लाखौंको उपचार गरेका डा. दम्पत्ति बिरामी हुँदा कुरुवा समेत छैनन्



Download our app to get more features

सुरुङ्गा (झापा), १८ जेठ । एक रुपैयाँ पनि उपचार शुल्क नलिई २५ वर्षसम्म निरन्तर बिरामीको सेवामा समर्पित रहेका एक जना चिकित्सक दम्पत्ति रोगले थलापरेपछि अहिले उनको हेरचाह गर्ने कोहि छैन् । 

श्रीमानको भारतको सिलगढी स्थित आनन्दलोक अस्पतालमा आन्द्राको शल्यक्रिया गरिएको छ भने श्रीमतीको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि बिर्तामोडस्थित बिर्तासटी अस्पतालमा उपचार भइरहेको छ । तर दुबै जनाको हेरचाहका लागि कोहि पनि छैन् । 

नेपालमा रहेर स्वदेशफिर्ती अभियान चलाइरहेका भुटानी शरणार्थी नेता डा. भम्पा राईको भारतको सिलगढी स्थित आनन्दलोक अस्पतालमा आन्द्राको शल्यक्रिया गरिएको छ । चार दिनअघि शल्यक्रिया गरिएको उनको हेरचाहका लागि कोहि आफन्त छैन् । 

उनकी श्रीमती उर्मिला राई आफैं बिरामी भएपछि उनको हेरचाह गर्ने पनि कोहि छैन् । डा. राईको शल्यक्रिया भएको र हेरचाहका लागि कोहि नभएको थाहापाएपछि किशोर राई आफैं हेरचाह र सहयोगका लागि आनन्दलोक अस्पताल पुगे । 

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उनकी श्रीमती उर्मिलाको बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण यो परिवार अहिले जीवनमरणको दोसाँधमा बाँचिरहेका छन । सन् १९९१ मा भुटानबाट शरणार्थी बनेर नेपाल भित्रिएका डा राईले त्यसयता बिरामीको निरन्तर निःशुल्क सेवा गर्दै आएका छन् । 

त्यसबेला उनलाई पैसा केही होइन जस्तो लाग्थ्यो, अप्ठ्यारोमा परेकालाई साथ दिनु ठूलो धर्म हो, उनी सम्झन्थे । तर, अहिले उनी आर्थिक अभावकै कारण जीवनमरणको दोसाँधमा छन् । 

भुटानमा भएको आफ्नो सम्पत्ति शान, मान र दाम पनि एकैपटक छाडेर शरणार्थी बन्दै नेपाल आएका उनी पनि अन्य भुटानी शरणार्थी जस्तै सन् १९९१ देखि झापाको कनकाई नदीको बगरमा आएर बस्न थाले । त्यसपछि उनी दमकस्थित भुटानी शरणार्थी शिविरमा पुगेका हुन् । उनी दमकमा स्वास्थ्य क्लिनिक नै चलाएर बसेका थिए । निःशुल्क उपचार गरिदिए वापत उनी सबैका प्रिय थिए । नेपालको २६ वर्षसम्मको बसाइँमा उनले कहिले पनि पैसालाई महत्व दिएनन् । 

श्रीमतीको पनि दुवै मिर्गाैलाले काम गर्न छोडेपछि तनावमा रहेका डा राईको आन्द्रामा समस्या भएपछि शल्यक्रिया गरिएको छ । श्रीमतीको मिर्गाैला फेर्नलाई रु ६० लाखभन्दा बढी लाग्ने भएपछि उनी अहिले आर्थिक अभावले पिरोलिएका छन् । त्यसमाथि आफैँ थलिएपछि यो परिवारमा समस्यामाथि समस्या थपिएको हो । 

भुटानमा रहँदा भुटान सरकारका कन्सल्टेन्ट सर्जन थिए । बंगलादेशको ढाका विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गर्नुभएका डा राई १९७५ देखि चिकित्सा पेशामा संलग्न भए । सन् १९७९ देखि भुटान सरकारको कन्सल्टेन्ट सर्जनका रुपमा काम गरे । नेपालमा रहेका भुटानी शरणार्थीहरु बिरामी परे, उनीहरुलाई कसले हेर्छ ? भन्दै शरणार्थीको पछि लागेर उनी नेपाल आए । 

बहत्तर वर्षीय डा. राईलाई कहिले पनि पुनर्वासको लोभले छोएन । अझै पनि भुटान नै सम्झन्छन् उनी । अहिले मृत्यु शैय्यामा रहे पनि भुटानीलाई स्वदेश फर्काउन चाहिरहेको उनकी श्रीमती उर्मिलाले बताइन् । 

श्रीमती बिरामी परेदेखि टुलुटुलुमात्र हेरिरहने डा. राई अचानक बिरामी परेपछि उनलाई स्थानीयवासीले उपचारका लागि भारतको सिलगढी पु¥याएका थिए । विगत सात महिनादेखि उनकी श्रीमती मिर्गौला समस्याका कारण ओच्छ्यानमा छिन् । उनको हेरचाह छरछिमेकले गर्दै आएका छन् । 

डा राईले भुटानी शरणार्थी स्वदेश फिर्ती संयोजन परिषद् (विआरसिसी) स्थापना गरेर स्वदेश फिर्ती आन्दोलन चलाइरहेका थिए । उनी विआरसिसीका अध्यक्षसमेत हुन् । 

करीब सवा लाख मानिसलाई अढाइ दशकमा उहाँले कैयौँपटक उपचार गर्नुभयो । तर, उहाँ अहिले बिरामी पर्दा सबैबाट टाढा छन् । न्यूरो सर्जन भएकाले उनले भुटानको दरबारमा रहेर सेवा गरेका थिए । उनले राजपरिवारको समेत औषधि उपचार गर्न भ्याए । गुवाहाटी मेडिकल कलेजमा समेत अध्ययन गरेका डा राईले नेपालमा रहेर धेरैपटक भुटानीलाई स्वदेश फिर्तीको आन्दोलन चलाए । 

आन्दोलनकै क्रममा उनी गम्भीर बिरामी बनेपछि बेलडाँगी शिविरबाट बाहिर डेरा लिएर बस्न थाले । उनको अहिले डेरा भाडा तिर्नेसम्म अवस्था छैन । डा राईसहित नेपाली भाषी भुटानी अगुवा नेता रणबहादुर बस्नेत, दिलप्रसाद बस्नेत, भीम सुब्बा, हरिप्रसाद अधिकारी, एसपी सुब्बा, हरि क्षेत्री, टेकनाथ रिजाल नेपाल आएका थिए । 

आमाबुबासाथ नेपाल आएका डा राईका आमा विष्णुमाया राईको २०५४ सालमा र बुबा आइतराज राईको ११ वर्षअघि निधन भएपछि परिवारमा उनीहरु दुईजना मात्र रहे । 

बिर्तासिटीमा उर्मिलाको उपचार 

बिर्तासिटी अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतको अगुवाइमा अहिले डा राईकी श्रीमती उर्मिलाको उपचार भइरहेको छ । 

अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतले उर्मिलाको उपचारमा लाग्ने खर्चको व्यवस्थापन गर्दै हप्तामा दुईपटक उहाँको मिर्गौलाको डायलोसिस हुँदै आएको जानकारी दिए । 

अस्पतालमा उपचाररत रहेकै बेला भेटिएकी उर्मिलाले भनिन्, “श्रीमान् भारतको अस्पतालमा मृत्यु शैय्यामा रहँदा म यता बिरामीले छटपटाइरहेकी थिएँ । यस्तो अवस्थामा अस्पतालले औषधि उपचार गरेर तिर्नै नसक्ने गुन लगाएको छ ।” उनले उपचारमा संलग्न चिकित्सकसहित अस्पताल प्रशासनलाई धन्यवाद दिएकी छिन् ।

रासस

Last modified on 2018-06-02 15:36:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts