दाङको शान्तिनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा, स्वास्थ्य शिविर हटाइयो



Download our app to get more features

काठमाडौं,१७ जेठ । दाङको शान्तिनगर गाउँपालिकामा गत शानिबारदेखि फैलिएको झाडापखाला हिजोबाट नियन्त्रणमा आएको त्यस क्षेत्रमा खटिएको स्वास्थ्यकर्मीको टोलीले जनाएको छ । 

हिजो २१ जना सामान्य बिरामी आएको र त्यसपछि बिरामी घटेर स्थिती सामान्य भएपछि हिजो नै दिउँसोदेखि स्वास्थ्य शिविर हटाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए । 

प्रमुख पुनका अनुसार शान्तिनगर गाउँपालिकाका वडा नम्बर ३ र ४ मा फैलिएको झाडापखालाबाट गत शनिबारदेखि हालसम्म १ हजार ६ सय ५६ बिरामी भएका थिए ।
माइलीपानी खानेपानी आयोजनाको मुहानमा प्रदूषण भएपछि झाडापखाला फैलिएको थियो । 

पानी परीक्षणका क्रममा दिसामा पाइने जिवाणु कोलिफर्म ब्याक्टेरिया भेटिएको थियो । पानी प्रदूषित भएपछि गत आइतबारदेखि धाराको पानी प्रयोगमा रोक लगाइएको थियो भने तुलसीपुरबाट ट्यांकरमार्फत बोरिङको पानी वितरण गरिएको थियो ।

मुहान र पाइपलाइन शुद्धिकरण गरी हिजोदेखि फेरी धारामा पानी वितरण गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख तिलक न्यौपानेले बताए ।

स्वास्थ्य विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाको एक प्राविधिक स्वास्थ्य टोली पुगेर पानीको थप परीक्षणका लागि नमूना लिएको छ ।

प्रयोगशाला विशेषज्ञ धनप्रसाद पौडेलको नेतृत्वमा गएको तीन जनाको टोलीले दुई जना बिरामीमा स्क्रब टाइफसको शंका लागेपछि परीक्षणका लागि नमूना लिएको जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बताए । 

Last modified on 2018-05-31 10:57:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts