सुर्तीजन्य पदार्थको सेवन : प्राणघातक दुव्र्यसन



Download our app to get more features

डा. अन्जु खापुङ

कान्तिपुर डेन्टल कलेज

धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ’ यो सन्देशमूलक वाक्य नसुन्ने मानिस कमै होलान् । टिभी, रेडियोमा दिइने विज्ञापन होस् वा चुरोट, खैनीको बट्टा बाहिर वा पत्रपत्रिकामा होस् यस्ता सन्देश सहजै पढ्न, सुन्न र हेर्न सक्छौं । तर, धुम्रपान गर्ने मानिसको संख्या भने घटेको छैन । 

धुम्रपान भन्नाले खासगरी सुर्तीको धुवाँ खानु हो । सुर्तीजन्य पदार्थको सेवनको तरिका दुई प्रकारका हुन्छ । पहिलो सुर्तीको धुवाँ तानेर चुरोट, बिँडी, चिल्लम, हुक्का, सिगार, आदिको प्रयोग र दोस्रो धुवाँरहित खैनी, जर्दा, गुट्खा, पान पराग, मसेरी, गुल आदिको प्रयोग ।

सुर्ती सेवनबारे जान्नै पर्ने तथ्य

  • धुवाँ भएको सुर्तीजन्य पदार्थमा ७,००० प्रकारका रसायन हुन्छन् जसमध्ये ६९ वटाले क्यान्सर गराउँन सक्छन् ।
  • धुवाँरहित सुर्तीजन्य पदार्थमा ३,००० प्रकारका रसायन हुन्छन् जसमध्ये २८ वटाले क्यान्सर गराउँन सक्छन् ।
  • फोक्सोको क्यान्सरको प्रमुख धुम्रपान हुने गरेको छ ।
  • विश्वमा धुम्रपानको कारणले प्रत्येक ७ सेकेण्डमा एउटा मान्छेको मृत्यु हुन्छ ।
  • सुर्तीजन्य पदार्थ मुखको क्यान्सरको प्रमुख कारण हो ।

 किन गरिन्छ सुर्तीसेवन ?

  • साथीभाई, परिवारको प्रभाव
  • टिभीमा कलाकारले सुर्तीजन्य पदार्थ सेवन गरेको देखेर प्रेरित भएर
  • एकपटक चाख्दा कस्तो होला भन्ने उत्सुकताले
  • तनाव हुँदा आनन्दपनको अनुभूति हुने गलत धारण 

सुर्ती सेवन छोड्न यसकारण गाह्रो 

  • मुख्य लत लगाउने तत्व सुर्तीमा रहेको निकोटिन हो ।
  • सुर्तीजन्य पदार्थ सेवन गरेपछि हाम्रो रगतबाट निकोटिन मस्तिष्कमा पुग्छ र त्यसले त्यहाँ डोपामिन भन्ने रसायन धेरै मात्रामा बढाउँछ । यो पदार्थले क्षणिक खुशी र स्फूर्ति महसुस हुन्छ ।
  • यो प्रकृया केहि समयको लागि मात्र हुन्छ । निकोटिनको मात्रा घटेपछि शरीरलाई फेरी यसको आवश्कता पर्छ र सुर्ती खान तलतल हुन्छ ।
  • यसरी शारीरिक निर्भरता बढ्ने भएकोले यो बानी छोड्न निकै गाह्रो हुन्छ ।

सुर्ती सेवनका असरहरू 

  • श्वासप्रश्वास सम्वन्धी रोगहरू (दम, खोकी, ब्रोङ्काइटिस
  • सास फेर्न गाह्रो हुने
  • मुखको दुर्गन्ध
  • दाँतमा फोहर हुने
  • गिजाको समस्या
  • मुखमा घाउ र सेता दाग आउने
  • पेटको समस्या (पेट दुख्ने पेटमा घाउ हुने, वाकवाक लाग्ने)
  • उमेरभन्दा अगाडि नै बुढो देखिने
  • छाला चाउरी पर्ने
  • मुटुको रोग
  • हड्डी कमजोर हुने
  • फोक्सो र मुखका साथै शरीरका अन्य भागमा पनि क्यान्सर हुने

धुम्रपानले अरुलाई पनि असर 

  • धुम्रपानले हामी आफूलाई मात्र होइन, यसबाट निस्कने धुवाँले आफू वरपरका व्यक्तिलाई पनि हानि गरिरहेको हुन्छ । यसलाई निस्क्रिय धुम्रपान भनिन्छ ।
  • धुम्रपान गर्ने व्यक्तिमा हुनसक्ने समस्याहरू निस्क्रिय धुम्रपान गर्नेमा पनि उत्तिकै देखिन्छ ।
  • यसले प्रायः बालबालिका, गर्भवती महिला र गर्भमा रहेको शिशुलाई धेरै असर गर्छ ।
  • सोफा, पर्दा, कपडाहरूमा रहेको धुँवाले पनि नराम्रो असर गर्दछ भन्ने कुरा प्रमाणित भईसकेको छ र यसबारे थप अनुसन्धान हुँदैछ । यसलाई थर्ड ह्याण्ड स्मोकिङ भनिन्छ ।

सुर्ती किन त्याग्ने ?

  • स्वस्थ्य, सुन्दर र सुरक्षित जीवन बनाउन ।
  • सुर्तीमा हुने अनावश्यक खर्च जोगाउन ।
  • समाजमा एउटा प्रेरणादायी आदर्शको पात्र बन्न, जसबाट आफ्नै परिवारका
  • सदस्यले, छिमेकी र साथीभाईले पनि अनुकरण गरुन् ।

सुर्ती कसरी त्याग्ने ?

  • सुर्तिजन्य पदार्थको नकारात्मक असर थाहा हुँदा पनि र मैले यो दुव्र्यसन छोड्नुपर्छ भन्ने भावना हुँदा पनि शारीरिक र मानसिक निर्भरताले गर्दा यसलाई त्याग्न निकै गाह्रो हुन्छ ।
  • यसको लागि दृढसंकल्प र तत्परताको आवश्यकता पर्छ । आफूलाई गाह्रो हुँदा तालिमप्राप्त स्वास्थ्यकर्मीको मद्दत पनि लिन सकिन्छ ।
  • धुम्रपान छोड्दा योजना बनाउनुपर्छ । पहिले त छोड्ने एउटा निश्चित दिन तोक्नु पर्छ । सुर्तीको नकारात्मक असर मात्र छन्, सकारात्मक केहि छैन भन्ने कुरा मनमा हुनु पर्छ । यसले आफूलाई छोड्ने प्रेरणा दिन्छ ।
  • सुर्तीसेवनसँग सम्वन्धित क्रियाकलाप जस्तंै चिया, कफी, खराब सँगतमा घुलमिल, मद्यपान, तनाव, आदिबाट टाढा रहनुपर्छ ।
  • तलतल लाग्दा चुइगम, ल्वाङ्ग, सौफ चपाउने, बिस्तारै लामो श्वास लिने र फाल्ने, प्रशस्त पानी पिउने र आफूलाई व्यस्त राख्ने ।
  • तलतल केही क्षणलाई मात्र हुन्छ, यो बेला आफूमाथि नियन्त्रण गर्न सकियो भने यो दुव्र्यसनलाई त्याग्न सजिलो हुन्छ ।
  • सुर्तीजन्य पदार्थमाथि धेरै नै निर्भरता भएको छ भने स्वास्थ्यकर्मीको परामर्श लिएर निकोटिन चुइगमको प्रयोग गर्न सकिन्छ ।
Last modified on 2019-03-02 07:19:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts