कञ्चनपुरको बेलौरीमा सञ्चालित आँखा शिविरमा ३ सय ३० जनाको आँखा जाँच



Download our app to get more features

कञ्चनपुर, २७ जेठ । कञ्चनपुरको बेलौरीमा सञ्चालित आँखा शिविरमा ३३० जनाको आँखा जाँच गरिएको छ । 

बेलौरी नगरपालिकाको आर्थिक सहयोग र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा जनजागरण नेपालले शनिबार आयोजना गरेको शिविरमा महिला १ सय ८७ र पुरुष १ सय ४३ गरी जम्मा ३ सय ३० जनाले आँखा जाँच गराएका हुन् । उक्त शिविरमा ७३ जनाको निःशुल्क शल्यक्रिया गर्नुपर्ने देखिएको छ । जस मध्ये ७१ जनामा मोतिविन्दु र २ जनामा जलविन्दु देखिएको छ । 

उक्त शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव तथा सेवा लिन अस्पताल जान नसकेका र मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका रोगीहरु पनि रहेका थिए । ती बिरामीहरुको गेटा आँखा अस्पताल कैलालीमा निःशुल्क शल्यक्रिया गरिने आयोजक जनजागरण नेपालका सल्लाहकार गोविन्द प्रसाद भट्टले बताएका छन् ।
 
शनिबार लक्ष्मी माविको प्रांगणमा आयोजित निःशुल्क आँखा शिविरको उद्घाटन गर्दै बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगरभित्रका आँखाका बिरामीहरुलाई लक्षित गरी आयोजना गरिएको शिविर यसअघि नै गरिसक्नुपर्ने भएपनि प्राविधिक कारणले ढिलाई भएको उल्लेख गरेका छन् । वर्षातका कारण धेरै आँखाका बिरामीहरु उपस्थित हुन नसक्ने परिस्थिति सृजना भएकोले आयोजक संग समन्वय गरेर समय थप गर्न सकिने उनले बताए ।  

शिविरमा उपस्थित अधिकांश बिरामीहरुले गाउँघरमै सेवा पाउँदा खुसी व्यक्त गरेका छन् भने केही बिरामीहरुले वडावडामा शिविर सञ्चालन गरेको भए सबै आँखाका बिरामीहरुले पनि आँखा जाँच गर्न पाउने प्रतिकृया दिएका छन् । त्यस्तै, जनजागरण नेपालका अध्यक्ष कृष्ण बगालेले यस अघि नेपाल नेत्र ज्योति संघको सहयोगमा सबै वडा स्तरमा शिविर सञ्चालन गरिएपनि यसपटक भने बेलौरी नगरपालिकाको न्युनतम बजेटमा कार्यक्रम दिनुपरेकोले सबैलाई समेट्न नसकिएको स्वीकार गरेका छन् । 

शिविरमा गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत एवं वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्ट लगायत प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेको छ । उक्त शिविर संचालनमा लक्ष्मी मावि जब्दीया र लक्ष्मीपुर स्वास्थ्य चौकी, नेपाल प्रहरी र स्थानीयहरुले महत्वपूर्ण सहयोग पुर्याएको  आयोजकले जनाएको छ । यही असार २ गते बेलौरी नगरपालिका कै रामपुर स्वास्थ्य चौकीमा अर्को आँखा शिविर आयोजना गरिने छ । 

सात नम्बर प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पतालमा उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई सात नम्बर प्रदेशका ९ वटै जिल्लाहरुमा आँखा शिविर संचालन गर्दै आइरहेको गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत एवं वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टको दाबी छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts