बिरामी पर्न थाले जलेश्वर कारागारका कैदीबन्दी 



Download our app to get more features

जलेश्वर, २२ जेठ । जिल्ला कारागार जलेश्वरका कैदीबन्दी विभिन्न स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसित रहेको फेला परेको छ । कारागारको क्षमता भन्दा तीन गुना बढी कैदीबन्दी कोचिएर बस्नु पर्दा उनीहरूमा विभिन्न समस्या उत्पन्न भएको हो । 

कारागारको क्षमता भन्दा बढी कैदीबन्दी रहेका कारण उनीहरूले सुद्ध खानेपानी, अत्यावश्यक औषधि समेत पाउन नसकेको कारागार प्रशासनले जनाएको छ । शौचालय जान समेत पालो पर्खेर बस्नु पर्ने अवस्था रहेको कारागारले जनाएको छ । यस कारागारको क्षमता १ सय ३५ को भए पनि हाल ४ सय ५३ कैदी रहँदै आएका छन् ।

कैदीबन्दी बिरामी हुँदा समेत औषधि उपलब्ध नगराइदिने, सुद्ध खानेपानीको अभाव, शौचालय अभाव र भएको शौचालय पनि फोहोर र दुर्गन्धित हुँदा कैदीहरू सधैजसो बिरामी पर्ने गरेको कारागारका एक बन्दीले बताए । उनले कैदीबन्दीलाई दिने खाना पनि सफा नहुने गरेकाले झाडा पखाला, फुड पोइजिनिङ्ग हुने तथा वान्ता हुने जस्ता समस्या पटक पटक देखिने गरेको बताए ।

जेलमा कैदीबन्दीसँग गरिने व्यवहारका कारण मानसिक सन्तुलन गुमाउने र तनावपूर्ण अवस्थामा बस्नु परिरहेको उनको भनाइ छ । जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले भने कारागार प्रशासनले सक्ने सेवा सुविधा उपलब्ध गराउँदै आएको बताए । उनले जेलको विकासका लागि प्रदेश सरकारले निर्णय लिने हुनाले जेलरले मात्रै केही गर्न नसक्ने पनि बताए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts