चिकित्सक संघले मन्त्री यादवसँग माग्यो 'जेल विथवाउट बेल'देखि भवन बनाउने पैसासम्म



Download our app to get more features

काठमाण्डौ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले चिकित्सकहरुलाई आफ्नोमात्र विषय नभएर समग्र स्वास्थ्य क्षेत्रको समाधानमा हातेमालो गर्न आग्रह गरेका छन् । 

नेपाल चिकित्सक संघले मंगलबार राजधानीमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री यादवले यस्तो बताएका हुन् । चिकित्सकको पेशागत हकअधिकारको संरक्षणका लागि सरकार सँधै तत्पर रहेको बताउँदै मन्त्री यादवले यतिबेला स्वास्थ्य क्षेत्रको सुधारलाई समग्रतामा हेर्नुपर्ने भएकाले चिकित्सकलाई रचनात्मक भूमिका खेल्न आग्रह गरे । उनले सरकारी अस्पताल र शिक्षण संस्थाको गुणस्तर किन दिनानुदिन खस्कियो भन्ने बारे बहस गर्नुपर्ने बताए । उनले भने, 'एउटै चिकित्सकले कति ठाउँ भ्याउने ? सरकारी अस्पताल, मेडिकल कलेज, प्राइभेट अस्पताल, क्लिनिक सबै भ्याउने ?'

मन्त्री यादवलाई स्वागत गर्ने क्रममा नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले संघको मागपत्र वाचन गरेका थिए । जसमा चिकित्सकहरुले लामो समयदेखि उठाउँदै आएका चिकित्सकमाथि आक्रमण गर्नेलाई बिना धरौटी जेल चलान गर्नुपर्ने मागसहित छात्रवृत्तिमा स्नातकोत्तर गर्ने चिकित्सकको अनिवार्य सरकारी सेवा अवधि ५ वर्ष अमान्य हुने लगायत छन् । त्यस्तै संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको संघीयतामा स्वास्थ्य सेवाको संरचना पनि आफुलाई मान्य नभएको बताएको छ । 

स्वागत कार्यक्रममा संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले संघको निर्माणधिन भवन सम्पन्न गर्नका लागि स्वास्थ्य मन्त्रालयबाट निकासा हुनुपर्ने रकम नभएको भन्दै भवन निर्माण अलपत्र हुन नदिन मन्त्री यादवसँग आग्रह गरे । 
स्वागत कार्यक्रममा संघका आजीवन सदस्य एवं संघीय समाजवादी फोरमकै नेता एवं सांसद डा. सुरेन्द्र कुमार यादवलाई सम्मान गरिएको थियो । सम्मान पश्चात डा. यादवले चिकित्सकका विषयमा सम्बोधन गराउन आफुले पूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा स्वास्थ्य सचिव डा. पुष्पा चौधरी, नेपाल चिकित्सक संघका भूतपूर्व अध्यक्ष डा. भोजराज जोशी, संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य एवं चिकित्सक डा. केके राई लगायतले बोलेका थिए । सो अवसरमा संघले प्रकाशन गरेको चौमासिक एनएमए बुलेटिनको विमोचन पनि गरिएको थियो । 

Last modified on 2018-06-13 11:27:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts