कोरियामैत्री अस्पताललाई पाँच वर्षभित्र पाँच सय शय्याको बनाउने घोषणा



Download our app to get more features

भक्तपुर, २९ जेठ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले नेपालको स्वास्थ्य सेवाको अवस्था प्रशंसायोग्य रहेको बताएका छन् । 

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री अस्पतालको नवांैँ वार्षिकोत्सवको अवसरमा उनले नेपालका चिकित्सक अस्पताल र सेवा विकसित मुलुकको भन्दा कम नभएको बताउँदै नेपाल कोरियामैत्री अस्पतालले नेपालभरका जनतालाई सेवा दिन सक्ने गरी क्षमता विकास गर्नुपर्नेमा जोड दिए । सरकारले ल्याएको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सके राज्यको आर्थिक विकासलाई समेत टेवा मिल्ने उनले बताए ।  

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पताललाई आगामी पाँच वर्षभित्र ५०० शय्याको देशकै नमूनाको अस्पताल बनाउने अठोट नगरपालिकाले लिएको बताए । अस्पतालले नर्सिङ कलेज सञ्चालन गर्नेदेखि कर्मचारीको सेवा, सुविधा वृद्धि गर्ने जानकारी पनि उनले दिए ।  

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्राडा ज्ञानकृष्ण कायस्थले अस्पतालले हाडजोर्नी, प्रसूति, सामान्य चिकित्सकादेखि अधिकांश स्वास्थ्य सेवामा विशेषज्ञ चिकित्सक राखेर सेवा विस्तार गर्दै आएको जानकारी दिए ।  

प्रदेशसभा सदस्यद्वय राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठले अस्पतालबाट सबै उपचार सेवा दिन सकिने गरी सेवा र गुणस्तरमा वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, काँग्रेसका युवा नेता अष्टकुमार कवें, अस्पताल व्यवस्थापन समितिका सदस्य हरिदास प्रजापतिलगायतले अस्पताललाई विशेषकृत अस्पतालका रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिए । सो अवसरमा ५६ रक्तदातालाई कदरपत्र प्रदान गरिएको थियो । रासस

Last modified on 2018-06-13 09:28:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts