जब डा. अन्जनी झाले डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मञ्चमै व्यंग्य गरे...



Download our app to get more features

काठमाण्डौ । चिकित्सा शिक्षा ऐन नबनाई थप निजी मेडिकल कलेजलाई सम्बन्धन दिनुहुँदैन भनेर सत्याग्रह चलाएका डा. गोविन्द केसीको सबैभन्दा ठूलो 'ब्याक फोर्स' नेपाल चिकित्सक संघ थियो जतिबेला त्यो संघका अध्यक्ष डा. अन्जनी झा थिए । 

गोविन्द केसीको दुईतिनवटा अनशनलाई टुंग्याउन र सहमति जुटाउन सबैभन्दा खटिएका व्यक्ति पनि डा. झा हुन् । तर, नेपाल चिकित्सक संघ, गोविन्द केसी र आमसमर्थन एकातिर हुँदा पनि दुईवटा मेडिकल कलेजले सम्बन्धन लिएरै छाडे । त्यो मध्ये एउटा मेडिकल कलेज विराट मेडिकल कलेजका सञ्चालक हुन् डा. ज्ञानेन्द्रमान सिंह कार्की । 

उनीहरु दुवैजना शनिवार एउटा कार्यक्रममा एउटै मञ्चमा देखिए । तर, कार्यक्रममा त्यतिबेला हाँसो गुञ्जियो जतिबेला डा. झाले डा. कार्कीलाई लक्षित गर्दै व्यंग्य गरे । फर्टिलिटी सोसाइटी अफ नेपालको उद्घाटन कार्यक्रममा शुभकामना दिने क्रममा डा. झाले डा. ज्ञानेन्द्रलाई रोक्ने कसैको हिम्मत नभएको भन्दै घोचपेच गरे । उनले भने 'यति राम्रो संस्था सुरु भएको छ । डा. ज्ञानेन्द्रमान जी पनि यहिँ हुनुहुन्छ । यो संस्था अगाडी बढोस् कसैले रोक्न नसक्ने गरी । जस्तो की उहाँलाई (डा. कार्की) कसैले रोक्न सक्दैन । '

यतिमात्र होइन उनले ज्ञानेन्द्रलाई इंगित गर्दै संस्थाले कम रेटमा आइभिएफ सेवा दिने व्यवस्था मिलाउन आग्रह गरे र भने 'रेट कम होस् तर रेटका बारेमा त हामीलाई भन्दा डा.कार्कीलाई थाहा छ ।'  उनले निजी मेडिकल कलेजले विद्यार्थीसँग तोकिएभन्दा बढि शुल्क लिएको विषयलाई लक्षित गर्न खोज्दै डा. कार्कीलाई रेटको बारेमा बढि थाहा भएको भन्दै व्यंग्य गरे । यो सब मञ्चमा बसेर सुनिरहेका डा. कार्की भने मुसुमुसु हाँसिरहे मात्र । डा. झाको व्यंग्य डा. कार्कीलाई मात्र थिएन । घुमाउरो पारामा निजी मेडिकल तथा डेन्टल कलेज एशोसियसनका तत्कालिन अध्यक्ष डा. भोला रिजालप्रति पनि भएको सहजै अनुमान लगाउन सकिन्थ्यो । 

Last modified on 2018-06-03 10:06:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts