क औषधि समेत प्रदान गरिएको थियो । लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालको नेतृत्वमा दर्जन बढी चिकित्सकको सहभागिता रहेको थियो । भिडियो एक्सरे, सर्जरी, हाडजोर्र्नी, प्रसुती, छाला लगायतका सेवाहरु शिविरमा उपलब्ध गराइएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले बताए  ।

Last modified on 2018-07-09 14:28:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts