जब 'स्मोक फ्रि सिटी'को कार्यक्रमलाई मेयर र मन्त्रीले मजाक बनाए...

डेढ घण्टा कुराएर मन्त्री र मेयर आएनन्



Download our app to get more features

काठमाण्डौ । राजधानीको जमलस्थित एल्लो प्योगोडा होटलमा शुक्रवार मध्यान्हदेखि नै उपत्यकाभित्रका नगर तथा वडाका जनप्रतिनिधि भेला हुन थालिसकेका थिए ।

१ बज्दा नबज्दै कार्यक्रममा स्वास्थ्य मन्त्रालय, विभाग, महानगरका अधिकारी तथा सरोकारवाला निकायका सयौं मान्छे भेला भए । 'टोबाको कन्ट्रोल: स्मोक फ्रि सिटी' कार्यक्रम अन्तर्गत अमेरिकाको ब्लुम्वर्ग इन्टरनेशनलले विश्वका विभिन्न ५० वटा शहरमा थालेको सूर्तिजन्य पदार्थ प्रयोग निर्मुलन गर्ने अभियान अन्तर्गतको कार्यक्रम अनुसार काठमाण्डौ महानगरले अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो । 

तर, १ बजे सुरु हुने भनिएको कार्यक्रम साँढे दुईबजेसम्म पनि सुरु भएन । कार्यक्रम सुरु नभएपछि सहभागीलाई रोक्न आयोजकले कार्यक्रमपछि खानुपर्ने खाजा अगाडी नै खोलिदियो । कार्यक्रम आयोजक घरी मन्त्रीलाई फोन लगाउने घरी मेयरलाई फोन लगाउनमै व्यस्त भए । कार्यक्रममा सहभागीहरु कोही खाजा खाने, कोही एकअर्कामा हाँसीमजाक गर्नमा व्यस्त भए । समय नभएका सहभागी फर्कन थाले । डेढघण्टा कुर्दापनि स्वास्थ्यराज्य मन्त्री पद्मा अर्याल र काठमाण्डाैका  मेयर विद्यासुन्दर शाक्य दुवै नआएपछि काठमाण्डौ महानगरकी उपाध्यक्ष हरिप्रभा खड्गीले कार्यक्रमको अध्यक्षता गरेसँगै कार्यक्रम सुरु भयो । अझै पनि आयोजकले मन्त्री र मेयर आउने रटान भने लगाई नै रहेको थियो । कार्यक्रममा मन्त्री र मेयरमात्र होइन आमन्त्रण गरिएका अधिकांश प्रतिनिधि तथा प्रदेश सभाका सांसदहरु पनि आएनन् । 

मन्त्री नै किन चाहियो ?
कार्यक्रममा सूर्तिजन्य पदार्थ नियमन तथा नियमनसम्बन्धी विषयमा बोल्नका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीहरु पुगेका थिए । आफ्ना स्थानीय तहमा कसरी यसलाई कार्यान्वयन गर्ने भन्ने छलफलका लागि विभिन्न नगर तथा वडाका प्रतिनिधि सहभागी जम्मा भएका थिए । तर, मन्त्री र मेयरले आउने वा नआउने भन्नेसमेत पनि स्पष्ट जानकारी नदिई डेढ घण्टा कुराएर कार्यक्रममको प्रभावकारितालाई मात्र घटाएनन् । अन्तक्र्रिया मात्रै गर्नसमेत यत्रो कठिन हुँदा सूर्तिरहित काठमाण्डौ बनाउने कुराचाहीँ आफैमाथिको व्यंग्य त होइन भन्ने भन्ने त्यहाँका अधिकांश सहभागीलाई पर्यो होला । 

के हो स्मार्ट सिटी ?
स्मार्ट सिटीको अवधारणा अमेरिकी एकजना मेयर ब्लुमबर्गले सुरु गरेको अभियान हो । जसअन्तर्गत उनको संस्थाले विश्वका विभिन्न ५० वटा शहरमा यस्ता अभियान सुरु गरेको छ । नेपालले सूर्तिजन्य पदार्थको प्याकेजमा ९० प्रतिशत चेतावनीमूलक सन्देश पुर्याएबापत उनै ब्लुमबर्गको नाममा रहेको अवार्ड समेत पाएको थियो । सोही शिलशिला अनुरुप काठमाण्डौ शहरलाई सूर्तिजन्य पदार्थ मुक्त शहर बनाउने अभियान थालेको यस अभियानका प्राविधिक विशेषज्ञ स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तराष्ट्रिय समन्वय महाशाखाका निर्देशक महेन्द्र श्रेष्ठले बताए । कार्यक्रम अनुसार काठमाण्डौ महानगरलाई सो संस्थाले एक करोड पैसा पनि दिएको छ । उसले यस अभियानका लागि प्राविधिक सहयोग पनि गर्दै आएको छ । तर, यो सब अभियान अपेक्षाकृत रुपमा प्रभावकारी नबनेको स्वयं श्रेष्ठले स्वीकार गरे । 

कार्यक्रममा स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रकी प्रमुख स्वास्थ्य शिक्षा प्रशासक डा. राधिका थपलियाले नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगको अवस्था तथा यसले गर्ने शारीरिक र मानसिक हानीहरुका बारेमा प्रकाश पारिन् । निर्धारित समयभन्दा धेरै ढिलो कार्यक्रम सुरु भएको हुँदा उनीपछि कसले के बोल्यो भन्ने विषयचाहीँ समाचारमा समेट्न सकिएको छैन । 

Last modified on 2018-06-09 09:17:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts