यी हुन् नेपालमा असामयिक मृत्यु गराउने १० कारण



Download our app to get more features

बीबीसी,१८ जेठ । नेपालमा विगत एक दशकमा मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशुसम्बन्धी रोग र अन्य कारणबाट मानिसहरूको असामयिक मृत्यु भएको देखिएको छ ।

अन्य प्रमुख कारणमा झाडापखाला, नवजात शिशुमा हुने इन्सेफलोपथी अर्थात मस्तिष्कको सुजन र नवजात शिशुमा हुने अन्य रोग रहेको एउटा अन्तराष्ट्रिय अध्ययनले देखाएको छ ।’ग्लोबल बर्डन अफ डिजिज स्टडी २०१६’ मा नेपाल लगायत अन्य देशबाट सन् २००५ देखि २०१६ सम्म सङ्कलित तथ्याङ्कको अध्ययन र विश्लेषण गरिएको छ ।

उक्त अध्ययनले मस्तिष्कको रक्तनलीका रोग, सीओपीडी भनिने श्वासप्रश्वासको दीर्घरोग, सडक दुर्घटनामा हुने चोटपटक, समय नपुगी हुने जन्म, क्षयरोग र आत्महत्याका पनि नेपालमा हुने असामयिक मृत्युका शीर्ष कारकका रूपमा देखाएको छ ।

उक्त अध्ययनका अनुसार सन् २००५ को तुलनामा सन् २०१६ मा मधुमेहसँग सम्बन्धित जटिलताका कारण हुने मृत्युमा झन्डै ५९ प्रतिशतले वृद्धि भएको छ । ग्लोबल बर्डेन अफ डिजिज स्टडी २०१६’ का अनुसार सन् २००५ मा भएका मृत्युका कारणमा श्वासनलीको तल्लो भागको संक्रमण पहिलो स्थानमा थियो भने मधुमेह ११ औँ स्थानमा थियो ।सन् २००५ को तुलनामा सन् २०१६ मा श्वासनलीको तल्लो भागको सङ्क्रमणका कारण हुने मृत्युमा करिब ४० प्रतिशतले वृद्धि भएको छ । मधुमेहसँग सम्बन्धित जटिलताका कारण हुने मृत्युमा चाहिँ झन्डै ५९ प्रतिशतले वृद्धि भएको सो अध्ययनमा उल्लेख छ ।

यस्तो डरलाग्दो स्थिति कसरी बन्यो त ?    
चिकित्सकहरूले विलासी जीवनशैली र खानपानमा गरिने लापर्वाहीका कारण मधुमेहसँग सम्बन्धित समस्या बढेको बताएका छन्। जनस्वास्थ्य विज्ञ डा. रीता थापा भन्छिन्, “कारणहरू हाम्रै हातमा छन्। हाम्रो जीवनशैलीसँग जोडिएका कुरा छन् । हाम्रो आनाबानी, रहनसहन, खानपानका कुरा, व्यायाम नगर्ने र अर्को ठूलो समस्या तयारी खानेकुरा हो।“

उनका अनुसार जीवनशैलीसँग जोडिएका कुराहरू सबै मुटु रोगसँग मात्रै नभई मृत्युको जोखिम निम्त्याउने अरू कारणसँग पनि अन्तरसम्बिन्धत छन्।सन् २००५ मा मृत्युका प्रमुख कारणमध्ये ११ औँ स्थानमा रहेको मधुमेह सन् २०१६ मा छैटौँ स्थानमा उक्लेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार सन् २००५ को तुलनामा सन् २०१६ मा मिर्गौलाको दीर्घरोगबाट मर्नेहरू ३७ प्रतिशतले बढेका छन् ।

सन् २००६ मा १२ औँ स्थानमा रहेको मिर्गौलाको दीर्घरोग सन् २०१६ मा नवौँ स्थानमा उक्लेको छ ।चिकित्सकहरूका अनुसार पछिल्लो समय यो समस्या विश्वव्यापी बढ्दो छ ।
पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्माका अनुसार नेपालको हकमा रोकथाममा केन्द्रित नहुनु एउटा प्रमुख कारण हो ।उनी भन्छिन्, “रोकथाम भन्दा पनि उपचारमा बढी केन्द्रित भएको जस्तो लाग्छ।“ मधुमेह र रक्तचापसम्बन्धी समस्यालाई हुनै नदिए मिर्गौलाको दीर्घरोग नियन्त्रण गर्नसकिने उनको बुझाइ छ । नसर्ने यस्ता रोगहरूको उपचारभन्दा रोग हुनै नदिनेतर्फ केन्द्रित हुनुपर्नेमा डा. रीता थापाको पनि जोड छ ।

उनी भन्छिन्, “विद्यालय तहदेखि नै किशोरकिशोरीलाई स्वस्थ जीवनशैली अपनाउने बनाउन सकिए धेरै हदसम्म त्यस्ता रोगको रोकथाम गर्न सकिन्छ ।“सावधानीका थप कदमबारे डा. सुधा शर्मा भन्छिन्, “रोकथाममा हामी बढी केन्द्रित हुनुपर्छ। विद्यालय तहबाटै रक्तचाप र प्रोटिनसम्बन्धी जाँच गराउनुर्पयो, नियमित जाँच हुनुपर्यो ।

असामयिक मृत्युका कारणहरूमा आएको फेरबदलसँगै राज्यले पनि सोही अनुसार रोकथामसम्बन्धी आफ्ना नीति र प्राथमिकता परिवर्तन गर्नुपर्ने विज्ञहरू बताउँछन्।राज्यले तदरूप नै नीति अवलम्बन गर्न खोजेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रमान श्रेष्ठ बताउँछन्।

श्रेष्ठ भन्छन्, “नसर्ने रोगबारे घरघरमा जनचेतना बढाउन, कम गर्नका लागि जीवनशैलीमा परिवर्तन गर्न, ठिक समयमा निदान र उपचारको व्यवस्था गर्न हामीले यस वर्षदेखि राष्ट्रव्यापी अभियानका रूपमा नीति तथा कार्यक्रम तय गरेका छौँ।“

Last modified on 2018-06-01 16:55:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts